Monday, November 2, 2015

कार्तिक २६ देखि २९ गतेसम्म पोखरामा ‘स्काई डाइभ’

Sky-Dive-Pokhara-6
सुन्दर प्राकृतिक दृश्यावलोकन गर्दै ‘स्काई डाइभ’को मज्जा लिन चाहानुहुन्छ ? यदि चाहानुहुन्छ भने स्काई डाइभको बुकिङ खुलेको छ, छिट्टै आफ्नो सिट सुरक्षित गर्नुहोस् ।
एक्स्पोलोर हिमालयले कार्तिक २६ देखि २९ गतेसम्म पोखरामा ‘स्काई डाइभ’ गराउने भएको छ । स्काई डाइभका लागि बुकिङ खुल्ला गरिसकेको कम्पनीका प्रबन्ध निर्देशक सुमन पाण्डेले जानकारी दिए । स्काई डाइभ गर्नका लागि एकजनाले ७५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो शुल्कमा फोटो र भिडियो उपलब्ध हुनेछ । हेलिकप्टबाट उडाउनुपर्ने हुँदा स्काई डाइभ महंगो पर्न गएको पाण्डेको भनाई छ ।
Sky-Dive-Pokhara-4
‘हामीले यस वर्ष २० जनालाई स्काई डाइभ गराउने सोँचाइमा छौं’ पाण्डेले भने- ‘अहिलेसम्म १५ जनाले बुकिङ गरिसकेका छन् ।’ उनका अनुसार अहिलेसम्म बुकिङ लिनेमा ५ जना नेपाली रहेका छन भने १० जना इन्डियन र इन्डियामा बस्ने विदेशी रहेका छन् ।
स्काई डाइभ विश्वका साहसिक मनोरञ्जनात्मक खेलहरुको सूचीमा पहिलो नम्बरमा पर्छ । एक्स्पोलोर हिमालयले सन् २०१० देखि पोखरामा वर्षको एक पटक स्काई डाइभ गराउँदै आएको छ । कम्पनीले सगरमाथामा पनि स्काई डाइभ गराउने गर्छ ।
Sky-Dive-Pokhara-5
फिस्टेल हेलिकप्टरमा १२ हजार फिट माथि लगेर स्काई डाइभ गराइने छ । स्काई डाइभमा चार मिनेटको हेलिकप्टर यात्रा हुनेछ भने ३५ देखि ४० मिनेट आकाशमा फ्रि फल हुनेछ । यो बेलामा जिन्दगीकै नौलो अनुभव हुने पाण्डेले बताए ।
पोखरामा गरिने स्काई डाइभ व्यक्तिगत नभएर त्यान्डम डाइभ हो । त्यान्डम मास्टरसँग टाँसिएर आकाशमा उड्नुपर्छ । स्काई डाइभ गरेपछि पोखराको पामेदेखि पश्चिममा पर्ने लौरुकमा झरिन्छ । स्काई डाइभ गराउन विदेशबाट प्राविधिकहरु आउनेछन् । स्काई डाइभमा युवाहरुको आकर्षण बढी देखिएको पाण्डेको भनाई छ ।
Sky-Dive-Pokhara-2
अन्य साहसिक खेलको तुलनामा स्काई डाइभ मंहगो पर्ने हुँदा सबैको पहुँच पुग्दैन् । ‘हामीले हेलिकप्टरमा राखेर उडाउनुपर्ने हुँदा महंगो पर्न गएको हो’ पाण्डेले भने- ‘विदेशमा सिंगल इञ्जिन जहाजबाट उडाउँछन्, त्यसो हुँदा त्यहाँ ४० हजारमै स्काई डाइभ गर्न पाइन्छ ।’
हेलिकप्टरबाट उडाउनुपर्ने हुँदा सिमित संख्यामा मात्र स्काई डाइभ गराउनुपरेको पाण्डेले बताए । विस्तारै नेपालमा पनि सिंगल इञ्जिन जहाजबाट स्काई डाइभ गराउने योजनामा रहेको उनको भनाई छ । यसो भएमा लागत केही कम पर्नेछ ।
विदेशमा स्काई डाइभ सस्तो भएपनि नेपालमा जस्तो मनोरञ्जन लिन नसकिने पाण्डे बताउँछन् । नेपालमा स्काई डाइभ गर्दा गगनचुम्बी सेता हिमाल, सुन्दर हरियाली डाँडा, पोखरा शहर, ताल लगायतका दृश्यावलोकन गर्न पाइन्छ ।
युवाहरुको आकर्षण बढेको हुँदा स्काई डाइभ वर्षभरी नै गराउने उद्देश्य एक्स्पोलोर हिमालयको छ । यसो गर्न सकेमा साहसिक खेलमा रुची राख्ने विश्वका धनाढ्य पर्यटकहरु भित्राउन सकिन्छ । पोखरामात्र नभएर हिमालका काठमा समेत स्काई डाइभ गर्न सकिने हुँदा यसको भविष्य निकै उज्जल रहेको छ ।