Wednesday, September 19, 2012

५४ लाख लगानीमै केबलकार

by Guna Raj Dhakal on Sunday, September 16, 2012 at 5:39pm ·
नेपालीले बनाएका केबलकारको लागत विदेशीभन्दा सस्तो
५४ लाख लगानीमै केबलकार
 भदौ २७, काठमाडौं/तनहुँ । नेपालीले बनाएका केबलकार (डब्बा र रज्जुमार्ग) विदेशीभन्दा सस्तो र भरपर्दा हुन थालेको छ । केबलकार निर्माणका लागि नेपाली आफै अग्रसर भएर जुटेपछि अर्बौंको लागत लाग्दैन भत्रे पुष्टि भएको ग्रेट नेपाल नामक संस्थाले बताएको छ । तनहुँको कोत्रेमा सो संस्थाले सन् २००६ देखि नै यस्तो केबलकार सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष गुणराज ढकालले अभियानलाई जानकारी दिए । नेपालकै पहिलो यान्त्रिक पुल भनेर चिनिएको यस्तो प्रविधिलाई ‘मोनोकेबलकार’ भनिन्छ ।

कोत्रेको सफलताबाट नै यस्ता केबलकार निर्माणलाई देशैभर विस्तार गर्न लागिएको उनले जानकारी दिए । यस्तो केबलकारका लागि आवश्यक गेयरबक्स र मोटर विदेशबाट ल्याउने र बाँकी सबै काम नेपालीले नै गर्दा निर्माण लागत सस्तो परेको उनको दाबी छ । ग्रेटले पहिलोपटक बनाएको सो केबलकारको लागत जम्मा रू. ५४ लाख रहेको पनि उनले जानकारी दिए । ६ वर्षअघि नै निर्माण भएको सो केबलकारको इलेक्ट्रो मेकानिकमा रू. ३२ लाख र भौतिक पूर्वाधारमा रू. २२ लाख खर्च भएको सो कम्पनीको भनाइ छ । यसको लम्बाइ ५ सय मिटर रहेको छ । त्यहाँ सञ्चालन भइरहेको केबलकारमध्ये एउटाबाट जाने र एउटाबाट आउने गरिएको छ । ती केबलकारको क्षमता भने ६/६ जनाको रहेको बताइएको छ । केबलकारले ५ मिनेटमा निर्धारित दूरी पार गर्ने ढकालले बताए । उनका अनुसार संस्थाको अगुवाइमा पर्वत, सिन्धुली र तनहुँकै देवघाटमा पनि यस्तो केबलकार सञ्चालन गर्न लागिएको छ ।

सिन्धुलीको धनसरी–बेलसोतमा ग्रीन टेक नेपालले र पर्वतको कुश्मादेखि बलेवा विमानस्थलको खण्डमा रोपवे केबलकारले लगानी गरेको छ । यस्तै तनहुँको देवघाटमा स्थानीय बासिन्दा, उद्योग वाणिज्य सङ्घ तथा गैरआवासीय नेपालीको संयुक्त लगानी रहनेछ । पर्वतमा निर्माणको अन्तिम चरणमा रहेको केबलकार दशैंअगाडि नै सञ्चालनमा आउने बताइएको छ । सो केबलकार सञ्चालन हुने मार्गको दूरी ५ सय ५० मिटर रहेको छ र त्यसका लागि रू. ४ करोड लगानी भएको छ । यस्तै सिन्धुलीमा आगामी १ महीनाभित्रमा केबलकार सञ्चालन गर्ने गरी तयारी भएको छ । सो केबलकारले तय गर्ने दूरी ६ सय ४५ मिटर रहेको छ र यसका लागि रू. १ करोड लगानी भएको छ ।

यस्तै देवघाटको ३ सय मिटर दूरीका लागि रू. ३ करोड लगानी लाग्ने ढकालले बताए । सो केबलकार भने प्रारम्भिक डिजाइनिङको चरणमा नै रहेको छ । यस स्थानमा पनि निर्माण शुरू भएको ६ महीनाभित्रमा सञ्चालन गर्न सकिने ढकालको भनाइ छ । विदेशीमा पूर्ण निर्भर हुँदा केबलकार निर्माण लागत उच्च देखिएको उनको दाबी छ । सञ्चालनमा रहेको मनकामना केबलकार ‘सर्कुलर रिम’ हो । अध्यक्ष ढकालका अनुसार कम्पनीले निर्माण गरेको केबलकार पनि सोही प्रकृतिको हो ।

महँगो हुँदैमा राम्रो हुन्छ भत्रे धारणालाई परिवर्तन गर्दै नेपालीले नै काम गरेर पनि सस्तो लागतमा नै केबलकार सञ्चालन हुने उदाहरण दिन सफल भएको उनको भनाइ छ । ग्रेटले केबलकार निर्माणका लागि सहयोगी भूमिका मात्र निर्वाह गर्ने गरेको पनि उनको भनाइ छ । ढकालका अनुसार यस्तो केबलकार निर्माणका लागि रेसुङ्गा, बुटवलसहितका २० स्थान चयन भइसकेको छ ।

तनहुँको देवघाटमा निर्माण गर्न लागिएको केबलकारमा स्वीस कन्सल्ट्याण्टबाट प्राविधिक सहकार्य हुने भएको छ । केबलकारले चितवनको भरतपुर नगरपालिका र तनहुँको देवघाट जोड्नेछ । देवघाटमा केबलकारको निर्माणपछि सुविधायुक्त होटल, आरामगृह, योग केन्द्रलगायतका पूर्वाधार निर्माण गरी आकर्षक धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने योजना छ । तनहुँकै अर्का गन्तव्य मानुङमा पनि केबलकार सञ्चालनका लागि प्रारम्भिक काम शुरू गरिएको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष देवकुमार श्रेष्ठले बताए ।

पर्यटन मन्त्रालयले सम्भाव्यता अध्ययन गरी सबै ठाउँमा केबलकार निर्माणको जिम्मा निजीक्षेत्रलाई नै दिने मन्त्रायलका पूर्वाधार विकास आयोजना प्रमुख प्रकाश रघुवंशीले बताए । उनका अनुसार मन्त्रालयले निजीक्षेत्रकै सहजताका लागि सम्भाव्यता अध्ययन गरिदिने भएकाले अध्ययन भएकै स्थानमा केबलकार बनाउनका लागि आवश्यक सहयोग पनि गर्ने छ ।

नेपालीले बनाएका केबलकारको लागत विदेशीभन्दा सस्तो