Monday, July 14, 2014

SUNAKALI Intro

जर्मनी चौथोपटक विश्वकप विजेता

उपाधिका साथ जर्मनी खेलाडी। तस्बिरहरु : एपीउपाधिका साथ जर्मनी खेलाडी। तस्बिरहरु : एपी
अर्जेन्टिनालाई हराउँदै जर्मनी चौथोपटक विश्वकप विजेता बनेको छ। रियो दी जेनेरियोमा सोमबार बिहान भएको फाइनल खेलमा अर्जेन्टिनालाई १-० गोलले पराजित गर्दै जर्मनीले उपाधि जितेको हो। जर्मनीका लागि गोएत्जेले अतिरिक्त समयको २३औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। अन्तिम समयसम्म अर्जेन्टिनाले गोल गर्न नसकेपछि जर्मनीले उपाधि कब्जा गरेको हो।
final-13
यसअघि जर्मनी १९५४, १९७४ र १९९० मा विश्वकपको उपाधि जितेको थियो। पछिल्लो समय १९९० मा जर्मनीले यही प्रतिद्वन्द्वी अर्जेन्टिनालाई १-० गोलले पराजित गर्दै उपाधि जितेको थियो।

गोल्डेन बुट भने कोलम्बियाका जेम्स रोड्रिग्वेजले जितेका छन्। उनले सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट जितेका हुन्।
final-11
......
निर्धारित समयमा कुनै गोल नभएपछि ब्राजिलको माराकानामा भइरहेको जर्मनी र अर्जेन्टिनाबीचको फाइनल खेल अतिरिक्त सयमा धकेलिएको थियो। अर्जेन्टिनाका स्टार मेसीले खेलमा गोल गर्न चुकेका थिए। पाएको केही अवसरलाई उनले गोल गर्न सकेका थिएनन्। तीन पटक ‍विश्‍कप विजेता जर्मनीका खेलाडीले गरेको प्रहारसमेत अर्जेन्टिनी गोलरक्षकले बचाएका थिए। ३० मिनेटको अतिरक्त खेलमा २३ औं मिनेटमा जर्मनीका मारिओ गोजले गोल गरेका थिए।
final-9
final-6......
ब्राजिलको माराकानामा भएको फाइनलमा मध्यान्तरसम्म कुनै पक्षले गोल गर्न सकेनन्। उपाधि जित्ने लक्ष्यका साथ मैदान छिरहेका दुबै टिमका खेलाडीहरु पहिलो हाफमा गोल गर्न चुकेका थिए। दुबै तर्फका खेलाडीलाई गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेका थिएनन्। पहिलो हाफमा दुबै टिम खेल आक्रामक थियो।
final-8
shakira
समापन कार्यक्रममा आफ्नो गीत प्रस्तुत गर्दै कोलम्बियन पपस्टार साकिरा।


final-7
final-4
Brazil Soccer WCup Ge nagr-1
......
जर्मनीले आयोजक ब्राजिललाई ७-१ गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। अर्जेन्टिनान भने नेदरल्यान्ड्सलाई टाइब्रेकरमा पराजित गरी उपाधि जित्ने दौडमा आफ्नो स्थान पक्का गरेको थियो। यसअघि जर्मनीले ३ पटक विश्वकप उपाधि जितिसकेको छ भने अर्जेन्टिनाले दुई पटक उपाधि जितेको छ।
खेलको प्रिभ्यू पढ्नुस्:
मेसीलाई रोक्ने जर्मन लक्ष्य
final-2
final-1
final-3

Saturday, July 12, 2014

ब्राजिलको अर्को लज्जास्पद हार, नेदरल्यान्ड्स तेस्रो

ब्राजिलको अर्को लज्जास्पद हार, नेदरल्यान्ड्स तेस्रो
ब्रासिलिया-विश्वकप फुबटलको सेमिफाइनलमा जर्मनीसँग इतिहासकै सबैभन्दा खराब ७-१ ले हारेको आयोजक ब्राजिल तेस्रो स्थानको लागि आइतबार भएको खेलमा पनि पराजित भएको छ । उसलाई ३-० ले हराएर नेदरल्यान्ड्स तेस्रो हुदै विश्वकपको यात्रा टुग्यायो ।
ब्राजिलले पछिल्ला दुई खेलमा १० गोल बेहोर्‍यो । घरेलु मैदानमा सन् १९४० यता पहिलोपल्ट लगातार दुई खेल हारेको हो । उसले सेमिफाइनलमा जर्मनीसँग बेहोरेको हार घरेलु मैदानमा ३९ बर्षपछिको असफलता थियो ।
एक खेलको  प्रतिबन्धपछि मैदानमा फर्केका कप्तान थियागो सिल्भाले आर्जेन रोबेनलाई पेनाल्टी क्षेत्रनजिक तानेर लडाएपछि रेफ्रि अल्जेरियन रेफ्रि डिजामेल हाइमोउडीले नेदरल्यान्ड्सलाई पेनाल्टी प्रहार गर्ने अवसर दिएको थियो । त्यसमा लसकिट प्रहार गर्दै कप्तान रोबिन भान पर्सीले तेस्रो मिनेटमै नेदरल्यान्ड्सलाई १-० को अग्रता दिलाए । उनले गरेको गोल ब्राजिलले विश्वकपमा बेहोरेको १ सयौं गोल हो ।
नेदरल्यान्ड्सका सर्बाधिक गोलकर्ता भान पर्सीले अन्तर्राष्ट्रिय फुटबलमा ४७ औं गोल गरेका हुन् । यो विश्वकपमा उनको व्यक्तिगत चौथो गोल हो यो । रोबेनलाई गरेको फलमा सिल्भा रातो कार्डको हकदार थिए । तर, उनलाई रेफ्रिले पहेलो कार्ड मात्र दिए ।
सेमिफाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा हारेको डच टिमले आयोजक ब्राजिलले अग्रता दोब्बर पार्न धेरै बेर कुर्नुपरेन । डाली ब्लिन्डले १५ यार्डबाट बललाई पोष्टको दिशा दिएपछि नेदरल्यान्ड्स २-० ले अगाडि बढ्यो । उनको ब्राजिलियन डिफेन्डर डेविड लुईजको गम्भीर गल्तीमा पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।
ब्लिन्डले गरेको गोल पाँचपल्टको च्याम्पियन ब्राजिलले यो विश्वकपमा बेहोरेको १३ औं गोल हो । सबै विश्वकप (२० संस्करण) मा सहभागी एकमात्र देश ब्राजिलले एकै संस्करणमा बेहोरेको यो नै सबैभन्दा धेरै गोल हो ।
डच टिमको तेस्रो गोल सब्स्टिच्युट जर्जिनियो विज्नाल्डमको नाममा रह्यो । उनले डारेल जानमाटको क्रसमा इन्ज्युरी टाइममा गोल गरेपछि नेदरल्यान्याल्ड्स ३-० ले विजयी भयो ।
जर्मनीसँग सेमिफाइनलमा ७-१ को स्तब्धपूर्ण हार बेहोरेको ब्राजिली टिममा प्रशिक्षक लुईस फेलिप स्कोलरीले ६ खेलाडी परिवर्तन गर्दै नेदरल्यान्ड्सविरुद्ध तेस्रो स्थानको प्रतिस्पर्धामा उतारेका थिए ।
डच टिमसँगको अन्तिम खेलमा प्राप्त फराकिलो जितमा प्रशिक्ष्ाक लुईस भान गाल खुशी देखिएका छन् । अब उनले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड सम्हाल्नेछन् ।

रोमाञ्चक र प्रेरणादायी फाइनलको आशा

रोमाञ्चक र प्रेरणादायी फाइनलको आशा
जेरे लङम्यान, साओ पाउलो-जर्मनीले पछिल्ला खेलमा गरेको प्रदर्शनलाई लिएर उसलाई विश्वकपको दाबेदारका रूपमा हेरिएको छ । बलियो मिडफिल्ड, उत्कृष्ट फिनिसिङ र टिम गेमले उसलाई बलियो बनाएको छ ।
विश्वकपको सुरुआतमा नेदरल्यान्ड्सलाई विश्वकपको दाबेदारका रूपमा हेरिएको थियो । उसले समूह चरणमा गोल गरेको थियो । तर उसले अन्तिम १६ यता पहिलेको जस्तो खेल पस्कन छाड्यो । सेमिफाइनलमा अर्जेन्टिनासँग टाइब्रेकरमा हारेको डच टिमले गोल गर्न नसक्नु तथ्यांक हेर्दा सन् १९६६ विश्वकपयताकै खराब हो ।
लियोनल मेसीले चार गोल गर्दै समूह चरणमा अर्जेन्टिनालाई अन्त्यमा जित दिलाएका थिए । तर उनले नकआउट चरणमा भने गोल गर्न सकेका छैनन् । उनले बुधबार सेमिफाइनलमा पनि गोल गरेनन् । नेदरल्यान्ड्सविरुद्ध त एक सय २० मिनेट नै गोलरहित बराबरीमा सकियो । त्यो खेलमा उनले खेलको पूरै
अवधि पेनाल्टी किकबाहेक पेनाल्टी एरियामा त बल पनि छुन पाएनन् ।
'हामीले मेसीलाई मात्र हेरेनौं,' नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले भने । यो विश्वकपको गोल औसत २ दशमलव ६९ छ । सन् १९८२ को विश्वकपपछि सबैभन्दा बढी गोल भएको हो । तर जर्मनीले सेमिफाइनलमा ब्राजिललाई ७-१ ले हराउनुबाहेक अन्य नकआउट चरणका खेलमा गोल देख्न गाह्रो परेको छ । प्रतियोगिताको सुरुआतमा भने गोलको वषर्ा भएको थियो, नेदरल्यान्ड्सले स्पेनलाई ५-१ र जर्मनीले पोर्चुगललाई ४-० ले हराउँदै । 'जर्मनी र ब्राजिलबीचको खेललाई छाड्ने हो भने क्वाटरफाइनल र सेमिफाइनल खेलमा मात्र ५ गोल भएका छन् । प्रतियोगिता निराशाजनक बनेको छ,' अमेरिकी सकर बेवसाइटका लेखक पल केनेडीले भने ।
त्यसो भए, हामी आइतबार रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा कस्तो किसिमको फाइनलको अपेक्षा गर्न सक्छांै ? इतिहासलाई हेर्ने हो भने त्यहाँ केही फरक र अनौठो हुन सक्छ । जसलाई धेरैले सोचेका छैनन् । ठूला स्टार दबाबबाट घट्न सक्छन् ।
सन् १९९४ को विश्वकपमा इटालीलाई स्टार खेलाडी रोबर्टो बाजियोले फाइनलसम्म पुर्‍याए । तर उनले फाइनलमा भने पेनाल्टीलाई सदुपयोग गर्न सकेनन् । र, टिम विश्वकपको उपाधि चुम्नबाट चुक्यो । उनले अन्त्यमा अपराधी जस्तै गरी आफ्नो टाउको लुकाउनु पर्‍यो । सन् १९९८ को फाइनलमा रोनाल्डोको हालत पनि त्यस्तै रह्यो । सन् २००६ को विश्वकपमा प|mान्सका स्टार जिनेदिन जिदान विपक्षी खेलाडीलाई छातीमा प्रहार गरेपछि रातो कार्ड खाँदै बाहिरिए ।
आसा गरौं, आइतबारका हिरो शान्त खेलाडी हुनेछन्, जसले ठूलो खुसियाली ल्याउनेछन् । सन् २०१० को विश्वकपको फाइनलमा आन्दे्रस इनिस्टाले अतिरिक्त समयमा गोल गर्दै स्पेनलाई च्याम्पियन बनाए । यस पटकको विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनाका लागि गोलकिपर सर्जियो रोमेरोले त्यस्तै भूमिका निर्वाह गरे । उनी प|mेन्स लिगमा मोनाकोबाट खेल्दा र्फममा थिएनन् । तर उनले नेदरल्यान्ड्सका दुई खेलाडीको पेनाल्टी बचाउ गरे र एक पटक पन्जामा किस खाए र अर्को पटक छाती पिट्दै खुसियाली मनाए ।
आशा गरौं, आइतबारको फाइनल अन्तिम पटक अर्जेन्टिना र जर्मनीले खेलेको विश्वकप फाइनलभन्दा राम्रो हुनेछ । यी दुई टिमले रोममा सन् १९९० को फाइनल खेलेका थिए । त्यो खेल विश्वकपको फाइनलका रूपमा भन्दा पनि ठूलो नाटक र तनावपूर्ण रूपमा थियो । पश्चिम जर्मनीले फाइनलमा १-० को जित दर्ता गर्‍यो । त्यो पनि ८४ औं मिनेटमा पाएको पेनाल्टीको
सहयोगमा । त्यसबेला भएको ट्याकल फल थियो कि थिएन विवादकै कुरा छ । अर्जेन्टिनाका चार खेलाडी प्रतिबन्धमा थिए र दुई खेलाडी चोटका कारण पहिलो हाफमा गुमाएको थियो । र, पछि उसका दुई खेलाडीले रातो कार्ड पनि पाए । अर्जेन्टिना खेललाई टाइब्रेकरमा लान चाहन्थ्यो ।
'हामीले राम्रो खेल खेल्यौं,' जर्मनीका प्रशिक्षक प|mान्ज बेकेनबाउरले भनेका थिए,'खराब कुरा के हो भने अर्जेन्टिनाले खेल खेल्न चाहेन । खेललाई ध्वस्त पार्न चाह्यो । उनीहरूले खेल खेलेनन् ।' हारपछि डिएगो म्याराडोना रोए । उनले प्रतियोगितामा एक गोल पनि गर्न सकेनन् । चार वर्ष पछिको विश्वकपमा उनी लागूऔषध सेवनका कारण प्रतिबन्धमा परे । 'म जनताका लागि रोएँ, मेरी छोरीका लागि रोएँ र मेरा लागि रोएँ,' म्याराडोनाले भनेका थिए ।
होइन, आइतबारको फाइनलमा राम्रो प्रदर्शन होस् । जसले म्याराडोनाले अर्जेन्टिनालाई मेक्सिकन सिटीमा सन् १९८६ मा विश्वकप जिताउँदा जस्तो । उनले क्वाटरफाइनलमा इंग्ल्यान्डविरुद्ध गरेका दुई गोल अहिलेसम्म पनि विश्वकपकै सबैभन्दा रोचक गोलका रूपमा हेरिन्छ । उनले पहिलो गोल हातले गरेका थिए, पछि उनले त्यसलाई आफ्नो हात नभई 'ह्यान्ड अफ गड' को उपनाम दिए । त्यसपछिको गोल उत्कृष्ट थियो । त्यसमा उनको कला थियो । सेन्टरबाट एक्लै बल लगेर ६ खेलाडीलाई छक्याउँदै उनले विश्वकपकै उत्कृष्ट गोल गरेका थिए । त्यो विश्वकपमा अर्जेन्टिनाले पश्चिम जर्मनीलाई फाइनलमा ३-२ ले हराएर उपाधि जितेको थियो । ३० वर्षपछि फेरि एक पटक विश्वकपको फाइनलमा जर्मनी र अर्जेन्टिना भिड्दै छन् । जर्मनीमा उत्कृष्ट खेलाडी छन् । अर्जेन्टिनालाई रोक्न नेदरल्यान्ड्सले गरे जस्तै मेसीलाई मार्क गर्नुपर्ने हुन्छ ।
'हामी आफ्नै केही नयाँ सरप्राइजसाथ आउनुपर्छ,' जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोजले भने,'मैले रोमाञ्चक खेलको आशा गरेको छु । जहाँ रणनीति र बठ्याइँका बारेमा चर्चा हुन्छ ।' हामी पनि प्रेरणादायी खेलको आशा गरौं ।  
-न्युयोर्क टाइम्स

Sunday, June 22, 2014

किन भयो डोल्पामा भिडन्त ?

सदरमुकाम दुनैबाट हिँडेर तीन दिनमा पुगिने ४ हजार ४० मिटर उचाइको सुन्दर धो उपत्यकामा स्तरीय होटल छ, ४४ वर्षे झ्याम्पा लामाको । धो गाविसकै चल्तापुर्ता उनी संविधानसभा चुनावमा राष्ट्रिय जनमुक्ति पार्टीबाट समानुपातिक उम्मेदवारसमेत थिए । गाउँभरि नै उनको रवाफ छ । त्यसैले धो गाविसका पाटनहरूमा यार्चा संकलन गर्न आउनेबाट शुल्क उठाउने अवसर पनि उनैले पाए ।

शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ४ हजार मिटरभन्दा बढी उचाइका पाटनहरू यार्चा संकलक र व्यापारीको रोजाइमा पर्दो रहेछ । कारण- धो गाविसअन्तर्गतको कलाङ र सिसोल क्षेत्रमा पाइने यार्चा ठूलो आकारको हुनुका साथै 'उत्कृष्ट' पनि मानिँदो रहेछ ।
गत वैशाख २५ गते मन्त्रिपरिषद्ले हिमाली राष्ट्रिय निकुञ्ज नियमावली (२०३६) पहिलो पटक संशोधन गरी शे-फोक्सुन्डोसहितका निकुञ्जमा यार्चा संकलनको शुल्क निर्धारण गर्‍यो, मध्यवर्ती क्षेत्रकासँग ५ सय, निकुञ्ज रहेका जिल्लावासीसँग २ हजार र बाहिरी जिल्लाका बासिन्दासँग ३ हजार रुपैयाँ ।
धोसहित डोल्पाका सयौं पाटनमा यार्चा टिप्न २८ भन्दा बढी जिल्लाबाट हजारौं सर्वसाधारण आएका छन् । निकुञ्जको भित्री भागमा पनि यसपटकदेखि संकलन गर्न नियमावली संशोधन भएपछि बाटो खुलेको छ ।
भित्री भागका हकमा निकुञ्ज आफैंले शुल्क उठायो, उक्त शुल्क सीधै राजस्वमा जम्मा हुने भएकाले त्यसमा विवाद भएन । तर मध्यवर्ती क्षेत्रका पाटनहरूमा शे-फोक्सुन्डो निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले विभिन्न व्यक्ति र समूहलाई जिम्मा लगायो । धो गाउँका झ्याम्पा पनि जिम्मेवारी पाउनेमध्ये एक थिए ।
जेठ पहिलो साता उनले दुनैनजिकैको सुलिगाडस्थित समितिको कार्यालय पुगेर अध्यक्ष रामप्रसाद महतबाट धो गाविसअन्तर्गतका पाटनहरूमा यार्चा संकलकबाट शुल्क उठाउन रसिदहरू ल्याएका थिए, जुन नियमविपरीत थियो ।
नियमअनुसार उठाइएको रकमको आधाभन्दा बढी समितिलाई बुझाउनुपर्ने हुन्छ । तर, यस पटक उठाएको शुल्क आफ्नो होटलमा बसेका समितिका ११ सदस्यीय अनुगमन टोलीको खानपिन र बसाइमै ठिक्क भएकाले बुझाउनु नपर्ने दाबी झ्याम्पाको छ । समितिका अध्यक्ष महतका अनुसार शुल्कमा रजाइ गर्ने समितिको टोलीमाथि छानबिन गरी कारबाही हुनेछ ।
नियमतः समितिले धो गाविसअन्तर्गतको न्यासम्बा मध्यवर्ती उपभोक्ता समितिलाई नै शुल्क उठाउने जिम्मा दिनुपथ्र्यो । धो गाविस मध्यवर्ती क्षेत्रमै पर्ने भएकाले त्यो समिति मात्रै आधिकारिक निकाय हो, व्यक्तिलाई दिनु सरासर गलत थियो ।
तर, अध्यक्ष महतले गाउँवासीको परामर्शबिनै प्रभावशाली झ्याम्पालाई जिम्मा दिएपछि माहोल बिथोलियो । धेरै युवा र स्थानीयवासी झ्याम्पाले शुल्क उठाउने जिम्मा पाएकामा असन्तुष्ट थिए । अध्यक्ष महतले 'झ्याम्पा यस क्षेत्रको चल्तापुर्ता र पैसावाल भएकाले हिनामिना नगर्ने विश्वास लागेर जिम्मा दिएको' बताए । 'समितिसँग सल्लाह नगरी जिम्मेवारी दिनु भने मेरो गल्ती हो,' उनले भने ।
झ्याम्पाले हरेक संकलकसँग तीन हजारका दरले शुल्क उठाए । अहिले पनि धो गाविसका विभिन्न पाटनमा उनी घोडा लिएर चहारिरहेछन् । गाविसको चरन क्षेत्र कलाङ र लुलाङमा पनि उनले भटाभट रसिद काट्दै बाहिरिया हुल्न थालेपछि युवा र गाउँलेको 'रिसको पारो' चढ्यो । त्यसैले उनीविरुद्ध युवा र स्थानीय होमिए । स्थानीय धो तराप समाज सेवाका नामबाट युवा समूहले पनि धो गाविसको सिसोल खोलामा बसेर प्रत्येक संकलकबाट दुई हजार रुपैयाँका दरले अलग्गै रसिद काट्न थाल्यो । जेठ १९ मा एकैदिन ७ लाख ५६ हजार रुपैयाँ युवाले संकलन गरे । मारमा भने यार्चा संकलक नै परे ।
अनुमति पुर्जी लिन समिति र युवा समाजलाई गरी ५ हजार रुपैयाँ तिर्न बाध्य भए, संकलनहरू । १५ जेठमा यार्चा संकलनलाई फुकुवा गर्ने भनेर रसिद दिए पनि दुई पक्षको विवादले फुकुवा हुन सकेन । संकलनको म्याद धकेलिँदै गएपछि २८ जिल्लाबाट आएका संकलकहरू आन्दोलनमा उत्रिए ।
युवा समाजले शुल्क लिएको भन्दै समितिले दुनैबाट प्रहरी र समितिका पदाधिकारीलगायत ११ सदस्यीय अनुगमन टोली धोतिर खटायो । टोलीले धो गाविसकै सिसोल खोलाबाट धो तराप समाज सेवाका नाममा १३ जना युवाको समूहले संकलन गरेको ७ लाख ५६ हजार रुपैयाँ र रसिद कब्जामा लियो । बेलुकी धो पुगेर झ्याम्पाकै होटलमा बास बस्यो ।
मध्यवर्ती क्षेत्रमा अरू कुनै पनि क्लब वा समूहले रकम असुल्नु अवैध भएको तर्क गर्दै अनुगमन टोलीले रकम कब्जामा लिएको थियो । तर, युवा समाज र स्थानीयले जेसुकै भए पनि रकम फिर्ता गर्नैपर्ने सर्त राखे ।
पहिलो त, आफूहरूको एक मात्र हिउँदे चरन क्षेत्र कलाङ र लुलाङ लेकमा हजारौंलाई यार्चा संकलनको अनुमति दिएकामा उनीहरू रुष्ट थिए । धो र ताक्सीका सयौं चौंरी, याक र च्याङग्राको एकमात्रै चरन क्षेत्र र दाउराको स्रोत कलाङ र लुलाङको लेक भएको भन्दै उनीहरूले त्यहाँ यार्चा संकलनमा प्रतिबन्ध लगाउनुपर्ने माग राखेका छन् । संकलक भित्रिँदा विनाश र फोहोर हुने तर्क स्थानीयको हो । तर निकुञ्जले उक्त लेकलाई पनि मध्यवर्तीमै समेटेपछि समितिले शुल्क उठाउनु जायज थियो ।
त्यसमाथि वन्यजन्तु संरक्षण, खाद्य सुरक्षा कार्यक्रम, गुम्बा र संस्कृति संरक्षणका साथै आईएलओ १६९ ले दिएको अधिकार प्रयोग गर्दै विगतदेखि नै उठाउँदै आएको रकमसमेत टोलीले जफत गरिदिएपछि स्थानीयवासी आक्रोशित बने ।
त्यसमाथि आफूहरूले संकलन गरेको रकम कब्जा गर्ने अनुगमन टोलीलाई झ्याम्पाले संरक्षण दिएपछि उनीहरूले रिस थाम्नै सकेनन् । उनीहरूले जेठ २० गते गाउँभेला गरे । युवा, स्थानीय र समितिबाट खटिएको टोली भेलामा सहभागी भयो । त्यहाँ पनि युवा र स्थानीयले रकम फिर्ता गर्नर्ैपर्ने र कलाङ तथा लुलाङ लेकमा यार्चा संकलन निषेध गरिनुपर्ने माग राखे ।
यो वर्षदेखि डोल्पामा सशस्त्र प्रहरीसमेत खटाइएको थियो । इन्स्पेक्टर जीवनकुमार मल्लको नेतृत्वमा एउटा टोली १८ जेठमा नै धोमा खटिएको थियो । त्यसअघिदेखि नै नेपाल प्रहरीको अस्थायी टोली पनि त्यहीं थियो । दुवै सुरक्षाकर्मीको टोली भेलामा सहभागी भए ।
अनुगमन टोलीले रकम फिर्ता नगर्ने र युवाले गर्नैपर्ने अडान लिएपछि भेला निष्कर्षविहीन भयो । कुरा नमिलेपछि टोली झ्याम्पाकै होटलतिर फर्कियो । स्थानीयवासी भने रकम नछाड्ने बरु खोसेरै भए पनि लिने निर्णयमा पुगे ।
२० गते ४ बजेतिर स्थानीयवासीको समूहले झ्याम्पाको घरअघिल्तिर गएर रकम फिर्ता गर्न दबाब दियो । विवाद लम्बियो, तर अनुगमन टोली रकम फिर्ता गर्न तयार भएन । टोली र स्थानीयवासीबीच हात हालाहाल भयो । दुवै पक्ष ढुंगा हानाहानको स्थितिमा पुग्यो । ढुंगा लागेर टोलीमा खटिएका समितिका स्वयंसेवक मानव हमाल र झ्याम्पाको टाउकोमा चोट लाग्यो । स्थिति अनियन्त्रित भयो । उता १५ गतेदेखि यार्चा खुल्ने भनेर रसिद लिएका संकलनकर्ताहरू पनि लेक खुल्ला गर्न दबाब दिन धोमै उत्रिए ।  
अनुगमनमा खटिएका असई खड्गजंग शाही नेतृत्वको र धोमा पहिल्यैदेखि खटिएको प्रहरी टोलीले भीड नियन्त्रण गर्ने प्रयास गर्‍यो तर सकेन । प्रत्यक्षदर्शीका अनुसार सशस्त्रको टोलीले स्थानीयवासीमाथि अन्धाधुन्ध लाठी प्रहार गर्न थाल्यो । कैयौं घाइते भए । सशस्त्रले हवाई फायर गर्न थालेेपछि बौद्धमार्गीको शान्त क्षेत्र धोमा एकाएक कोलाहल मच्चियो । कहिल्यै 'पटकाको आवाजसमेत नसुनेका' बौद्धमार्गी लगातारको हवाई फायरबाट त्रसित मात्रै भएनन्, गाउँभरि भागदौड मच्चियो । सक्ने र बल भएकाहरू गाउँबाट घन्टौं टाढाको अग्ला ढुंगे पहाड छिचोल्दै लेक (पाटन) तिर उक्लिए ।
प्रत्यक्षदर्शी ताक्सीस्थित क्रिस्टल माउन्टेन निमाविका प्रधानाध्यापक केदारविनोद पाण्डेले प्रहरीले ज्यादती गरेको बताए । 'आफ्नो अधिकार माग्नेलाई राज्यले उल्टै लाठी भाँचिने गरी पिटेर सोत्तर बनायो,' २० वर्षदेखि उक्त स्कुलमा प्रधानाध्यापक रहेका पाण्डेले भने, 'यस्तो कहालीलाग्दो घटना १० वर्षे जनयुद्धमा समेत यस क्षेत्रमा भएको थिएन, यो यहाँको इतिहासकै निर्मम घटना हो ।' घटनामा सहभागी नभएकालाई समेत प्रहरीले लाठीचार्ज गर्दै घाइते बनाएको स्थानीयको भनाइ छ ।
कुट्ने क्रममा प्रहरीका धेरै लाठी भाँचिए । सशस्त्रका इन्स्पेक्टर जीवनकुमार मल्लले कान्तिपुरसँग 'भीड अनियन्त्रित भएकाले केहीलाई पिट्दा लाठी भाँचिएको' स्वीकारे ।
जेठ २० लाई धोवासीले न बिर्सेन सकेका छन् न त त्यो दिन सम्झनै चाहन्छन् । पहिलो पटक प्रहरी ज्यादती देखेका महिलाहरूको आँखाबाट अझै पनि आसु थामिएको छैन । जतिसुकै पीडा भए पनि त्यसविरुद्ध जाइलाग्ने आँट कसैमा आएन, न त छ नै । इगो लिने त झन् कुरै भएन । नेपाली भाषा कम बुझ्ने भएकाले विवादमा उत्रने आँट पनि स्थानीयमा छैन ।
'यो ज्यादती हामी कहिल्यै बिर्सन सक्दैनौं,' स्थानीय तेम्बा गुरुङले भने, 'घटना सम्झेर अहिले पनि आङ सिरिङ हुन्छ, हामीलाई भोटे भन्दै पशुसरह व्यवहार गरियो ।' कतिसम्म भने घटना भएको दुई साता बितिसक्दा पनि धोका युवाले लेकबाट गाउँ फर्किने आँट गरेका छैनन् । उनीहरू अझै जतिबेला पनि प्रहरीबाट ज्यादती हुन सक्ने त्रासमा छन् । एक्लै हिँड्नसमेत डराउँछन् ।
घटनाका दिन साँझ परेपछि समेत सशस्त्रले घरभित्र छिरेर वृद्ध र बिरामीलाई कुटपिट गरेको तेम्बाको गुनासो छ । घरघरमै पसेर कुटपिट मच्चाउन थालेपछि युवा र बलियाजति ज्यान जोगाउन लेकतिर भागेको क्रिस्टल माउन्टेन निमाविका संयोजक ग्याल्पो भोटेले बताए । 'मलाई पनि खोज्दै आएका थिए, स्कुलमै लुकेर बचें,' उनले भने ।
प्रहरीको डरले युवाहरू रातभर ५ हजार मिटर उचाइको चिसो लेकमै लुक्न बाध्य भए । भाग्न नभ्याएका १२ जनालाई सशस्त्रले अपराधी भन्दै घरघरबाटै समातेर नियन्त्रणमा लियो । नियन्त्रणमै लिइएका बेलामा पनि बुट र लाठीले हानेर घाइते बनाएको स्थानीयवासीको आरोप छ ।
तेन्जिङ, राप्के गुरुङ, गिङमा गुरुङ, तोम्बा ग्याल्जेन गुरुङ, कुंगा बुढा, तेन्जिङ लावाङ लामा, नाम्ग्याल तोर्जे, गिङमा छिरिङ, रिन्जिन लामा, तार्के लामा, नाम्ग्याल बुढा र दोर्जे गुरुङलाई नियन्त्रणमा लिएर यातना दिइएको थियो ।
प्रायःको शरीरमा नीलडाम छन् भने कोही अझै राम्रोसँग हिँड्न नसक्ने अवस्थामा छन् । कतिपय त अझै गाउँ नफर्किएको स्थानीयले बताए । भाग्ने क्रममा धो ताक्सीका छिरिङ फुर्वा गुरुङको मृत्यु भयो । स्थानीयका अनुसार उनी झडपमा परेका थिए ।
प्रहरीको कुटाइबाट निधन भएका उनलाई दाउरा काट्न गएका बेला भीरबाट लडेर निधन भएको मुचुल्का बनाएर पोस्टमार्टम नगरी २१ गते संस्कारअनुसार प्रक्रिया नै नपुर्‍याई हतारमा अन्त्येष्टि गरिएको स्थानीयले बताए । यार्चा विवादले धोमा विकराल रूप लिएपछि डोल्पाका सभासद धनबहादुर बुढा २१ जेठमा काठमाडौंबाट हेलिकप्टर लिएर घटनास्थल आए ।
सभासद बुढाकै उपस्थितिमा प्रहरीले नियन्त्रणमा लिएका १२ जनालाई रिहा गर्ने र मृत्यु भएकालाई भीरबाट खसेर निधन भएको मुचुल्का तयार पारियो । छिरिङको मृत्यु प्रहरीको कुटाइबाटै भएको स्थानीयले दाबी गरेमा नियन्त्रणमा भएकालाई मुद्दा अघि बढाइने र गाउँलेहरूकै ढुंगा प्रहारबाट ज्यान गएको पुष्टि गराउने प्रहरीले धम्की दिएको स्थानीयको भनाइ छ । तर थप सम्भावित दुर्घटनाबाट जोगिन उनीहरू मौन रहन बाध्य भए । उनीहरूले सरक्कै प्रहरीको प्रस्ताव स्वीकारे । सभासद बुढाले पनि विवाद मिलाउनेतिरै बढी ध्यान दिएको स्थानीयको भनाइ छ । सभासद घटनास्थल आएपछि स्थानीयले राहत महसुस त गर्ने नै भए, लेकमा लुकेका युवासमेत सुरक्षा महसुस गर्दै गाउँ फर्किए ।
स्थानीयका अनुसार पीडितलाई सभासद क्षेत्र विकास कोषबाट ५ लाख र समाजबाट ५ लाख गरी १० लाख रुपैयाँ राहतस्वरूप उपलब्ध गराउने अनौपचारिक सहमति भएको छ । मृतक छिरिङका दुई बच्चा छन् भने श्रीमती गर्भवती छिन् । श्रीमान् गुमाए पनि उनी गाउँ फर्किन सकेकी छैनन्, लेकतिरै छिन् । ताक्सीस्थित उनको घर सुनसान छ ।
प्रहरीको कुटाइबाट घाइते धो-४ का तुन्डुप लामाको उपचार क्रममा काठमाडौंमा मृत्यु भयो । करिब ५० वर्षका उनी पहिल्यैदेखि बिरामी थिए । सशस्त्रले तिनै बिरामीलाई छातीमा बुटले हान्दै लाठी प्रहार गर्‍यो । बेहोस भएका उनलाई हेलिकप्टरमा उपचारका लागि काठमाडौं पठाइएको थियो । उनको निधनपछि शे नाम्खा दोर्जेलगायतका लामाले अन्त्येष्टि स्वयम्भूमा गरेका थिए ।
प्रधानाध्यापक पाण्डेका अनुसार मध्यरातसम्म सशस्त्र टोलीले घरका ढोका फुटाउँदै ज्यादती जारी राख्यो । धोदेखि एक घन्टा परको ताक्सीसम्मै पुगेर प्रहरीले खानतलासी गर्ने र भेटिएकालाई कुटपिट गरेको स्थानीयको गुनासो छ । 'राज्यको कानुनबारे सचेत गराउनेभन्दा सुरक्षा निकायबाट सोझा गाउँलेको हुर्मत लिने काम भयो,' पाण्डेले भने । स्थानीयले आफूमाथि अन्याय भएको भन्दै दोषीउपर कारबाही माग गरेका छन् ।
दुनैमा रहेका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले भने स्थानीयले प्रहरीका लाठी खोस्न, ढुंगामुढा गर्न र आफैं हतियार प्रदर्शन गर्न थालेपछि सुरक्षाकर्मीबाट सामान्य बल मात्रै प्रयोग भएको दाबी गरे । तर, घटनास्थलमा बुझ्दा स्थानीयबाट सुरक्षाकर्मीमाथि त्यस्तो व्यवहार भएको पाइएन । प्रजिअ खनालले गोली हान्ने आदेश आफूले नदिएको पनि जिकिर गरे ।
यार्चाको स्पष्ट व्यवस्थापन नीति अभावका कारण शुल्क विवादको घटनाले विकराल रूप लिएको बुझाइ खनालको छ । 'निकुञ्ज प्रमुखले सुरुमै ध्यान दिएको भए यस्तो घटना हुन्थेन,' उनले भने, 'पैसा कसले बढी उठाउने भन्ने प्रतिस्पर्धाले यस्तो घटना हुन गएछ, यो दुःखद हो ।'
निकुञ्ज वार्डेन नरेन्द्र अर्यालले भने मध्यवर्ती क्षेत्रमा राज्यले नै निश्चित शुल्क तोकेकाले त्यसविपरीत जोसुकैले शुल्क असुल गर्नु अवैध भएको तर्क गरे । मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति सचेत नभएकाले घटना भएको उनले बताए ।
सभासद बुढासमेतको उपस्थितिमा विवाद मिलाउने प्रयास भएको थियो । अनुगमन समितिले कब्जामा लिएको ७ लाख ५६ हजार रुपैयाँ र रसिद ५ असारभित्र फिर्ता गर्ने र आगामी वर्षदेखि कलाङ र लुलाङ क्षेत्रमा यार्चा संकलनमा प्रतिबन्ध लगाउने सहमति मध्यवर्ती क्षेत्र र स्थानीय बासिन्दाबीच भयो ।
उक्त सहमतिमा समितिबाट खटिएका फिल्ड सुपरभाइजर हेमराज हमाल र स्थानीयहरूले हस्ताक्षर गरे । सहमति गराउन भूमिका खेलेका सभासद बुढा भने उम्किन खोजेको देखिन्छ, सहमतिपत्रमा उनको हस्ताक्षर छैन । सहमति भए पनि स्थानीयवासीले फिर्ता पाएका छैनन् ।
फेरि बल्झियो समस्या
दुनै सुलिगार्डमा समिति अध्यक्ष महतले त्यस्तो सहमति कार्यान्वयन गर्नै नसकिने अडान लिएपछि फेरि समस्या बल्झिको छ । 'नीतिभन्दा बाहिर गएर शुल्क उठाइएकाले उनीहरूलाई कारबाही हुन्छ,' महतले कान्तिपुरसित भने, 'रकम कुनै हालतमा फिर्ता हुँदैन । जसले सहमति गरेको हो, उसैले फिर्ता गर्छ ।'
उल्टै मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले शुल्क उठाउने समाजका युवालाई कारबाही प्रक्रिया अघि बढाएको स्रोतले बताएको छ ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिसँग उपल्लो डोल्पाको धोवासी रुष्ट हुनुमा थुप्रै कारण छन् । निकुञ्ज आम्दानीको ५० प्रतिशत र यार्चा संकलनबाट उठेको रकममध्येबाट उपल्लो डोल्पामा विकास निर्माण र देखिने खालको काम भएको छैन । बर्सेनि निकुञ्जबाट प्राप्त हुने रकम र यार्चा संकलनबाट जम्मा हुने रकम तल्लो क्षत्रमा मात्रै परिचालन हुने गरेको धोवासीको आरोप छ ।
उनीहरू आफ्नो क्षेत्रको लेक (पाटन) मा बाहिरिया आएर विनाश गरेको देख्नै चाहँदैनन् । बरु युवा र स्थानीयले आफैं सक्रिय भई शुल्कबाट उठाइएको रकमबाट खाद्यान्न संकट टार्ने र संस्कृति एवं सम्पदा जोगाउने अभियान चलाएको क्रिस्टल माउन्टेन निमाविका संयोजक ग्याल्पो भोटेको भनाइ छ । यो क्षेत्रको मुख्य पेसा नै पशुपालन भएकाले चरनक्षेत्र आवश्यक देखिन्छ । बालीमा उवा (एक किसिमको बाली) बाहेक केही उत्पादन नहुने भएकाले यहाँ चौंरी, याक र च्याङग्रा पालन अपरिहार्य हुन्छ ।
व्यवस्थापन समिति अध्यक्ष महत विगतमा धोअन्तर्गत उपभोक्ता समितिले यार्चा संकलकबाट उठाएको रकमै हिनामिना गरेकाले त्यहाँ चाहेजति रकम खर्चिन नसकेको दाबी गर्छन् ।
धोअन्तर्गतको न्यासम्बा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष छेवाङ बुढाले विगतमा असुल गरेको रकम फिर्ता नगरेको महतको आरोप छ । यस पटक पनि धोकै ताक्सी क्षेत्रका लेकमा यार्चा संकलन गर्नेसँग अध्यक्ष बुढाले नै शुल्क उठाइरहेका छन् । धोमा दर्जनौं लेक (पाटन) मा यार्चा संकलन हुन्छ । अध्यक्ष बुढाचाहिँ आफूहरूलाई समिति अध्यक्ष महतले वास्तै नगरेको दुःखेसो गर्छन् । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिअन्तर्गत ९ गाविसका १७ वटा उपभोक्ता समिति पर्छन् ।
राजस्व छल्दै तिब्बततर्फ यार्चा
वार्षिक झन्डै तीन हजार किलो बहुमूल्य यार्चागुम्बु राजस्व छल्दै तिब्बती बजारमा निकासी हुने गरेको छ । स्रोतका अनुसार नेपालमा प्रतिकिलो २५ लाखमा बिक्री हुने यार्चा चिनियाँ बजारसम्म पुग्दा ४० लाख रुपैयाँसम्म कारोबार हुन्छ ।
विभिन्न जिल्लाबाट वाषिर्क ५ हजार किलोग्राम संकलन हुने यार्चा गुम्बुमध्ये दुई हजार किलोमात्रै वैधानिक प्रक्रियाबाट बजारमा बिक्री हुने गरेको जानकारहरू बताउँछन् । संकलित यार्चागुम्बुमध्येको उत्कृष्ट जति राजस्व छलेर ब्यापारीले सीधै हिमाली नाकाबाट तिब्बती बजारमा पुर्‍याउने गरेका हुन् ।
सरकारले एक किलो यार्चा गुम्बुको राजस्वदर १० हजार रुपैयाँ तोकेको छ । त्योबाहेक जिल्ला विकास समितिलाई पनि शुल्क तिर्नुपर्छ । राजस्व छली रोक्नकै लागि २० हजारबाट २०६२ असोज १० मा आधा घटाइएको हो । डोल्पाका विभिन्न स्थानमा चार वर्ष यार्चागुम्बुको अध्ययन गरेका बाजुराका डीएफओ राजु क्षेत्रीका अनुसार डोल्पाबाट सबैभन्दा बढी याचर्ागुम्बु अवैध ढंगले हिमाली नाका हुँदै तिब्बती बजारमा निकासी हुन्छ । नाकामा सुरक्षापोस्ट नभएकाले व्यापारीलाई निकासीमा सहज भएको हो । 'डोल्पाबाट वाषिर्क एक हजार किलो मात्रै वैधानिक ढंगबाट नेपाली बजारमा आइपुग्छ,' क्षेत्रीले कान्तिपुरलाई भने, 'त्यही हाराहारीमा अवैधरूपले तिब्बती बजारमा बेचिन्छ ।' तिब्बती बजारमा बढी मूल्य पाइने भएकाले व्यापारीहरू उतैतिर आकषिर्त हुन्छन् ।
डोल्पाका तिन्जे र साल्दांगलगायतका नाकाबाट अवैधानिक ढंगले यार्चागुम्बु तिब्बती बजार पुर्‍याईने गरिएको छ । डोल्पा सबैभन्दा बढी यार्चा पाइने जिल्ला हो । उच्च गुणस्तरीयजति अधिकांश अवैध ढंगले निकासी हुने गरेको क्षेत्रीको चार वर्षे अध्ययनले देखाएको छ । कम गुणस्तरका मात्रै नेपालगन्ज हुँदै काठमाडौं आइपुग्छ ।
चीनलगायतका अन्तर्राष्ट्रिय बजारमा नेपाली यार्चा प्रतिकिलो ४० लाख रुपैयाँसम्म बिक्री हुने गरेको छ । त्रिविका अध्यापक एवं यार्चागुम्बुका जानकार सुरेश घिमिरेका अनुसार चीनमा नेपाली यार्चालाई उत्कृष्ट मानिन्छ । डोल्पापछिको बढी पाइने दार्चुला, मुस्ताङ, मनाङ, हुम्लालगायतका जिल्लाबाट पनि राजस्व छलेर तिब्बती बजारमा यार्चा निकासी हुन्छ । प्रारम्भिक अध्ययनअनुसार २५ जिल्लामा यार्सागुम्बु पाइने भए पनि ९ जिल्लाबाट मात्रै व्यावसायिक उत्पादन हुन्छ । डोल्पा, दार्चुला, जुम्ला, मुगु, सिन्धुपाल्चोक, रुकुम, धादिङ, जाजरकोट र बझाङबाट वाषिर्क ५ हजारको हाराहारीमा संकलन हुने गरेको जानकारहरू बताउँछन् । डोल्पा र दार्चुलाको याचर्ा विश्वबजारमै उत्कृष्ट ठहरिएको छ ।
विश्वमा सबैभन्दा बढी चीनमा वाषिर्क ५०० टन यार्चा खपत हुन्छ । नेपालमा दुई दशकदेखि मात्रै संकलन हुन थालेको यार्चा चिनियाँहरूले दुई शताब्दी पहिलेदेखि नै औषधि विज्ञानमा प्रयोग गरेका थिए । अहिले पनि चिनियाँहरूले यार्चाको प्रयोग गरी परम्परागत औषधि र शक्तिबर्द्धक टनिक उत्पादन गर्छ । जानकारहरूका अनुसार दम, क्षयरोग, लहरे खोकी, किड्नी र फोक्सो उपचार, नपुंसकता, रक्तचाप, थकान मेटाउन र यौनशक्ति बढाउन यार्चा लाभकारी मानिन्छ ।
विश्वबजारमा नेपाली यार्चाको माग बढे पनि वैज्ञानिक ढंगले व्यवस्थापन हुन नसकेका कारण पछिल्ला वर्षमा उत्पादन घटेको घिमिरेले उल्लेख गरे । 'अनियन्त्रित संकलनले बहुमूल्य बुटीको उत्पानमा ह्रास आएको छ,' उनले भने, 'त्यसैले वैज्ञानिक व्यवस्थापनमा जोड दिनु आवश्यक छ ।' यार्चाको चोरी निकासी रोक्न र वैज्ञानिक ढंगले संकलन गरी लाभ उठाउन वन मन्त्रालयले अलग्गै रणनीति तर्जुमा सुरु गरेको छ । 'यार्चाको दिगो व्यवस्थापन कसरी गर्न सकिन्छ र त्यसबाट कसरी लाभ लिन सकिन्छ विस्तृत अध्ययन गरी रणनीति बनाइनेछ,' मन्त्रालयका सचिव गणेशराज जोशीले भने ।
जथाभावी संकलन बढेका कारण यार्चाको दिगो व्यवस्थापनमा समस्या परेको विशेषज्ञहरूले बताएपछि मन्त्रालयले रणनीति बनाएर व्यस्थापन गर्न लागेको हो । चीनले यार्सागुम्बुको उत्पादन क्षेत्रको व्यवस्थापन, संकलन प्रक्रियालाई नियमितीकरण, यार्सागुम्बुको प्रशोधन र यार्सागुम्बुको कृतिम खेती विस्तार क्षेत्रमा उल्लेखनीय काम सफलता हात पारेको छ ।
भुटानले पनि यार्सागुम्बूमा अध्ययन अनुन्धान तथा दिगो व्यवस्थापनमा विशेष ध्यान दिएको देखिन्छ । भारतमा भने संकलनमै प्रतिबन्ध लगाई अनुन्धानमै सीमित राखेको छ । यार्सागुम्बुको दिगो व्यवस्थापन तथा बजारीकरणलाई अन्तर्राष्ट्रियस्तरमा ध्यानाकर्षण गराउने उद्देश्यले २००९ मा भुटान र २०१० मा चीनको जिनिङमा यार्सागुम्बुसम्बन्धी सम्मेलनसमेत भएका थियो ।
संकलनमा सुरक्षा चुनौती बढ्दो
 यार्चा संकलनका क्रममा पाटन क्षेत्रमा लुटपाट र अपराध बढ्दै गएका छन् । सुरक्षा निकायलाई यार्चा संकलनका बेला सुरक्षा प्रदान गर्नु चुनौती बनेको छ ।
यो वर्ष पनि शुक्रबार राति निकुञ्जभित्र पर्ने साल्दांग र फोक्सुन्डो गाविसको सीमास्थल नाउरे क्षेत्रमा लुटेराले यार्चासहित झन्डै चार करोड रुपैयाँ लुटे । गत वर्ष पनि साल्दांगकै क्षेत्रमा ६ करोड लुटिएको थियो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार घटनास्थल विकट र लेकमा हुने भएकाले भौगोलिक विकटताका कारण सुरक्षा चुनौतीका रूपमा देखिएको छ । यार्चा लुटपाट र सम्भावित अपराध नियन्त्रण गर्न यो वर्षदेखि डोल्पामा डीएसपीको नेतृत्वमा १६० जना सशस्त्र प्रहरीको विशेष टोलीसमेत परिचालित छ ।
३५ जनाका दरले तीनलाई यार्चा संकलनमा भीड हुने ५ वटा क्षेत्रमा परिचालन गरिएको खनालले बताए । यार्चाको कारोबार नसकिन्जेलसम्म टोलीले उपल्लो डोल्पादेखि दुनैसम्म र विभिन्न नाका र पाटनहरूमा गस्ती गर्नेछ ।
तर दुईदेखि तीन दिन टाढाको पाटनसम्म पैदलै गस्ती गर्नुपर्ने भएकाले सुरक्षा प्रभावकारी भएको देखिन्न । लुटपाट र अपराधमा संलग्नहरूसँग घोडालगायतका साधन र सुसज्जित समूह हुने भएकाले लुटपाट मच्चाएर क्षणभरमै फरार हुने सम्भावना बढी देखिन्छ । तर सुरक्षार्थ खटिएका प्रहरीले ५ हजार मिटर उचाइका लेकसम्मै पैदलै गस्ती गर्नुपर्ने हुँदा सोचेअनुरूप सुरक्षा दिन नसकिएको डीएसपी मोहनप्रसाद पोखरेलको अनुभव छ । शुक्रबार राति लुटपाट भएको नाउरे क्षेत्रमा डीएसपी पोखरेल नेतृत्वको टोली अनुसन्धानमा खटिएको छ ।
ठाउँ-ठाउँमा खटिएको प्रहरीको टोलीले अपराध नियन्त्रण गर्न यार्चा संकलन हुने लेक -पाटन) हरूमा जुवा तास र मदिरा नियन्त्रणमा बढी जोड दिएको देखिन्छ । मदिराबाटै सुरु भएरझैं झगडा हुने र आपसमा झडप हुँदै अपराधिक घटना हुने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीको टोलीले त्यसको नियन्त्रणमा जोड दिएको छ ।
मदिराकै कारण सुरु भएको विवादले यो वर्ष पनि यहाँका रह, माझपाललगायतका क्षेत्रमा एकआपसमा झडप भएका छन् । झडप र लुटपाटका घटना हुन थालेपछि प्रशासनले धेरै रुपैयाँ बोकेर यार्चा संकलन गर्ने ठाउँसम्म नलैजान र साथमा नराख्न सर्वसाधारण र व्यापारीलाई सचेत गराएको छ ।
संकलक भन्छन्
संकलनमा आएका धेरै जसोको भनाइमा यो वर्ष यार्चा कम भेटियो । बाटो हिँड्ने र पाटनमा भेटिने अधिकांशको गुनासो हुन्थ्यो, यो वर्ष कीरै (यार्चा) पाएनौं । धेरै वटा पाटन घुम्दा एक जनाले १० देखि ५ सय वटासम्म यार्चा संकलन गरेको भेटियो ।
व्यापारीले एउटा यार्चाको ३ सयदेखि एक हजार रुपैयाँसम्म खरिद गरे । व्यापारीहरू यार्चा संकलन गर्न हजारौंले संकलन गरिरहका पाटनमै पुग्ने रहेछन् । तिब्बतरतिरबाट भने साउनतिर व्यापारी संकलित क्षेत्रमा जम्मा हुँदा रहेछन् । निकुञ्जका अनुसार डोल्पाका लेकमा सबैभन्दा बढी जाजरकोट, रुकुम, जुम्ला, सल्यानलगायतका जिल्लाबाट यार्चा संकलकहरू आउँछन् ।
जोखिमै जोखिम
यार्चा संकलन निकै कठिन र मिहिनेतको फल हो । ६ महिना हिउँले ढाकेको ३९०० सय मिटरदेखि ५१०० मिटरसम्मको हिमाली घाँसे मैदानमा यार्चा पाइन्छ । निकै उचाइमा पुग्नुपर्ने भएकाले लेक लाग्ने सम्भावना त्यत्तिकै बढी हुन्छ ।
यो वर्ष पनि डोल्पासहित विभिन्न जिल्लामा लेक लागेर धेरै संकलकले ज्यान गुमाए । प्रमुख जिल्ला अधिकारी खनालका अनुसार डोल्पामा मात्रै यो वर्ष वैशाख २८ देखि असार ५ सम्म विभिन्न स्थानमा ९ जनाको ज्यान गएको छ ।
२०६६ सालमा यार्चा टिप्न मनांग पुगेका गोरखा केरौंजाका ७ जनाको नारमा स्थानीय बासिन्दाको आक्रमणबाट निधन भएको थियो । २०६७ मा डोल्पाको काइगाउँको  टांगटुंगेमा खोलाको किनामा बास बसेका १६ जनालाई हिमपहिरो आएर बगाएको थियो । बर्सेनि यहाँमात्रै ७ जनाको ज्यान जाने गरेको छ ।
के हो यार्चा गुम्बु ?
तिब्बती भाषामा यार्चा गुम्बुको अर्थ यार भनेको वर्षा र चा भनेको घाँसे, झार, गुन भनेको हिउँद र बु भनेको कीरा हो । नेपालमा ठाउँअनुसार फरक नामले चिनिन्छ । कीरा, जरा, च्याउ, हरिया सुन, जीवनबुटीलगायतले नेपालमा चिनिन्छ । यो वनस्पतिक परिवारमा पर्ने यार्चाका ५०० भन्दा बढी प्रजाति रेकर्ड भएको छ । नेपमालमा भने ११ अहिलेसम्म ११ प्रजातिका रेकर्ड भएको छ । नेपालमा २०५८ सम्म यार्चा संकलनलाई प्रतिबन्ध लगाइएको थियो । २०५८ पुस १६ देखि यसको संकलन, ओसार पसार र प्रयोगमा पूर्ण रूपमा फुकुवा गरिएको हो ।
- See more at: http://www.ekantipur.com/np/2071/3/8/full-story/391181.html#sthash.vfmgUYZl.IHodCvkW.dpuf

Sunday, May 11, 2014

सिन्धुलीमा पर्यटकीय विकासको सम्भावना


लीलानाथ घिमिरे
मैले सिन्धुलीमा पत्रकारिता सुरु गरेदेखि संभवत सबैभन्दा बढी रिपोर्टिङ सिन्धुलीगढीको गरें । सिन्धुलीगढीसग हाम्रो मुलुकको इतिहास जोडिएको छ, बीरताको गाथा जोडिएको छ । त्यसैले समाचारमा त्यो स्थल प्राथमिकतामा प¥यो । त्यसमा पनि समाचारमा धेरै जोडिएर त्यहा निर्मित दरबार आयो । लोकगायक कृष्णविक्रम थापाले ‘सिन्धुली गढी घुमेर हेर्दा...’ गीतमा दरबारकै गुणगान गाएकाले सबैले सिन्धुलीगढी भन्नासाथ त्यही राणाकालीन दरबारलाई सम्झे । दरबार संरक्षणको अभावमा जिर्ण बन्दै मेटिदै गएपछि सिन्धुलीगढीसमेत नेपालीहरुको मानसपट्टलमा धुमिल चित्र बनेर रह्यो । सिन्धुली गढीको इतिहासलाई हरेक नेपालीसामु हामीले बुझाउन सकेनौ । अथवा हामीले त्यसका लागि प्रयासै गरेनौं ।
सिन्धुलीगढीको इतिहास दरबारसग हैन । दरबार भत्केर गएपनि हाम्रो इतिहास भत्कदैन । सिन्धुलीगढीको इतिहास नेपालको एकिकरणसग जोडिएको छ । वरपरका मुलुकसामु हामीले गौरव गर्ने एउटा विषय के पनि हो भने हामीले कहिल्यै अरुको साम्राज्य सहनु परेन । हामी सधै स्वतन्त्र रह्यौं । ठूलो लोकतान्त्रिक मुलुक भनिने भारत लामो समय बेलायतीहरुको अधिनमा रह्यो । त्यहा सासन गरेका बेला अग्रेजले नेपालमाथि कब्जा जमाउने प्रयास नगरेका हैनन् । कप्तान किनलकको नेतृत्वको फौज नेपालका तत्कालीन शासकलाई सहयोग गर्ने नाममा जसरी भित्रिएको थियो, त्यो बेला गोर्खाली फौजले बीरता देखाएर उनीहरुलाई नलखेटेको भए हामी पनि दास बनेर बस्नु पर्ने अवस्था आउन सक्थ्यो ।
त्यो बीरता हाम्रो पुर्खाले देखाएका थिए । त्यो साहस, त्यो इतिहास लिएर पूर्वपश्चिम फैलिएको महाभारतमा पर्ने गढीडाडा ठिंग उभिएको छ । चिसो हावापानी भएको, उत्तरमा रामेछाप जिल्लासहित हिमश्रृङ्खला, दक्षिणमा चुरेपर्वतसहितको तराइको समथर भुभाग देख्न सकिने यस स्थलमा लडाइका बेला बनाइएका किल्ला, गढ र गढीहरु सुरक्षित छन् ।
विश्वका विभिन्न मुलुकमा इतिहासलाई संरक्षण गरेर घुमघामको स्थल बनाइन्छ । कुनै नेताको सासन ढले पनि उसलाई सधै सम्झाइरहने स्मारक बनाइन्छ । त्यहा त्यो देशका नागरिकहरु घुम्न जान्छन् । भावी पुस्तालाई इतिहास देखाउछन् । हाम्रो सिन्धुलीगढीको इतिहास त गौरवको इतिहास हो । हामीलाई पराधिन हुनबाट बचाउने पुर्खाको बीरताको झल्को दिने स्मारक हो । त्यसैले धार्मिक स्थलमा तीर्थ गर्न गएजस्तै हरेक नेपालीले तीर्थ गर्न पुग्नु पर्ने स्थल हो सिन्धुलीगढी ।
हामीले इतिहासलाई बुझाउन नसक्दा सिन्धुलीगढी बेवारिसे बन्ने पुग्यो । ढिलै भए पनि गढीको पुननिर्माणमा केही प्रयास भएको छ । सिन्धुलीगढीको आडबाटै सिन्धुली–बनेपा–काठमाडौ सडक बनेको छ । यसले सबैको पहुचमा यो एतिहासिक स्थल पुगेको छ । कुनै पनि मुलुकबासीले यहा पुग्न कष्टपूर्ण यात्रा गर्नु पर्दैन ।
सिन्धुलीगढी इतिहास हेर्न मात्र हैन, प्राकृतिक सौन्दयपानका लागिसमेत उत्तिकै रमणीय स्थल हो । पूर्वको भेडेटारमा कुनै समय बेलायतका राजकुमार चाल्र्स पुगेका थिए । अहिले चाल्र्स प्वाइन्ट नामले चिनिन थालेको यस स्थलमा तराइदेखि भारतसम्मका हजारौं जना चिसो अनुभूति गर्न, धरानको रमणीय दृष्य हेर्न र मुख फेर्न आउने गर्छन् । न यस स्थलसग कुनै इतिहास जोडिएको छ, न कुनै पर्यटकीय स्थल नै छ । चाल्र्सको नाम भजाउनासाथ यो स्थल मुलुकभर प्रख्यात भयो ।
त्यसभन्दा धेरै कुरा छन् सिन्धुलीगढीमा । महाभारतमा चैतबैशाखतिर लालिगुरास फुलेर डाडै रात्तै हुन्छन् । हिउदमा हिउ थुप्रिएका हिमश्रृङ्खला आखाकै अगाडी देखिन्छ । महाभारत डाडामा भएकाले गर्मीमा समेत यहाको हावापानी चिसो हुन्छ । डाडाबाट तराइका फाटसमेत देख्न सकिन्छ । यहाबाट नजिकै पर्ने रनचुरा, जलकन्या, बासेश्वरलगायतका गाविसका बारीमा हिउदभर लटरम्म जुनारसुन्तला फल्छन् । पहेलपुर भएका बोटमै पुगेर जुनारको स्वाद लिन सकिन्छ । अग्र्यानिक खानाको वास्तविक स्वाद यहा पाउन सकिन्छ । यसलाई कृषि–पर्यटनसग पनि जोड्न सकिन्छ । अर्को एतिहासिक स्थल हरिहरपुर गढीमा समेत यत्तिकै सम्भावनाहरु छन् । कमलामाईकै रानीचुरीमा कुनै समय लखेटिएका राणा माधवशमशेरले दरबार बनाएका थिए । उनले पाएसम्म सबै प्रकारका फलफुल आफ्नो बगैचामा लगाएका थिए भनिन्छ । अहिले उनको बगैचाको अवस्था के छ भन्ने जानकारी मलाइ छैन । सदरमुकाम नजिकै भएकाले यहासम्म ट्रेकिङको रुट बनाउन सकिन्छ ।
सिन्धुलीको उत्तरी भेग भएर सुनकोसी नदि बग्छ । यस नदिमा ¥याफ्टिङको सम्भावना प्रबल छ । दुम्जाबाट डुंगा खियाउदै सिन्धुलीको पूर्वीभेगसम्म यात्रा गर्न सकिन्छ । यात्राका क्रममा किनारामा पर्ने माझी बस्ती, अरु ससाना बजारहरुमा पर्यटकलाई बास राखेर रात्रीको रमाइलो देखाउन सकिन्छ । सुनकोसीको माछा खादै गर्न सकिने यात्रा अन्यत्र कतै पाउन सकिएला ?
सिन्धुलीको सबैभन्दा अग्लो फिक्कल डाडा, नेत्रकालीको लांखांग गुम्बा, डाडी गुरासेको पञ्चकन्या पोखरीमा समेत पर्यटकीय सम्भावना मैले देखेको छु ।
धार्मिक, जैविक र विविध जनजातिको संगमस्थल पनि हो सिन्धुली । धर्मप्रति आस्थाहुने पर्यटकलाई यहाका मठमन्दिर र गुम्बामा आकर्षित गर्न सकिन्छ । सिन्धुलीमाढी बजारमै रहेको कालिमाई, माइस्थानको कमलामाई, सिद्धबाबालगायतका एतिहासिक मन्दिरको आफ्नै महतो छ । मनोकामना पूर्ण हुने विश्वासमा गोरखाको मनकामना मन्दिरमा दिनहु त्यतिधेरै श्रद्धालुको भिडलाग्छ । तिनै तीर्थालुका कारण केबुलकारले राम्रो ब्यापार गरेको छ । त्यस्तै मनोकामना पूरा गर्ने विश्वास गरिएकी कमलामाई मन्दिरमा हामीले भक्तजनलाई आकर्षित गर्न किन सकेनौ ? माघे सक्रन्तिमा लाग्ने मेलामा हुने भिड किन घट्दै गएको छ ? धर्मप्रति आस्था राख्नेहरुले त्यसको उत्तर खोज्नु पर्छ । बाबाधाम, खुर्कोटस्थित भीमसेन मन्दीर, इच्छेश्वर महादेव गुफा, बालाजोरको सर्वसिद्धेश्वर महादेव गुफालाई अझ प्रचारप्रसार गरेर भक्तजनको संख्या बढाउने प्रचुर सम्भावना छ ।
धेरै जिल्लाले पर्यटकलाई भित्रयाएर आफ्नो जिल्लाको विकास गरेका छन् । पर्यटकीय स्थल आफै बन्ने होइन रहेछ । त्यसलाई बनाइने रहेछ । चितवनका धेरै सामुदायिक बनले आफ्नो ठाउमा पर्यटकलाई आकर्षित गर्न त्यस्ता पूर्वाधारको विकास गरेका छन् । सिन्धुलीका बासिन्दाले भने पर्यटकको आगमनलाई विकाससग जोड्न सकेनौं । सिन्धुली बसेर रिपोर्टिङ गरुन्जेल मैले पर्यटक बनेर आएका गोरो छाला हुनेहरु देखिन । जति आउथे, उनीहरु विकासे कार्यकर्ता, दातृ निकायका ब्यक्तिहरु मात्र थिए । त्यसैले मैले १० बर्ष सिन्धुलीमा बसेर पत्रकारिता गर्दा पर्यटन उद्योगको समाचार लेख्न पाइन । पर्यटक नआएकैले होला त्यतिखेर सिन्धुलीमा बास बस्न सुविधायुक्त होटल बनेका थिएनन् ।
विस्तारै समय फेरिदैछ । सिन्धुली पुग्न राजधानीबाट तराइ हुदै र पहाडै पहाड दुइटा बाटा खुलेका छन् । गाउगाउ पुग्ने बाटा बनेका छन् । स्तरीय होटलहरु निर्माण भएका छन् । सिन्धुलीगढीको प्रचार गर्ने प्रयास पनि नथालिएका होइनन् । यति मात्र सिन्धुलीको पर्यटन विकासका लागि पर्याप्त छैन ।
सिन्धुलीलाई पर्यटनसग जोड्ने छुट्टै प्रयास थालिनु आवश्यक छ । यसकालागि पर्यटन मन्त्रालय÷बोर्डसग स्थानीय निकायले सहकार्य गर्नु आवश्यक छ । तिनले प्रकाशन गर्ने प्रचार सामग्रीमा सिन्धुलीका पर्यटकीय सम्भावना बोकेका स्थलहरुलाई समेट्न लगाउनु पर्छ । पूर्वाधार भए मात्र पर्यटक जाने हुन् । त्यसका लागि स्थानीय निकायले पूर्वाधार निर्माण गर्दा पर्यटकीय स्थलहरुलाई प्राथमिकता दिनु आवश्यक छ । राज्यका निकायहरुमा पहुच भएकाहरुले सिन्धुलीका धरोहरलाई कमाइ खाने भाडो नबनाइ वास्तविक विकासका लागि प्रयास गर्नु पर्छ । देशभित्र/बाहिर रहेका सिन्धुलीबासीले सिन्धुलीको एतिहासिक/पर्यटकीय स्थलहरुबारे जानकारी गराउदै आफ्ना साथीहरुलाई एक पटक भ्रमण गर्न निम्त्याउनु आवश्यक छ । हरेक नागरिकले आफ्नो जिल्लामा पर्यटकीय विकासका लागि भूमिका खेल्नु आवश्यक छ ।