Sunday, February 7, 2016

बादलमाथिको मन्दिर मुक्तिनाथ (फोटो फिचर)


D6.79 Muktinath Temple_
मुस्ताङको मुक्तिनाथ मन्दिर (उचार्इ ३८०० मिटर) ।
महेन्द्र भुसाल
२४ माघ, काठमाडौं । हिन्दू र बौद्ध धर्मालम्वीहरुको प्रशिद्ध तिर्थस्थल हो, मुक्तिनाथ मन्दिर । हिमाली जिल्ला मुस्ताङको काखमा रहेको मुक्तिनाथमा वर्षेनी लाखौं स्वदेशी तथा विदेशीहरु पर्यटक पुग्ने गर्छन् ।
यो मन्दिर ३८ सय मिटर उचाईमा छ । उचाईमा रहेको हुँदा यसलाई बादल माथिको मन्दिर पनि भन्ने गरिन्छ । सुन्दर प्राकृतिक दृश्वालोकन गर्दै मुक्तिनाथ पुग्दा छुट्टै विश्वमा पुगेको अभाष हुन्छ ।
मुक्तिनाथ विश्वकै प्रशिद्ध पदमार्ग ‘अन्नपूर्ण सक्रिट’मा पर्छ । त्यसैले ट्रेकिङका लागि मुक्तिनाथ उत्तम मानिन्छ । प्रकृतिमा रमाउने पर्यटकहरु ट्रेकिङ गर्दै मुक्तिनाथ पुग्ने गर्छन् । पोखराबाट हिँडेको ७ देखि १० दिनमा मुक्तिनाथ पुगेर फर्किन सकिन्छ ।
D6.74 Muktinath village_
मुक्तिनाथ गाउँको बिचमा रहेको गुम्वा ।
खासगरी मुक्तिनाथ ट्रेकिङ म्याग्दीको तातोपानीबाट सुरु हुन्छ । हामी काठमाडौंबाट सार्वजनिक बस वा आफ्नै गाडीमा पोखरा, बेनी हुँदै तातो पानीसम्म पुग्न सकिन्छ । धार्मिक हिसावले मुक्तिनाथ जानेहरु तातोपानीमा नुहाएर जाँदा उत्तम मानिन्छ ।
तातो पानीमा नुहाउन धेरै नेपाली तथा विदेशीहरु पुग्ने गर्छन् । यहाँको तातो पानीमा नुहाउँदा छाला, वाथ र ग्याष्ट्रिक निको हुने विश्वास गरिन्छ । धार्मिक हिसावले समेत यो प्रशिद्ध मानिन्छ ।
Myagdi tatopani
मुक्तिनाथ ट्रेकिङको प्रवेशद्वार मानिने म्याग्दीको तातोपानी कुण्ड । जहाँ स्वदेशी तथा विदेशी पर्यटकको नुहाउन घुइँचो लाग्ने गर्छ ।
पहिलो दिन तातो पानी पुगेर बास बस्न सकिन्छ । भोलि विहान उठेर तातो पानीमा नुहाएर घाँसा बास बस्न पुगिन्छ । घाँसा तातोपानीबाट ४/५ घण्टाको यात्रा हो । हामीले घाँसामा रात विताउनुपर्छ ।
D5.9 Ghasa village, on the way to Jomsom_
तातोपानीबाट जोमसोम जाँदै गर्दा बाटोमा पर्ने घाँसा गाउँ ।
तेस्रो दिन घाँसाबाट ६/७ घण्टा हिँडेर मार्फा गाउँ पुगिन्छ । यो अत्यन्तै सुन्दर गाउँ हो, जहाँ लोडसेडिङ पनि हुँदैन । यहाँ लोकल हाइड्रो पावरबाट विद्युत उत्पादन गरिएको छ । मार्फा नेपालकै सबैभन्दा बढी स्याउ उत्पादन हुने ठाउँ पनि हो ।
मार्फामा खान बस्नका लागि कुनै समस्या छैन । यहाँ खान बस्नका लागि सामान्य होटलदेखि स्तरीय लजहरु समेत रहेका छन् । यहाँका होटलमा अट्याच बाथरुम सहित तातो-चिसो पानी समेत पाइन्छ ।
D6.12 Marpha village_
मुस्ताङको मार्फा गाउँ ।
चौथो दिन विहान हामी मार्फाबाट हिँडेर बास बस्न कागवेनी पुगिन्छ । कागवेनी धार्मिक रुपमा महत्वपूर्ण ठाउँ हो । यहाँ दशैं अगाडि सुरु हुने सोह्र श्राद्ध गर्न जानेहरु धेरै हुन्छन् । कालिगण्डकी किनारमा रहेको कागवेनीमा स्वदेशी विदेशी पर्यटक मज्जाले रमाउन सक्छन् ।
D6.55 Kagbeni village at the bank of Kaligandaki River_
कालिगण्डकीको किनारमा रहेको कागवेनी । यो ठाउँ पितृको श्राद्वका लागि प्रशिद्ध मानिन्छ ।
पाँचौं दिन कागवेनीबाट मुक्तिनाथ मन्दिरमा पुग्न सकिन्छ । यो ५/६ घण्टाको बाटो हो । यहाँ पुग्दा छुट्टै विश्वमा पुगेको अनुभूति हुन्छ । मुक्तिनाथ अन्नपूर्ण सर्किटमा पर्छ । अन्नपूर्ण सक्रिटमा थोरङ्ला क्रस गरेपछि बस्ने ठाउँ भनेको मुक्तिनाथ मन्दिरमा हो ।
D6.81 Muktinath Natura tap_
मुक्तिनाथ मन्दिर परिसरमा रहेका १०८ धाराहरू । यहाँ नुहाएमा पुण्य कमाइने विश्वास गरिन्छ ।
यहाँ खान बस्नका लागि राम्रो सुविधा रहेको छ । तातो-चिसो पानीसहित अट्याच बाथरुम भएका लजहरु मुक्तिनाथमा रहेका छन् । मुक्तिनाथ मन्दिर चार धाममध्ये एकमा पर्छ । हिन्दू र वौद्ध धर्मको उत्कृष्ट सहिष्णुता भएको मुक्तिनाथ विश्वमै प्रशिद्ध मानिन्छ ।
छैठौं दिन हामी मुक्तिनाथबाट जोमसोम फर्किन सकिन्छ । यहाँ हामी रात विताउन पनि सकिन्छ । त्यही दिन नै जोमसोमबाट जहाज वा बसमार्फत पोखरा फर्किन पनि सकिन्छ । जोमसोम आफैमा निकै सुन्दर ठाउँ हो । जोमसोमबाट निलगिरी र धौलागिरी हिमाल मज्जाले अवलोकन गर्न पाइन्छ ।
D6.36 Mustang Town, Jomsom_
मुस्ताङको सदरमुकाम जोमसोम बजार ।
विश्वकै गहिरो खोँच कालीगण्डकीको किनारै किनार घाँसा, मार्फा कागवेनी हुँदै मुक्तिनाथ पुगिन्छ । यात्राको क्रममा हिमाली दृश्यहरु, सुन्दर गाउँहरु, रुख र घाँस नभएका पहाडहरु देख्दा मनै फुरुङ्ग हुन्छ ।
अन्नपूर्ण र धौलागिरीको बिचमा पर्ने विश्वकै गहिरो खोँचबाट हाम्रो यात्रा जारी रहन्छ । तातोपानीबाट घाँसा जाँदा बाटोमा रुप्से झरना देखा पर्छ । त्यो झरना निकै सुन्दर देखिन्छ । रुप्से झरना कालिगण्डकीमा मिसिएको ठाउँ विश्वकै गहिरो खोँचमध्येमा पर्छ ।
Mt Nilgiri, Kaligandaki river & Tatopani Market on the corner_
अन्नपूर्ण र धाैलागिरीको विचमा पर्ने विश्वकै गहिरो कालिगण्डकी खोँच । यही बाटो भएर मुक्तिनाथ गइन्छ ।
हामीसँग लामो समय भएमा यात्रा लम्बाउन सकिन्छ । पोखराबाट घोरेपानी हुँदै तातोपानी मार्फा भएर पनि मुक्तिनाथ पुग्न सकिन्छ । यो यात्राका लागि हामी पोखराबाट कास्कीको बिरेठाँटीसम्म गाडीमा जान सकिन्छ । सोही दिन त्यहाँबाट ट्रेकिङ सुरु गरेर उल्लेरी बास बस्न पुगिन्छ ।
दोस्रो दिन उल्लेरीबाट म्याग्दीको घोरेपानी गएर बास बस्न सकिन्छ । तेस्रो दिन विहान पुनहिल डाँडामा पुगी हिमाली दृश्यावलोकन गरी पुनः घोरेपानीमा आएर खान खानुपर्छ ।
D4.43 Poon Hill view Point_
म्याग्दीको पुनहिल भ्यू प्वाइन्ट । यहाँबाट निलगिरी, धाैलागिरी र अन्नपूर्ण हिमश्रृङ्खला देख्न सकिन्छ ।
सोही दिन मज्जाले हिँड्न सकियो भने एकैदिन म्याग्दीको तातोपानी पुगिन्छ । म्याग्दीको तातोपानी पुगेपछि माथि उल्लेख गरेको रुट समातेर मुक्तिनाथ पुग्न सकिन्छ । यसरी हाम्रो मक्तिनाथ यात्रा पुरा हुन्छ ।
D7.3 Rupse chara, On the way Ghasa to Tatopani_
तातोपानीबाट घाँसा जाँदै गर्दा बाटोमा पर्ने रूप्से झरना । यो झरना कालिगण्डकीमा मिसिने ठाउँ नै विश्वकै गहिरो खोँच हो ।
At Muktinath, near temple_
मुक्तिनाथ मन्दिर परिसरभित्रको बाटो ।
D5.30 Lete village & Tukuche peak_
तल्लो मुस्ताङको लेतेबाट देखिएको टुकुचे हिमाल ।
D6. 46 On the way Jomsom to Muktinath_
जोमसोमबाट मुक्तिनाथ जाने बाटोमा देखिएको कालिगण्डकी बगर ।
D6.56 view from Kagbeni village_
कागवेनीबाट देखिएको सुन्दर दृश्य ।
D6.59 view from Kagbeni village_
कागवेनीबाटै देखिएको हिमाल ।
D6.66 at Muktinath frozen ice on the tap_
मुक्तिनाथमा रहेको धारोमा जमेको बरफ ।
D6.69 At Muktinath_
मुक्तिनाथबाट देखिने सुन्दर दृश्य ।
D6.88 Local People celebrating Sonam Loshar at Muktinath village_
मुक्तिनाथ गाउँमा स्थानियहरू ।
D4.49 At Poon Hill_
म्याग्दीको पुनहिलबाट हिमाल अवलोकन गर्दै पर्यटक ।
D4.51 On the way Poon Hill to ghorepani
म्याग्दी पुनहिल भ्यू प्वाइन्टबाट घोरेपानी झर्दै गर्दाको दृश्य ।
D4.54 view of Ghorepani village and background is the Dhaulagiri_
म्याग्दीको घोरेपानी ।
D4.64 Shikha village_
म्याग्दीकै शिखा गाउँ ।
D4.69 At Ghar village, on the way to tatopani
शिखा गाउँबाट देखिएको दृश्य ।
Orange farm at Ghara village, on the way to Tatopani from Shikha_
म्याग्दीको घारा गाउँमा फलेका सुन्तलाका बोटहरू ।
तस्बिर सौजन्य: सिक्स्थसेन्स ट्राभल

Thursday, January 28, 2016

भूकम्प प्रतिरोधी मौलिक घर बनाउने जापानी प्रविधि भित्रँदै

vukampa-pratirodhi-ghar

१४ माघ, काठमाडाैं । भूकम्पको नौ महिनापछि सरकारले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठन गरेर पुनःनिर्माण तथा नवनिर्माणको काम अगाडि बढाएको छ ।
सरकारले विभिन्न प्रकारका घरका नमुनासमेत सार्वजनिक गरिरहेको छ । तर, पुनःनिर्माणको काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको बेला नागरिक तहबाट पनि सरकारलाई सहयोग गर्ने ढङ्गले नै काम भइरहेको छ ।
जापानको इहमि विश्वविद्यालयबाट ‘विपद् व्यवस्थापन’ मा विद्यावारिधि गरेका र अष्ट्रेलियाको मेलर्वन विश्वविद्यालयमा भूकम्प प्रतिरोधी घरसम्बन्धी अनुसन्धान गरिरहनुभएका काभ्रेपलान्चोक देउपुरका शङ्कर ढकाल भूकम्पबाट क्षति भएका संरचनालाई कसरी भूकम्पप्रतिरोधी बनाउन सकिन्छ भन्ने ज्ञान बाँड्दै हिँडेका छन्  ।
काभ्रेपलान्चोकको देउपुरलाई नमुना गाउँका रुपमा विकास गर्न उनको सहकर्मी डा. हिङ हो तेस्याङ लिले हङकङमा सन् २००७ मा पत्ता लगाएका रबर तथा माटोको मिश्रण र नेपालमा प्रारम्भिक अवस्थामा विकास भइरहेको इन्टरलकिङ प्रविधिलाई नेपाली मौलिकतामा अगाडि बढाउने सोच अगाडि सारेका छन् ।
विभिन्न सवारी साधनमा प्रयोग हुने टायर र रातो माटोलाई मिश्रणलाई घर तथा आवासको जगमा राख्दा त्यसले भूकम्प प्रतिरोधी क्षमताको विकास गर्न सकिन्छ भन्ने ज्ञान तथा सीपलाई डा. ढकालले देउपुरमा प्रयोग गर्न लागेका छन् ।
युएनडिपी, सहरी विकास मन्त्रालय र इन्जिनियरिङ एसोसिएसन अफ नेपालले आयोजना गरेको भूकम्प प्रतिरोधी ग्रामीण संरचना विषयको प्रदर्शनीमा ढकालको समूहले घरको नमुना तथा प्रविधिलाई धेरैले मन पराएका थिए भने बेस्ट पब्लिक च्वाइस अवार्ड पनि पाएको थियो ।
नेपाली मौलिक घरलाई सामान्य रुपमा मात्रै सुधार गर्दा पनि भूकम्प प्रतिरोधी बनाउन सकिने डा ढकालले बताए । ‘रबर र माटोलाई जगमा राख्ने र सोही मिश्रणमाथि घर तथा आवासको जग राख्नुपर्छ, परीक्षणबाट के देखिएको छ भने रबर र रातो माटोको मिश्रणले भूकम्पको धक्कालाई ६० प्रतिशतभन्दा कम गर्न सकिन्छ’- डा ढकालले भने ।
उनले भित्र्याउन लागगेकाे  प्रविधिमा माटो र बालुवा सिमेन्टको इँट्टाको गारो लगाउँदा इन्टरलकिङ गरिनेछ । अथवा हाल बजारमा पाइनेभन्दा अलि ठूलो आकारको इँट्टा बनाउने प्रविधि पनि डा ढकालले प्रयोग गर्न लागएकाे छ ।
रातो माटो, बालुवा र थोरै सिमेन्टको मिश्रणबाट इँट्टा बनाउने र त्यसमा पनि काठ वा सुधारिएको बाँस प्रयोग गरेर स्थानीय प्रविधिलाई थप परिस्कृत गर्न सकिने उनको भनाइ छ ।
नेपाली मौलिकता र नेपाली प्रविधिलाई संरक्षण गर्ने, कम लागतमा नै आगामी ६० वर्षसम्म टिक्ने घर तथा आवास निर्माण गर्न सकिने उनले उल्लेख गरे ।
भूकम्पपीडितलाई सरकारले अनुदानबापत उपलब्ध गराउन लागेको दुई लाख रूपैयाँमै घर बनाउन सकिने दाबी उनले गरेका छन् ।
काभ्रेको देउपुर, रञ्जनाकोट, दोलखाको सुन्द्रावती, गोरखाको बारपाक, धादिङको लापामा आफ्नो प्रविधि र योजनालाई प्रारम्भिक रुपमा लागू गर्न लागेको ढकालले बताए ।
‘एक तले, दुई तले दुबै किसिमले निर्माण गर्न सकिन्छ । मात्रै परम्परागत तवरमा निर्माण गरिएको भन्दा सामान्य फरक मात्रै गर्दा हुन्छ’ उनले भने ।   रासस

Friday, January 22, 2016

बिल गेट्सको नजरमा सफल हुन पढ्नै पर्ने १० पुस्तक

summer-books_2015_bill-books_800px_v1

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले सफल हुनका लागि हरेक व्यक्तीले १० पुस्तक पढ्नै पर्ने सुझाव दिएका छन् । उनले सुझाएका पुस्तक यस्ता छन् ।
१ बिजेश एडभेन्चर्स 
लेखक : जोन ब्रुक्स्
पुस्तकमा के छ : सफलताका लागि भौतारिएको मानिस सफल पनि हुनसक्छ र असफल पनि । यो पुस्तकमा यि दुबै मुद्धालाई गहिरो तवरले अथ्र्याइएको छ ।
बिल गेट्सको सुझाव : मैलेँ पढेका पुस्तकमध्ये यो बिजनेशका लागि सबैभन्दा उपयुक्त पुस्तक हो । जोन ब्रुक्स आज पनि मेरा प्रिय बिजनेश राईटर हुन् ।
२ टप डान्सिंग टू वर्क 
लेखक : क्यारोल लूमिस
किताबमा के छ : यस पुस्तकमा वारेन बफेटका सबै लेखहरु संग्रहित छन् । यसमा तपाईले बफेटको सफलताको पुरै कथा पढ्न पाउनुहुन्छ ।
बिल गेट्सको सुझाव : मेरो बुझाईमा ध्यानपूर्वक यो पुस्तक पढ्नेले दुई कुरा नोटिस गर्छन् । एक आफ्नो करियरका दौरान वारेन बफेटले कसरी आफ्नो भिजन र इन्भेस्टमेन्ट प्रिन्सिपललाई प्रयोग गरे । दोस्रो, उनीमा बजारको जर्बजस्त ज्ञान छ । यसमा बताइएको छ कि बजारलाई प्रभावमा लिन हामीले विभिन्न तिकडम लगाउनुपर्छ ।
३ लाईफ इज ब्हाट यू मेक इट 
लेखक : पीटर बफेट
किताबमा के छ : यो किताब कडा काम गर्ने एक धनी बच्चाको कथामा आधारित छ ।
बिल गेट्सको टिप्पणी : पिटरले सफलता हात पार्न आफ्ना बाबुसँग कहिल्यै पैसा लिएनन् । बरु अभिभावकसँग आफ्नो बाटो आफैँ कसरी बनाउने भन्ने सिके । म आफ्ना बच्चाहरुसँग यो किताब पढ्न चाहन्छु । तपाईले सफलता हात पार्न धनी परिवारमा जन्मनुपर्छ भन्ने छैन् ।
४ अवेकिंग जोय 
लेखक : जेम्स बराज
किताबमा के छ : तपाई सफल किन हुन चाहनुहुन्छ । सायद खुसी यसको कारण हुनसक्छ । यो पुस्तकले तपाईलाई सिकाउँछ कि सफलताको यात्रा कसरी आनन्ददायक छ ।
बिल गेट्सको टिप्पणी : खुसी कोही भाग्यशालीका लागि मात्रै होइन । सबैलाई यसको अधिकार छ । यस पुस्तकमा जेम्स बराजले तपाईलाई रमाइलो बाटो चुन्न मद्धत गर्छन् ।
५ ब्हेयर गुड आइडियाज कम फ्रम 
लेखक : स्टीवन जोनसन
किताबमा के छ : सफल हुनका लागि आविस्कार जरुरी छ । यो पुस्तकमा बताइएको छ कि सफलताका लागि आविस्कारको बाटो कसरी तयार गरिन्छ ।
बिल गेट्सको टिप्पणी : यो पुस्तक विजनेश वा शैक्षिक क्षेत्रमा लागेकाहरुका लागि हो । यसले अन्तर्राष्टिय संरचनाका विषयमा बोल्छ । जहाँबाट नयाँ आइडिया निस्कन्छ ।
६ मूनवाकिंग विथ आईनिस्टाइन 
लेखक : जोशुआ फोयर
किताबमा के छ : यदी तपाई भुलक्कड वा लापरवाह हुनुहुन्छ भने सफल हुन सक्नुहुन्छ । यो पुस्तकले तपाईलाई आवश्यक तथा जरुरी फ्याक्टरका विषयमा याद दिलाउँछ ।
बिल गेट्सको टिप्पणी : अन्य मानिसजस्तै म पनि यो कुरामा आकर्षित छु कि दिमागले कसरी काम गर्छ र यि कुराहरुलाई कसरी याद गर्नुपर्छ । यो पुस्तकले निकै सरल ढंगबाट सम्झाउँछ कि स्मरण र बुझाईमा कुनै फरक छैन् । दुबै एक हुन् ।
७ लिमिटेड लर्निग अन कलेज क्याम्पसेज 
लेखक : रिचार्ड अरुम र जोसिपा रोक्सा
किताबमा के छ : यो पुस्तकले सफल हुन तपाईलाई दुई कुरा सिकाउँछ । पहिलो यो कि तपाई कलेजको शिक्षालाई दिमागमा राखेर वास्तविक संसार सिक्न तयार हुनुहोस् । दोस्रो, यदी तपाई शिक्षक हुनुहुन्छ भने तपाईलाई सफल प्रयोगको ज्यादा आवश्यकता छ ।
बिल गेट्सको टिप्पणी : यस विषयलाई लिएर आशावादी छु कि आविस्कारमा त्यो संभावना छ जसले थुप्रै समस्या समाधान गर्न हाम्रो सहयोग गर्छ । तर हामीलाई धेरै जानकारीको जरुरी छ ।
८. हाउ अमेरिका फेलल बिहान्ड इन द वल्र्ड इट इन्भेन्टेड एन्ड हाउ वी क्यान कम ब्याक 
लेखक : थोमस एल फ्रेडम्यान र मिशैल म्यान्डेलबाउम
किताबमा के छ : यो किताब अमेरिकाको परिवेशमा लेखिएको छ । तर यसले सामान्य मानिसलाई धेरै सिकाउँछ । हामीले प्राय अरुलाई आफूजस्तै बन्न प्रेरणा भर्छौ । अब पालो आएको छ कि हामी आफै अरुबाट प्रेरित भएर अगाडी सोचौँ र आफ्नो लागि बाटो पहिल्यायौँ ।
बिल गेट्सको टिप्पणी : यो एक उम्दो पुस्तक हो । म यो पुस्तक पढ्न मानिसहरुलाई सुझाव दिन्छु ।
९ डेंग श्याओपिंग
लेखक : एज्रे एफ भोगल
किताबमा क छ : सफल हुनुको अर्थ हो गाह्रो परिस्थितीलाई सहज रुपमा बदल्नु । डेंग श्याओपिंगले दुनियाँकै सबैभन्दा धेरै जनसंख्या रहेको देशमा यही गरे । श्याओपिंग शक्तीमा आउनुअघि चीन गरिब देश थियो । किताबमा बताईएको छ कि शक्तीमा आएपछि श्याओपिंगले चीनको व्यवसायलाई कसरी अगाडी बढाए ।
बिल गेट्सको टिप्पणी : १९७९ मा चीन दुनियाँकै गरिब देशमध्ये एक थियो । भारतभन्दा पनि धेरै गरिब । यस देशको जनसंख्या यति धेरै थियो कि सबैलाई पेट भर्न समेत मुस्किल थियो । देशमा सांस्कृतिक स्थिरता र आर्थिक समून्नती ल्याउन श्याओपिंगले थुप्रै काम गरे । यो दुनियाँकै इतिहासमा एउटा नयाँ प्रयोग हो । यो प्रयोग बुझ्न पुस्तक पढ्नु जरुरी छ ।
१० द मस्ट पावरफुल आइडिया इन द वल्र्ड 
लेखक : विलियम रेप्सेन
किताबमा के छ : सूरुआतमा पढ्नेलाई यो पुस्तक रेल रोड र इन्जिनका विषयमा मात्रै आधारित छ भन्ने लाग्छ । जबकी पुस्तकको मुख्य उद्धेश्य मेसिन कसरी सफल भयो भन्ने बताउनु हो । रेल रोडमा यस्तो कुन आइडिया थियो , जसले दुनियाँ बदल्यो ।
बिल गेट्सको टिप्पणी : रेप्सेनको नजर र मेरो नजर प्राय मिल्छ । तपाईको कामलाई थप परिस्कुत बनाउन शक्तीको प्रयोग गर्न सकिन्छ । यदी तपाई आफ्नो लागि लक्ष्य तय गर्नुहुन्छ र यस बाटोमा हिड्नुहुन्छ अनि आफ्नो सुधारको मापन गर्नुहुन्छ भने तपाई आवश्य सफल बन्नुहुन्छ ।

‘बरफ कुण्ड’

माघ ९, २०७२- जोन क्राकाउरको कृतिमा आधारित ‘इन्टु द वाइल्ड’ चलचित्रको धेरै घटना र संवादले मलाई छोएको छ । कहिलेकाही एलेक्जेन्डर सुपरट्राम्पले जस्तै म पनि आफूभित्र एउटा यस्तो ऊर्जा भेट्छु, जुन यति ठूलो हुन्छ कि त्यसको निकास देख्न गाह्रो हुन्छ ।
यात्रा गर्न मन थियो, एक्लै कतै टाढा, प्रकृतिको मनोरम दृश्य नियाल्दै । सम्हालिँदा सम्हालिँदै पनि पाइलाहरू लालायित हुँदारहेछन् सपनाहरूप्रति ।
स्थिरताबाट दिक्क भएर चलायमान हुन खोज्दा मैले सम्झिएँ ‘अहिले गोसाइँकुण्ड पूरै जमेको होला !’ यत्ति एउटा सोच थियो बस् अनि ३ दिनको छुट्टी । प्रकृतिको आड लिएर गोसाइँकुण्डतर्फको यात्रामा म होमिएँ ।
धुन्चेको लोकल बस चढेर गोसाइँकुण्डतर्फ जानु यति सजिलो कहाँ थियो र ? माघे संक्रान्तिको दिन सबैलाई आफ्नो घर जानुपर्ने अनि गाडी थोरै । ढोकाकै छेउ एक नम्बरमा मेरो सिट थियो ।
अरू बेला आफ्नोभन्दा अरूलाई सुबिस्ता होस् भन्ने सोच्ने मान्छे पनि लामो यात्रामा हिँडेको बेला आफ्नैबारेमा सोच्दो रहेछ । यो प्रवृत्तिबाट म पनि अछूतो रहन सकिनँ ।
बालबच्चा बोकेका आमा दिदीलाई भावुक भएर सिट छाडिदिन सकिनँ । यद्यपि बालबालिकालाई काखमा लिने र रोए भने चकलेट दिएर फकाउने मेरो ६ घन्टाको यात्राको रमाइलो पक्ष थियो ।
२ बजे धुन्चे पुगेर १ बोतल पानी, ६ वटा दुनट, २ प्याकेट ग्लुकोज र दुइटा चाउचाउ झोलामा कोचेर म उकालो लागें । बाटोभर भेट भएकाहरूले केहीले सोधे, ‘कता हिँड्नुभएको ?’ ‘गोसाइँकुण्ड’ म हाँस्दै जवाफ फर्काउँथे ।
केहीको मुहारमा भने विस्मयाधिबोधक चिन्ह साफ झल्कन्थ्यो किनकि मान्छेहरू जाडोले माथि बस्न नसकेर तल झरेका थिए तर म भने गोसाइँकुण्डको बाटो लाग्दै थिए ।
अलिकति परसम्म त एक दुईजना मानिस देखिए तर अलि उकालो लागेपछि त चराचुरुङ्गी लङ्गुर, बाँदर, जरायो, मृगजस्ता जनावर नै मेरो यात्राका साक्षी बने ।
४ घन्टाको पैदलयात्रापश्चात् चन्दनबारी टेकेपछि बल्ल मान्छेको अनुहार देखियो । अहिले गोसाइँकुण्डको पदयात्रा शून्यजस्तै रहेछ । बाटोका सानातिना होटलहरू पनि सबै बन्द रहेछन् ।
त्यहाँबाट २ घन्टा पर चोलाङ्गपाटीमा गएर बस्यो भने भोलि बिहान गोसाइँकुण्ड छिट्टै पुग्न सकिन्थ्यो अनि छिट्टै फर्कन पनि ।
मैले टर्च लाइट बालेरै भए पनि चोलाङ्पाटी जाने विचार गरें तर होटलका दाइले भने, ‘भाइ अहिले चितुवा लाग्याछ पछिल्लो हप्तामै छवटा घोडालाई आक्रमण गरिसक्यो नजानुस्, डरलाग्दो छ, अहिले एक छिनमै चितुवा कराउन थाल्छ,’ यो सुनेपछि मलाई अलि डर लाग्यो ।
मोबाइलमा ५ बजेको अलार्म राखें र त्यो रात चन्दनबारीमै बसें । बिहान ट्वाइलेट जान भनेर बाल्टीमा रहेको पानी हेरें, पानी त होइन जमेर पूरै बरफ भएको रहेछ । पानी बरफ भएपछि ट्वाइलेट पेपर प्रयोग गर्नुको विकल्प थिएन ।
बिहान ५ बजे झिसमिसेमै टर्च लाइट बालेर म हानिएँ गोसाइँकुण्डतर्फ । यति बिहानै चितुवा त के आउला र भन्ने सोचले आफैंलाई सान्त्वना दिइरहें तर आउला कि भन्ने डर मनमै थियो ।
२ घन्टामा पुगिने चोलाङ्पाटी म एक घन्टामै पुगेछु सायद चितुवाको डरले म छिट्टै हिँडेछु । चोलाङ्पाटीमा होटलमा एक कप चिया र दुनट खाएर म फेरि उकालो लागें ।
बाटो बाटोमा हिउँ थियो तर हिँड्नै गाह्रो हुने गरी भने थिएन । सूर्योदय हुने बेलामा म लौरिबिनाको उकालो चढ्दै थिएँ । सूर्योदयसँगै हिमालका मनोरम दृश्यहरू केमरामा कैद गरें । भूकम्पले गर्दा लौरिबिनाका केही होटलहरू भत्केका रहेछन् ।
भूकम्पकै प्रभावले त्यसतर्फ जाने पदयात्रुमा निकै कमी आएको छ । होटल, लजहरूको व्यापार पनि घटेको होटलका दाइले भने । लौरिबिनाको बाटोमा दुईजना इटालियन भेट भएका थे, झगडा परेजस्ता सौताजस्ता जति बेला नि परपर ।
चार घन्टाको यात्रापछि गोसाइँकुण्ड पुगें, मन एकपलमा चङ्गासरी उड्न थाल्यो । र अर्को रमाइलो गोसाइँकुण्ड दूधजस्तो सेताम्मे थियो । गोसाइँकुण्ड त अहिले जमेर बरफ भएको रहेछ, बरफको कुण्ड । मलाई जमेको तालमाथि हिँड्ने रहर एक्कासि जागेर आयो । जमेको तालको एक चक्कर लगाएँ अनि बीचमा बसेर तातो पानी र दुनट खाएँ ।
मेरो यात्राको अर्को रमाइलो के भयो भने, त्रिशूल धारामा जल थाप्न गएँ, जल त सबै जमेर बरफ भएछ । ढुङ्गाले फोरेर बरफका डल्ला बोतलमा राखें । अनि गोसाइँकुण्डलाई बाईबाई गरेर ओरालो बाटो छिट्टै झरें ।
काठमाडौं जाने बस नपाउने कारणले गर्दा त्यो दिन धुन्चेमै बास बसेर अर्को दिन बिहान काठमाडौं जाने पहिलो बस समातेर ३ दिनको दिनपछि, अर्थात् ५७ घन्टामा म घर फर्किएँ ।
‘एक्लै यात्रा गर्नु आफ्नो अन्तरआत्मा प्रतिविम्बत गराउने अवसर हो,’ थोमस जेफरसनको यो भनाइ साँच्चै नै अर्थपूर्ण छ । जीवनको भोगाइहरूसँग भागेर पन्छिन खोज्दा तिनै भोगाइको महत्त्व थाहा हुँदो रहेछ । अलिकति एक्लोपन अनि अलिकति सुन्दरतासँगको निकटताबिना खुसीको परिभाषा दिन पनि त गाह्रो ।
एक्लै यात्रा गर्नु आफैंलाई बुझ्ने मौका हो । यदि गर्नुभएको छैन भने जिन्दगीमा एकचोटि एक्लै कतै टाढाको यात्रा गर्नुस् । विश्वास गर्नुस् रमाइलो हुन्छ । आफैंले आफैंलाई बुझ्ने मौका पाउनुहुन्छ ।

Monday, November 2, 2015

कार्तिक २६ देखि २९ गतेसम्म पोखरामा ‘स्काई डाइभ’

Sky-Dive-Pokhara-6
सुन्दर प्राकृतिक दृश्यावलोकन गर्दै ‘स्काई डाइभ’को मज्जा लिन चाहानुहुन्छ ? यदि चाहानुहुन्छ भने स्काई डाइभको बुकिङ खुलेको छ, छिट्टै आफ्नो सिट सुरक्षित गर्नुहोस् ।
एक्स्पोलोर हिमालयले कार्तिक २६ देखि २९ गतेसम्म पोखरामा ‘स्काई डाइभ’ गराउने भएको छ । स्काई डाइभका लागि बुकिङ खुल्ला गरिसकेको कम्पनीका प्रबन्ध निर्देशक सुमन पाण्डेले जानकारी दिए । स्काई डाइभ गर्नका लागि एकजनाले ७५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो शुल्कमा फोटो र भिडियो उपलब्ध हुनेछ । हेलिकप्टबाट उडाउनुपर्ने हुँदा स्काई डाइभ महंगो पर्न गएको पाण्डेको भनाई छ ।
Sky-Dive-Pokhara-4
‘हामीले यस वर्ष २० जनालाई स्काई डाइभ गराउने सोँचाइमा छौं’ पाण्डेले भने- ‘अहिलेसम्म १५ जनाले बुकिङ गरिसकेका छन् ।’ उनका अनुसार अहिलेसम्म बुकिङ लिनेमा ५ जना नेपाली रहेका छन भने १० जना इन्डियन र इन्डियामा बस्ने विदेशी रहेका छन् ।
स्काई डाइभ विश्वका साहसिक मनोरञ्जनात्मक खेलहरुको सूचीमा पहिलो नम्बरमा पर्छ । एक्स्पोलोर हिमालयले सन् २०१० देखि पोखरामा वर्षको एक पटक स्काई डाइभ गराउँदै आएको छ । कम्पनीले सगरमाथामा पनि स्काई डाइभ गराउने गर्छ ।
Sky-Dive-Pokhara-5
फिस्टेल हेलिकप्टरमा १२ हजार फिट माथि लगेर स्काई डाइभ गराइने छ । स्काई डाइभमा चार मिनेटको हेलिकप्टर यात्रा हुनेछ भने ३५ देखि ४० मिनेट आकाशमा फ्रि फल हुनेछ । यो बेलामा जिन्दगीकै नौलो अनुभव हुने पाण्डेले बताए ।
पोखरामा गरिने स्काई डाइभ व्यक्तिगत नभएर त्यान्डम डाइभ हो । त्यान्डम मास्टरसँग टाँसिएर आकाशमा उड्नुपर्छ । स्काई डाइभ गरेपछि पोखराको पामेदेखि पश्चिममा पर्ने लौरुकमा झरिन्छ । स्काई डाइभ गराउन विदेशबाट प्राविधिकहरु आउनेछन् । स्काई डाइभमा युवाहरुको आकर्षण बढी देखिएको पाण्डेको भनाई छ ।
Sky-Dive-Pokhara-2
अन्य साहसिक खेलको तुलनामा स्काई डाइभ मंहगो पर्ने हुँदा सबैको पहुँच पुग्दैन् । ‘हामीले हेलिकप्टरमा राखेर उडाउनुपर्ने हुँदा महंगो पर्न गएको हो’ पाण्डेले भने- ‘विदेशमा सिंगल इञ्जिन जहाजबाट उडाउँछन्, त्यसो हुँदा त्यहाँ ४० हजारमै स्काई डाइभ गर्न पाइन्छ ।’
हेलिकप्टरबाट उडाउनुपर्ने हुँदा सिमित संख्यामा मात्र स्काई डाइभ गराउनुपरेको पाण्डेले बताए । विस्तारै नेपालमा पनि सिंगल इञ्जिन जहाजबाट स्काई डाइभ गराउने योजनामा रहेको उनको भनाई छ । यसो भएमा लागत केही कम पर्नेछ ।
विदेशमा स्काई डाइभ सस्तो भएपनि नेपालमा जस्तो मनोरञ्जन लिन नसकिने पाण्डे बताउँछन् । नेपालमा स्काई डाइभ गर्दा गगनचुम्बी सेता हिमाल, सुन्दर हरियाली डाँडा, पोखरा शहर, ताल लगायतका दृश्यावलोकन गर्न पाइन्छ ।
युवाहरुको आकर्षण बढेको हुँदा स्काई डाइभ वर्षभरी नै गराउने उद्देश्य एक्स्पोलोर हिमालयको छ । यसो गर्न सकेमा साहसिक खेलमा रुची राख्ने विश्वका धनाढ्य पर्यटकहरु भित्राउन सकिन्छ । पोखरामात्र नभएर हिमालका काठमा समेत स्काई डाइभ गर्न सकिने हुँदा यसको भविष्य निकै उज्जल रहेको छ ।