Saturday, February 13, 2016

कालिञ्चोक भगवतीको दर्शन गर्न जाँदा (फोटो कथा)

यस्तो देखियो दोलखाको सुन्दरता 

kalinchok_650
शब्द/तस्वीर- राम गोपाल तमखु
२ कात्तिक । कालिञ्चोक भगवती दोलखा जिल्लाको रमणीय एवं धार्मिक हिसाबले महत्वपूर्ण स्थानका रुपमा परिचित छ । काठमाडौंदेखि कालिञ्चोकको धार्मिक पर्यटकीय यात्रा छोटो एवं रमणीय छ ।
काठमाडौबाट चरीकोटसम्म अरनिको यातायातमा बस चढेर जान सकिन्छ । चरीकोटमा केहीबेर चियापान र आराम गरी पैदल बाटो लाग्नुपर्छ । चरीकोटबाट करीब एक घण्टाको हिँडाइपछि देउराली भञ्ज्याङ पुगिन्छ ।
देउरालीमा ३/४ वटा पसल मात्रै छन् । त्यहाँबाट माथि उक्लिएपछि कुरी नपुगेसम्म बाटोमा पसल भेटिँदैनन् । त्यहाँबाट घना जङ्गलको बाटो हिँड्नु पर्छ ।
करीब ५ घण्टाको उकालो चढेपछि बल्ल कुरी पुगिन्छ । कुरी बास बस्ने ठाउँ हो । यहाँ धेरैवटा होटलहरु खुलिसकेका छन् ।
मोटरसाइकल वा गाडी रिजर्भ गरेर पनि यहाँसम्म जान सकिन्छ । तर, बाटो निकै जोखिमपूर्ण छ । ढुंगा बिछ्याएको बाटो धेरै ठाडो छ । गाडीबाट पनि ३ घण्टा लाग्ने भएकाले यो ठाउँमा हिँडेरै जानुको बेग्लै मज्जा छ ।
kalinchok_650-1
जङ्गलको बाटोबाट देखिने हिमालले थकानको महसुस नै हुँदैन । जति माथि गयो, त्यति हिमालले बोलाइरहेको प्रतीत हुन्छ ।
कुरीमा बास बसेर बिहान ५/६ बजे कालिञ्चोक डाँडा उक्लिन सकिन्छ । घाम लागेपछि ठाडो उकालो चढ्न गाह्रो हुन्छ ।
कुरीबाट करीब ४५ मिनेट उकालो चढेपछि बल्ल स्वर्गमा पुगेजस्तो आनन्द आउँछ । कालिञ्चोक माताको आँगनमा उभिएर पूर्वदेखि पश्चिमसम्म हिमाल नै हिमालको लाइन देख्दा यहाँ पुग्ने सबैले स्वर्ग पुगेको अनुभूति गर्छन् । नहोस् पनि किन ? यस्तो रमाइलो ठाउँमा ।
करीब आधा घण्टाको बसाइपछि तल झर्दा २० मिनेमै कुरी पुगिन्छ । त्यहाँ खाना खाएर ९ बजेतिर तल झर्न सकिन्छ । बाटामा बास बस्नका लागि चौंरीगोठ जस्तै छाप्रा भेटिन्छन् ।
हिमाल हरेर तल झर्दै गर्दा करीब ३ घण्टाको हिँडाइपछि देउराली आइपुगिन्छ । देउरालीमा चिया खाएर करीब २५ मिनेटमा चरीकोट आइपुगिन्छ । त्यहाँबाट २५ मिनेटमा दोलखाको भीमसेनस्थान पुगिन्छ ।
दोलखा भीमसेनको दर्शन गरेर २ बजेको काठमाडौं जाने बस चढ्न भ्याइन्छ ।
kalinchok_960 (1)
धेरै हिँड्ने बानी नभएकाहरुका लागि काठमाडौं र्फकने बेलामा निकै थकान महसुस हुन थाल्छ । तर, कालिञ्चोक माताको आँगनदेखिने मनोरम दृश्यले त्यो थकान बिर्साउँछ ।
कालिञ्चोकमा विशेष गरी जनैपूणिर्मामा ठूलो धार्मिक मेला लाग्छ । यसबाहेक अन्य पूणिर्मामा पनि दर्शनका लागि भक्तजन कालिञ्चोक जाने गर्छन् ।
यो क्षेत्रलाई धार्मिक पर्यटनका हिसाबले प्रचार प्रसार एवं व्यवस्थि तगर्न सकिएमा दोलखालाई मात्रै नभई देशलाई नै राम्रो आर्थिक योगदान पुग्न सक्ने देखिन्छ ।
kalinchok_960 (2)kalinchok_960 (3)kalinchok_960 (4)kalinchok_960 (5)kalinchok_960 (6)kalinchok_960 (7)kalinchok_960 (8)kalinchok_960 (9)kalinchok_960 (10)kalinchok_960 (11)kalinchok_960 (12)kalinchok_960 (13)kalinchok_960 (15)kalinchok_960 (16)kalinchok_960 (17)kalinchok_960 (19)kalinchok_960 (20)kalinchok_960 (21)kalinchok_960 (22)kalinchok_960 (23)

Sunday, February 7, 2016

बादलमाथिको मन्दिर मुक्तिनाथ (फोटो फिचर)


D6.79 Muktinath Temple_
मुस्ताङको मुक्तिनाथ मन्दिर (उचार्इ ३८०० मिटर) ।
महेन्द्र भुसाल
२४ माघ, काठमाडौं । हिन्दू र बौद्ध धर्मालम्वीहरुको प्रशिद्ध तिर्थस्थल हो, मुक्तिनाथ मन्दिर । हिमाली जिल्ला मुस्ताङको काखमा रहेको मुक्तिनाथमा वर्षेनी लाखौं स्वदेशी तथा विदेशीहरु पर्यटक पुग्ने गर्छन् ।
यो मन्दिर ३८ सय मिटर उचाईमा छ । उचाईमा रहेको हुँदा यसलाई बादल माथिको मन्दिर पनि भन्ने गरिन्छ । सुन्दर प्राकृतिक दृश्वालोकन गर्दै मुक्तिनाथ पुग्दा छुट्टै विश्वमा पुगेको अभाष हुन्छ ।
मुक्तिनाथ विश्वकै प्रशिद्ध पदमार्ग ‘अन्नपूर्ण सक्रिट’मा पर्छ । त्यसैले ट्रेकिङका लागि मुक्तिनाथ उत्तम मानिन्छ । प्रकृतिमा रमाउने पर्यटकहरु ट्रेकिङ गर्दै मुक्तिनाथ पुग्ने गर्छन् । पोखराबाट हिँडेको ७ देखि १० दिनमा मुक्तिनाथ पुगेर फर्किन सकिन्छ ।
D6.74 Muktinath village_
मुक्तिनाथ गाउँको बिचमा रहेको गुम्वा ।
खासगरी मुक्तिनाथ ट्रेकिङ म्याग्दीको तातोपानीबाट सुरु हुन्छ । हामी काठमाडौंबाट सार्वजनिक बस वा आफ्नै गाडीमा पोखरा, बेनी हुँदै तातो पानीसम्म पुग्न सकिन्छ । धार्मिक हिसावले मुक्तिनाथ जानेहरु तातोपानीमा नुहाएर जाँदा उत्तम मानिन्छ ।
तातो पानीमा नुहाउन धेरै नेपाली तथा विदेशीहरु पुग्ने गर्छन् । यहाँको तातो पानीमा नुहाउँदा छाला, वाथ र ग्याष्ट्रिक निको हुने विश्वास गरिन्छ । धार्मिक हिसावले समेत यो प्रशिद्ध मानिन्छ ।
Myagdi tatopani
मुक्तिनाथ ट्रेकिङको प्रवेशद्वार मानिने म्याग्दीको तातोपानी कुण्ड । जहाँ स्वदेशी तथा विदेशी पर्यटकको नुहाउन घुइँचो लाग्ने गर्छ ।
पहिलो दिन तातो पानी पुगेर बास बस्न सकिन्छ । भोलि विहान उठेर तातो पानीमा नुहाएर घाँसा बास बस्न पुगिन्छ । घाँसा तातोपानीबाट ४/५ घण्टाको यात्रा हो । हामीले घाँसामा रात विताउनुपर्छ ।
D5.9 Ghasa village, on the way to Jomsom_
तातोपानीबाट जोमसोम जाँदै गर्दा बाटोमा पर्ने घाँसा गाउँ ।
तेस्रो दिन घाँसाबाट ६/७ घण्टा हिँडेर मार्फा गाउँ पुगिन्छ । यो अत्यन्तै सुन्दर गाउँ हो, जहाँ लोडसेडिङ पनि हुँदैन । यहाँ लोकल हाइड्रो पावरबाट विद्युत उत्पादन गरिएको छ । मार्फा नेपालकै सबैभन्दा बढी स्याउ उत्पादन हुने ठाउँ पनि हो ।
मार्फामा खान बस्नका लागि कुनै समस्या छैन । यहाँ खान बस्नका लागि सामान्य होटलदेखि स्तरीय लजहरु समेत रहेका छन् । यहाँका होटलमा अट्याच बाथरुम सहित तातो-चिसो पानी समेत पाइन्छ ।
D6.12 Marpha village_
मुस्ताङको मार्फा गाउँ ।
चौथो दिन विहान हामी मार्फाबाट हिँडेर बास बस्न कागवेनी पुगिन्छ । कागवेनी धार्मिक रुपमा महत्वपूर्ण ठाउँ हो । यहाँ दशैं अगाडि सुरु हुने सोह्र श्राद्ध गर्न जानेहरु धेरै हुन्छन् । कालिगण्डकी किनारमा रहेको कागवेनीमा स्वदेशी विदेशी पर्यटक मज्जाले रमाउन सक्छन् ।
D6.55 Kagbeni village at the bank of Kaligandaki River_
कालिगण्डकीको किनारमा रहेको कागवेनी । यो ठाउँ पितृको श्राद्वका लागि प्रशिद्ध मानिन्छ ।
पाँचौं दिन कागवेनीबाट मुक्तिनाथ मन्दिरमा पुग्न सकिन्छ । यो ५/६ घण्टाको बाटो हो । यहाँ पुग्दा छुट्टै विश्वमा पुगेको अनुभूति हुन्छ । मुक्तिनाथ अन्नपूर्ण सर्किटमा पर्छ । अन्नपूर्ण सक्रिटमा थोरङ्ला क्रस गरेपछि बस्ने ठाउँ भनेको मुक्तिनाथ मन्दिरमा हो ।
D6.81 Muktinath Natura tap_
मुक्तिनाथ मन्दिर परिसरमा रहेका १०८ धाराहरू । यहाँ नुहाएमा पुण्य कमाइने विश्वास गरिन्छ ।
यहाँ खान बस्नका लागि राम्रो सुविधा रहेको छ । तातो-चिसो पानीसहित अट्याच बाथरुम भएका लजहरु मुक्तिनाथमा रहेका छन् । मुक्तिनाथ मन्दिर चार धाममध्ये एकमा पर्छ । हिन्दू र वौद्ध धर्मको उत्कृष्ट सहिष्णुता भएको मुक्तिनाथ विश्वमै प्रशिद्ध मानिन्छ ।
छैठौं दिन हामी मुक्तिनाथबाट जोमसोम फर्किन सकिन्छ । यहाँ हामी रात विताउन पनि सकिन्छ । त्यही दिन नै जोमसोमबाट जहाज वा बसमार्फत पोखरा फर्किन पनि सकिन्छ । जोमसोम आफैमा निकै सुन्दर ठाउँ हो । जोमसोमबाट निलगिरी र धौलागिरी हिमाल मज्जाले अवलोकन गर्न पाइन्छ ।
D6.36 Mustang Town, Jomsom_
मुस्ताङको सदरमुकाम जोमसोम बजार ।
विश्वकै गहिरो खोँच कालीगण्डकीको किनारै किनार घाँसा, मार्फा कागवेनी हुँदै मुक्तिनाथ पुगिन्छ । यात्राको क्रममा हिमाली दृश्यहरु, सुन्दर गाउँहरु, रुख र घाँस नभएका पहाडहरु देख्दा मनै फुरुङ्ग हुन्छ ।
अन्नपूर्ण र धौलागिरीको बिचमा पर्ने विश्वकै गहिरो खोँचबाट हाम्रो यात्रा जारी रहन्छ । तातोपानीबाट घाँसा जाँदा बाटोमा रुप्से झरना देखा पर्छ । त्यो झरना निकै सुन्दर देखिन्छ । रुप्से झरना कालिगण्डकीमा मिसिएको ठाउँ विश्वकै गहिरो खोँचमध्येमा पर्छ ।
Mt Nilgiri, Kaligandaki river & Tatopani Market on the corner_
अन्नपूर्ण र धाैलागिरीको विचमा पर्ने विश्वकै गहिरो कालिगण्डकी खोँच । यही बाटो भएर मुक्तिनाथ गइन्छ ।
हामीसँग लामो समय भएमा यात्रा लम्बाउन सकिन्छ । पोखराबाट घोरेपानी हुँदै तातोपानी मार्फा भएर पनि मुक्तिनाथ पुग्न सकिन्छ । यो यात्राका लागि हामी पोखराबाट कास्कीको बिरेठाँटीसम्म गाडीमा जान सकिन्छ । सोही दिन त्यहाँबाट ट्रेकिङ सुरु गरेर उल्लेरी बास बस्न पुगिन्छ ।
दोस्रो दिन उल्लेरीबाट म्याग्दीको घोरेपानी गएर बास बस्न सकिन्छ । तेस्रो दिन विहान पुनहिल डाँडामा पुगी हिमाली दृश्यावलोकन गरी पुनः घोरेपानीमा आएर खान खानुपर्छ ।
D4.43 Poon Hill view Point_
म्याग्दीको पुनहिल भ्यू प्वाइन्ट । यहाँबाट निलगिरी, धाैलागिरी र अन्नपूर्ण हिमश्रृङ्खला देख्न सकिन्छ ।
सोही दिन मज्जाले हिँड्न सकियो भने एकैदिन म्याग्दीको तातोपानी पुगिन्छ । म्याग्दीको तातोपानी पुगेपछि माथि उल्लेख गरेको रुट समातेर मुक्तिनाथ पुग्न सकिन्छ । यसरी हाम्रो मक्तिनाथ यात्रा पुरा हुन्छ ।
D7.3 Rupse chara, On the way Ghasa to Tatopani_
तातोपानीबाट घाँसा जाँदै गर्दा बाटोमा पर्ने रूप्से झरना । यो झरना कालिगण्डकीमा मिसिने ठाउँ नै विश्वकै गहिरो खोँच हो ।
At Muktinath, near temple_
मुक्तिनाथ मन्दिर परिसरभित्रको बाटो ।
D5.30 Lete village & Tukuche peak_
तल्लो मुस्ताङको लेतेबाट देखिएको टुकुचे हिमाल ।
D6. 46 On the way Jomsom to Muktinath_
जोमसोमबाट मुक्तिनाथ जाने बाटोमा देखिएको कालिगण्डकी बगर ।
D6.56 view from Kagbeni village_
कागवेनीबाट देखिएको सुन्दर दृश्य ।
D6.59 view from Kagbeni village_
कागवेनीबाटै देखिएको हिमाल ।
D6.66 at Muktinath frozen ice on the tap_
मुक्तिनाथमा रहेको धारोमा जमेको बरफ ।
D6.69 At Muktinath_
मुक्तिनाथबाट देखिने सुन्दर दृश्य ।
D6.88 Local People celebrating Sonam Loshar at Muktinath village_
मुक्तिनाथ गाउँमा स्थानियहरू ।
D4.49 At Poon Hill_
म्याग्दीको पुनहिलबाट हिमाल अवलोकन गर्दै पर्यटक ।
D4.51 On the way Poon Hill to ghorepani
म्याग्दी पुनहिल भ्यू प्वाइन्टबाट घोरेपानी झर्दै गर्दाको दृश्य ।
D4.54 view of Ghorepani village and background is the Dhaulagiri_
म्याग्दीको घोरेपानी ।
D4.64 Shikha village_
म्याग्दीकै शिखा गाउँ ।
D4.69 At Ghar village, on the way to tatopani
शिखा गाउँबाट देखिएको दृश्य ।
Orange farm at Ghara village, on the way to Tatopani from Shikha_
म्याग्दीको घारा गाउँमा फलेका सुन्तलाका बोटहरू ।
तस्बिर सौजन्य: सिक्स्थसेन्स ट्राभल

Thursday, January 28, 2016

भूकम्प प्रतिरोधी मौलिक घर बनाउने जापानी प्रविधि भित्रँदै

vukampa-pratirodhi-ghar

१४ माघ, काठमाडाैं । भूकम्पको नौ महिनापछि सरकारले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठन गरेर पुनःनिर्माण तथा नवनिर्माणको काम अगाडि बढाएको छ ।
सरकारले विभिन्न प्रकारका घरका नमुनासमेत सार्वजनिक गरिरहेको छ । तर, पुनःनिर्माणको काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको बेला नागरिक तहबाट पनि सरकारलाई सहयोग गर्ने ढङ्गले नै काम भइरहेको छ ।
जापानको इहमि विश्वविद्यालयबाट ‘विपद् व्यवस्थापन’ मा विद्यावारिधि गरेका र अष्ट्रेलियाको मेलर्वन विश्वविद्यालयमा भूकम्प प्रतिरोधी घरसम्बन्धी अनुसन्धान गरिरहनुभएका काभ्रेपलान्चोक देउपुरका शङ्कर ढकाल भूकम्पबाट क्षति भएका संरचनालाई कसरी भूकम्पप्रतिरोधी बनाउन सकिन्छ भन्ने ज्ञान बाँड्दै हिँडेका छन्  ।
काभ्रेपलान्चोकको देउपुरलाई नमुना गाउँका रुपमा विकास गर्न उनको सहकर्मी डा. हिङ हो तेस्याङ लिले हङकङमा सन् २००७ मा पत्ता लगाएका रबर तथा माटोको मिश्रण र नेपालमा प्रारम्भिक अवस्थामा विकास भइरहेको इन्टरलकिङ प्रविधिलाई नेपाली मौलिकतामा अगाडि बढाउने सोच अगाडि सारेका छन् ।
विभिन्न सवारी साधनमा प्रयोग हुने टायर र रातो माटोलाई मिश्रणलाई घर तथा आवासको जगमा राख्दा त्यसले भूकम्प प्रतिरोधी क्षमताको विकास गर्न सकिन्छ भन्ने ज्ञान तथा सीपलाई डा. ढकालले देउपुरमा प्रयोग गर्न लागेका छन् ।
युएनडिपी, सहरी विकास मन्त्रालय र इन्जिनियरिङ एसोसिएसन अफ नेपालले आयोजना गरेको भूकम्प प्रतिरोधी ग्रामीण संरचना विषयको प्रदर्शनीमा ढकालको समूहले घरको नमुना तथा प्रविधिलाई धेरैले मन पराएका थिए भने बेस्ट पब्लिक च्वाइस अवार्ड पनि पाएको थियो ।
नेपाली मौलिक घरलाई सामान्य रुपमा मात्रै सुधार गर्दा पनि भूकम्प प्रतिरोधी बनाउन सकिने डा ढकालले बताए । ‘रबर र माटोलाई जगमा राख्ने र सोही मिश्रणमाथि घर तथा आवासको जग राख्नुपर्छ, परीक्षणबाट के देखिएको छ भने रबर र रातो माटोको मिश्रणले भूकम्पको धक्कालाई ६० प्रतिशतभन्दा कम गर्न सकिन्छ’- डा ढकालले भने ।
उनले भित्र्याउन लागगेकाे  प्रविधिमा माटो र बालुवा सिमेन्टको इँट्टाको गारो लगाउँदा इन्टरलकिङ गरिनेछ । अथवा हाल बजारमा पाइनेभन्दा अलि ठूलो आकारको इँट्टा बनाउने प्रविधि पनि डा ढकालले प्रयोग गर्न लागएकाे छ ।
रातो माटो, बालुवा र थोरै सिमेन्टको मिश्रणबाट इँट्टा बनाउने र त्यसमा पनि काठ वा सुधारिएको बाँस प्रयोग गरेर स्थानीय प्रविधिलाई थप परिस्कृत गर्न सकिने उनको भनाइ छ ।
नेपाली मौलिकता र नेपाली प्रविधिलाई संरक्षण गर्ने, कम लागतमा नै आगामी ६० वर्षसम्म टिक्ने घर तथा आवास निर्माण गर्न सकिने उनले उल्लेख गरे ।
भूकम्पपीडितलाई सरकारले अनुदानबापत उपलब्ध गराउन लागेको दुई लाख रूपैयाँमै घर बनाउन सकिने दाबी उनले गरेका छन् ।
काभ्रेको देउपुर, रञ्जनाकोट, दोलखाको सुन्द्रावती, गोरखाको बारपाक, धादिङको लापामा आफ्नो प्रविधि र योजनालाई प्रारम्भिक रुपमा लागू गर्न लागेको ढकालले बताए ।
‘एक तले, दुई तले दुबै किसिमले निर्माण गर्न सकिन्छ । मात्रै परम्परागत तवरमा निर्माण गरिएको भन्दा सामान्य फरक मात्रै गर्दा हुन्छ’ उनले भने ।   रासस

Friday, January 22, 2016

बिल गेट्सको नजरमा सफल हुन पढ्नै पर्ने १० पुस्तक

summer-books_2015_bill-books_800px_v1

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले सफल हुनका लागि हरेक व्यक्तीले १० पुस्तक पढ्नै पर्ने सुझाव दिएका छन् । उनले सुझाएका पुस्तक यस्ता छन् ।
१ बिजेश एडभेन्चर्स 
लेखक : जोन ब्रुक्स्
पुस्तकमा के छ : सफलताका लागि भौतारिएको मानिस सफल पनि हुनसक्छ र असफल पनि । यो पुस्तकमा यि दुबै मुद्धालाई गहिरो तवरले अथ्र्याइएको छ ।
बिल गेट्सको सुझाव : मैलेँ पढेका पुस्तकमध्ये यो बिजनेशका लागि सबैभन्दा उपयुक्त पुस्तक हो । जोन ब्रुक्स आज पनि मेरा प्रिय बिजनेश राईटर हुन् ।
२ टप डान्सिंग टू वर्क 
लेखक : क्यारोल लूमिस
किताबमा के छ : यस पुस्तकमा वारेन बफेटका सबै लेखहरु संग्रहित छन् । यसमा तपाईले बफेटको सफलताको पुरै कथा पढ्न पाउनुहुन्छ ।
बिल गेट्सको सुझाव : मेरो बुझाईमा ध्यानपूर्वक यो पुस्तक पढ्नेले दुई कुरा नोटिस गर्छन् । एक आफ्नो करियरका दौरान वारेन बफेटले कसरी आफ्नो भिजन र इन्भेस्टमेन्ट प्रिन्सिपललाई प्रयोग गरे । दोस्रो, उनीमा बजारको जर्बजस्त ज्ञान छ । यसमा बताइएको छ कि बजारलाई प्रभावमा लिन हामीले विभिन्न तिकडम लगाउनुपर्छ ।
३ लाईफ इज ब्हाट यू मेक इट 
लेखक : पीटर बफेट
किताबमा के छ : यो किताब कडा काम गर्ने एक धनी बच्चाको कथामा आधारित छ ।
बिल गेट्सको टिप्पणी : पिटरले सफलता हात पार्न आफ्ना बाबुसँग कहिल्यै पैसा लिएनन् । बरु अभिभावकसँग आफ्नो बाटो आफैँ कसरी बनाउने भन्ने सिके । म आफ्ना बच्चाहरुसँग यो किताब पढ्न चाहन्छु । तपाईले सफलता हात पार्न धनी परिवारमा जन्मनुपर्छ भन्ने छैन् ।
४ अवेकिंग जोय 
लेखक : जेम्स बराज
किताबमा के छ : तपाई सफल किन हुन चाहनुहुन्छ । सायद खुसी यसको कारण हुनसक्छ । यो पुस्तकले तपाईलाई सिकाउँछ कि सफलताको यात्रा कसरी आनन्ददायक छ ।
बिल गेट्सको टिप्पणी : खुसी कोही भाग्यशालीका लागि मात्रै होइन । सबैलाई यसको अधिकार छ । यस पुस्तकमा जेम्स बराजले तपाईलाई रमाइलो बाटो चुन्न मद्धत गर्छन् ।
५ ब्हेयर गुड आइडियाज कम फ्रम 
लेखक : स्टीवन जोनसन
किताबमा के छ : सफल हुनका लागि आविस्कार जरुरी छ । यो पुस्तकमा बताइएको छ कि सफलताका लागि आविस्कारको बाटो कसरी तयार गरिन्छ ।
बिल गेट्सको टिप्पणी : यो पुस्तक विजनेश वा शैक्षिक क्षेत्रमा लागेकाहरुका लागि हो । यसले अन्तर्राष्टिय संरचनाका विषयमा बोल्छ । जहाँबाट नयाँ आइडिया निस्कन्छ ।
६ मूनवाकिंग विथ आईनिस्टाइन 
लेखक : जोशुआ फोयर
किताबमा के छ : यदी तपाई भुलक्कड वा लापरवाह हुनुहुन्छ भने सफल हुन सक्नुहुन्छ । यो पुस्तकले तपाईलाई आवश्यक तथा जरुरी फ्याक्टरका विषयमा याद दिलाउँछ ।
बिल गेट्सको टिप्पणी : अन्य मानिसजस्तै म पनि यो कुरामा आकर्षित छु कि दिमागले कसरी काम गर्छ र यि कुराहरुलाई कसरी याद गर्नुपर्छ । यो पुस्तकले निकै सरल ढंगबाट सम्झाउँछ कि स्मरण र बुझाईमा कुनै फरक छैन् । दुबै एक हुन् ।
७ लिमिटेड लर्निग अन कलेज क्याम्पसेज 
लेखक : रिचार्ड अरुम र जोसिपा रोक्सा
किताबमा के छ : यो पुस्तकले सफल हुन तपाईलाई दुई कुरा सिकाउँछ । पहिलो यो कि तपाई कलेजको शिक्षालाई दिमागमा राखेर वास्तविक संसार सिक्न तयार हुनुहोस् । दोस्रो, यदी तपाई शिक्षक हुनुहुन्छ भने तपाईलाई सफल प्रयोगको ज्यादा आवश्यकता छ ।
बिल गेट्सको टिप्पणी : यस विषयलाई लिएर आशावादी छु कि आविस्कारमा त्यो संभावना छ जसले थुप्रै समस्या समाधान गर्न हाम्रो सहयोग गर्छ । तर हामीलाई धेरै जानकारीको जरुरी छ ।
८. हाउ अमेरिका फेलल बिहान्ड इन द वल्र्ड इट इन्भेन्टेड एन्ड हाउ वी क्यान कम ब्याक 
लेखक : थोमस एल फ्रेडम्यान र मिशैल म्यान्डेलबाउम
किताबमा के छ : यो किताब अमेरिकाको परिवेशमा लेखिएको छ । तर यसले सामान्य मानिसलाई धेरै सिकाउँछ । हामीले प्राय अरुलाई आफूजस्तै बन्न प्रेरणा भर्छौ । अब पालो आएको छ कि हामी आफै अरुबाट प्रेरित भएर अगाडी सोचौँ र आफ्नो लागि बाटो पहिल्यायौँ ।
बिल गेट्सको टिप्पणी : यो एक उम्दो पुस्तक हो । म यो पुस्तक पढ्न मानिसहरुलाई सुझाव दिन्छु ।
९ डेंग श्याओपिंग
लेखक : एज्रे एफ भोगल
किताबमा क छ : सफल हुनुको अर्थ हो गाह्रो परिस्थितीलाई सहज रुपमा बदल्नु । डेंग श्याओपिंगले दुनियाँकै सबैभन्दा धेरै जनसंख्या रहेको देशमा यही गरे । श्याओपिंग शक्तीमा आउनुअघि चीन गरिब देश थियो । किताबमा बताईएको छ कि शक्तीमा आएपछि श्याओपिंगले चीनको व्यवसायलाई कसरी अगाडी बढाए ।
बिल गेट्सको टिप्पणी : १९७९ मा चीन दुनियाँकै गरिब देशमध्ये एक थियो । भारतभन्दा पनि धेरै गरिब । यस देशको जनसंख्या यति धेरै थियो कि सबैलाई पेट भर्न समेत मुस्किल थियो । देशमा सांस्कृतिक स्थिरता र आर्थिक समून्नती ल्याउन श्याओपिंगले थुप्रै काम गरे । यो दुनियाँकै इतिहासमा एउटा नयाँ प्रयोग हो । यो प्रयोग बुझ्न पुस्तक पढ्नु जरुरी छ ।
१० द मस्ट पावरफुल आइडिया इन द वल्र्ड 
लेखक : विलियम रेप्सेन
किताबमा के छ : सूरुआतमा पढ्नेलाई यो पुस्तक रेल रोड र इन्जिनका विषयमा मात्रै आधारित छ भन्ने लाग्छ । जबकी पुस्तकको मुख्य उद्धेश्य मेसिन कसरी सफल भयो भन्ने बताउनु हो । रेल रोडमा यस्तो कुन आइडिया थियो , जसले दुनियाँ बदल्यो ।
बिल गेट्सको टिप्पणी : रेप्सेनको नजर र मेरो नजर प्राय मिल्छ । तपाईको कामलाई थप परिस्कुत बनाउन शक्तीको प्रयोग गर्न सकिन्छ । यदी तपाई आफ्नो लागि लक्ष्य तय गर्नुहुन्छ र यस बाटोमा हिड्नुहुन्छ अनि आफ्नो सुधारको मापन गर्नुहुन्छ भने तपाई आवश्य सफल बन्नुहुन्छ ।