यो लेखमा सुरुङ खन्ने प्रविधिको चर्चा गर्दै तुलनात्मक रुपमा नौलो र अत्यन्तै प्रभावकारी एक प्रविधि टनेल बोरिङ मेशीन (टिबिएम) को नेपालमा संभावना र आवश्यकताबारे चर्चा गरिन्छ।
सुरुङको प्रयोग बाटो, रेलमार्ग, जलबिद्युत्, खानेपानी, ढलनिकास आदि संरचनाहरुमा गरिन्छ। नेपालमा जलबिद्युत्, सडक र खानेपानीको क्षेत्रमा सुरुङको प्रचुर संभावना छ र यसबारे प्रशस्त चर्चा पनि हुदैं आएको छ। तर नेपालमा सुरुङ निर्माणले भने खासै गति लिन सकेको छैन। हाल विद्यमान सुरुङहरुमा करिब १३ किलोमिटरको खिम्ती जलविद्युत्को सुरुङ सबैभन्दा लामो सुरुङ हो। अन्य सुरुङहरुमा करिब ५-७ किलोमिटर लामा कालीगण्डकी र मर्स्याङ्दी परियोजनाका सुरुङ र २-४ किलोमिटर लामा अन्य जलबिद्युत् परियोजनाका सुरुङहरु हुन्।
सुरुङ निर्माण एक जटिल प्रक्रिया हो। हालसम्म नेपालमा प्रयोगमा आएको तरीकालाई ड्रिल एण्ड ब्लास्ट तरीका भनिन्छ जसमा पहिले चट्टानमा ड्रिलिङ गरेर प्वाल पारिन्छ, अनि प्वालमा डाइनामाइट वा त्यस्तै किसिमको विष्फोटक पदार्थ भरेर बिष्फोट गराइन्छ। बिष्फोट गर्ने बेलामा सुरुङभित्र साह्रै खतरा हुने हुदाँ कामदारहरू बाहिरै अथवा लुक्ने कक्षमा निस्कनु पर्छ। विष्फोट भइसकेपछि सुरुङ केही समयसम्म धूवाँ र धूलोमय हुने हुदाँ काम गर्न निकै कठिन हुन्छ। बाहिरबाट हावा पम्प गरी भित्र पठाएर काम गर्न मिल्ने वातावरण बनाउनु पर्छ। त्यसपछि सानो आकारको सुरुङ हो भने हाते गाडा र ठूलो हो भने ट्रकको माध्यमबाट भित्र थुप्रिएको माटो, ढुङ्गाहरूलाई बाहिर निकालिन्छ। अनि भौगर्भिक अवस्था, चट्टानको क्षमता, पानीको चुहावट, फुटाइको अवस्था तथा सुरुङको प्रयोजनसमेतलाई विचार गर्दै आवश्यकता अनुरुप चट्टाने-कीला (रक बोल्ट), कंक्रिट, डण्डी तथा स्टिल संरचनाहरू राखी खनेको सतह सुरक्षित र मजबुत पारिन्छ। त्यसपछि पुरानै ड्रिलिङ, विष्फोटन र माटो, ढुङ्गा हटाउने प्रक्रियाको चक्र दोहोर्याइन्छ। यस्तो एक चक्रलाई करिब ८ घण्टाको समय लाग्दछ र भौगर्भिक अवस्था राम्रो भएको खण्डमा एक चक्रमा करिब १।५ देखि २ मिटरसम्म मात्र अगाडि बढ्न सम्भव हुन्छ। चौबिसै घण्टा काम गर्ने हो भने दिनमा यस्तो चक्र तीनपटक गर्न सकिन्छ। यसरी सुरुङ खन्ने दर औसतमा प्रतिदिन करिब ३-५ मिटर, प्रतिमहिना करिब १००-१५० मिटर भई १ किलोमिटरलाई करिब ७ देखि १० महिना लाग्ने हुन्छ, त्यो पनि भौगर्भिक अवस्थाले पुरापुर साथ दिएमा। त्यति मात्र होइन। सुरुङको बिष्फोटन, ढुङ्गा खस्ने खतरा, अक्सिजनको अभाव, अकल्पनीय परिस्थितिसितको जम्काभेट आदिले गर्दा सुरुङ खन्ने काम अत्यन्त जोखिमपूर्ण र चुनौतीले भरिएको छ। भित्र आउने अनपेक्षित अवस्थाले गर्दा कहिलेकाहीँ इष्टिमेट गरेको भन्दा वास्तविक लागत १० गुणासम्म पनि बढ्न सक्छ। अझ, बिष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएकोले सुरुङको काम सुरक्षाका दृष्टिले संवेदनशील काम हो र नेपाली सेनाको प्रत्यक्ष निगरानीमा मात्रै बिष्फोटन गर्नुपर्ने प्रचनन छ। यी र यस्तै समस्या एवम् चुनौतीहरूले गर्दा सुरुङको काम जलविद्युत्, खानेपानीजस्ता सुरुङयुक्त परियोजनाहरूमा अत्यन्तै गाह्रो पाटो मानिन्छ। त्यसमाथि मेलम्ची खानेपानी आयोजनाको जस्तो करिब २७ किलोमिटर लामो सुरुङ निर्माण गर्नु अवश्यै पनि ठूलो चुनौती, खर्च र समयको कुरा हो। यसको निर्माणको लागि कुशल योजना र व्यवस्थापनको पनि उत्तिकै जरुरत पर्छ।
माथि उल्लिखित सुरुङ खन्ने प्रविधिको प्रयोग ब्यापक रूपमा भएपनि विकसित र विकासोन्मुख देशहरूको द्रुत विकासको चाहनालाई सम्बोधन गर्न यो प्रविधि पर्याप्त हुन सकेन। फळत: सुरुङ खन्ने नयाँ प्रविधिको रुपमा टनेल बोरिङ मेशीन, टिबिएम, को आविष्कार भयो। यो मेशीनको प्रयोग पश्चात् सुरुङ निर्माणमा क्रान्ति नै आयो भन्दा अतिशयोक्ति हुनेछैन। टिबिएमको प्रयोगले सुरुङ खन्ने दरमा चमत्कारिक प्रगति ल्यायो। प्रतिमहिना ५०० मिटरको दरमा सुरुङ खन्नु सामान्य कुरो हुन गयो।साथै यो मेशीनलाई बिष्फोटनको पनि आवश्यकता नपर्ने र चट्टान चर्केर झर्ने संभावना पनि कम हुनेहुदाँ सुरक्षाका दृष्टिले पनि यो तरिका सुरुङ निर्माणको उत्तम विकल्प हो। विष्फोट गर्नु नपर्ने हुदाँ हल्ला हुने, कम्पन हुने जस्ता समस्याबाट पनि मुक्ति मिल्ने हुन्छ।
यो तरीकाका केही बेफाइदा र चुनौतीहरू पनि छन्। पहिलो कुरा त टिबिएम एक विशाल मेशीन हो। यसको मतलब यो मेशीनलाई शुरुमै धेरै लगानी चाहिन्छ। अनि यसको लम्बाई र तौल यति धेरै हुन्छ कि नेपालका पहाडी बाटोहरू यसको ढुवानीका हिसाबले साँघुरा हुने र पुलहरूको क्षमताले नभ्याउने हुन सक्छ। यसको अर्को समस्या भनेको कथंकदाचित् अनपेक्षित भौगर्भिक अवस्थाले गर्दा मेशीन नै भित्र अड्क्यो भने ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्छ। स्मरणीय छ, नेपालको भौगर्भिक अवस्थालाई भुगर्भविद्हरू अपेक्षाकृत जटिल भनी वर्गीकरण गर्दछन्। अर्को समस्या भनेको यो मेशीन एउटा आकारको सुरुङलाई डिजाइन गरिने हुदाँ एउटै मेशीनले मन लागेजत्रो आकारका विभिन्न सुरुङहरू खन्न अनुकुल हुँदैन।
माथि भनिएझैं चुनौतीहरू भएतापनि नेपालमा टिबिएमको संभावना प्रशस्तै छ र यसको प्रयोगले सुरुङ निर्माणमा क्रान्ति नै ल्याउन सक्ने देखिन्छ। शुरूको धेरै लगानी चुनौती हो तर व्यवधान कदापि होइन। यो एउटा मेशीन धेरै सुरुङ खन्न प्रयोग गर्ने सकिने हुँदा पुनर्प्रयोगको प्रशस्त संभावना हुन्छ। विश्व बजारमा थुप्रै सेकेण्ड हेण्ड टिबिएम हरू नयाँको अपेक्षा अति न्यून मूल्यमा किन्न पाइन्छ। फेरि एकपटक किनेपछि धेरै सुरुङमा हिसाब बाँड्ने हो भने मेशीन त्यति महँगो प्रतीत नहुने हुन्छ। जलविद्युत्को विकासलाई उच्च प्राथमिकतामा राखेको सरकारले यो मेशीनको खरीदमा आवश्यक पूँजी तथा सहुलियत उपलब्ध गराउने गरी यसको प्रवर्धन गर्नु पनि एक उपयुक्त तरीका हुनसक्छ। सार्वजनिक-निजी साझेदारी गरेर पनि यो मेशीनको आयात गर्ने संभावना हुनसक्छ। १००-१५० मेगावाटका परियोजनाहरूको कुल लागतलाई हेर्ने हो भने यो मेशीनको अंश न्यून मात्रै हुन जान्छ। पंक्तिकारहरूले हालै गरेको एक प्रारम्भिक तुलनात्मक अध्ययनले के देखाउँछ भने करिव १० किलोमिटर लामो सुरुङ खन्नलाई नेपालका थुप्रै जलविद्युत् परियोजनाहरूलाई टिबिएमको प्रयोग परम्परागत तरीकाभन्दा सस्तो पर्न जान सक्छ। अझ द्रूत गतिमा सुरुङ खन्नुपर्ने र द्रूत गतिमा विकास गर्ने हो भने टिबिएमको प्रयोग वान्छनीय हुन जान सक्छ।
मेलम्ची परियोजनामा मुख्य सुरुङ मात्रै २६-२७ किलोमिटर हाराहारी छ र प्रवेश सुरुङहरू मात्रै १ किलोमिटर हाराहारी छन्। हाल निर्माणाधीन यो सुरुङमा पङ्क्तिकारको जानकारीमा भएअनुसार सुरुङ खन्ने चर्चा धेरै भएतापनि हालसम्म १ किलोमिटर पनि खनीसकिएको छैन। यही गतिमा त्यति लामो सुरुङ खन्नु पक्कै दिक्क लाग्दो लामो प्रतीक्षाको विषय हो।
जानकारीमा भएअनुसार मेलम्चीको सुरुङक्षेत्रको भौगर्भिक अवस्था तुलनात्मक हिसाबले अत्यन्तै राम्रो छ जुन टिबिएमको अनुकुल हुन्छ। यो लेखको आशय हुँदै गरेको काममा बीचमा बखेडा हालौं भन्न खोजिएको भने कदापि होइन। तर राष्ट्रिय महत्त्व बोक्ने यो परियोजनामा यदि सुरुङ खन्ने कार्यमै कठिनाई तथा विवाद भई आयोजना निर्माणमै अन्योलको अवस्था सिर्जना आउन लाग्यो भने विकल्पहरू खुला छन् भन्ने आभाष दिन भने अवश्य खोजिएको हो।
हालैमात्र हेटौंडा-काठमाडौं सुरुङमार्गको चर्चा पुन: उठेको छ र निजी क्षेत्रले खन्ने तदारुकता देखाएको खबर मिडियामा छाएको छ। त्यो मार्गको सुरुङ पनि लामो छ जुन परम्परागत ड्रिल ब्लाष्ट तरीकाबाट खनियो भने धेरै समय लाग्ने अनुमान गर्न सकिन्छ। यो सुरुङको लागि टिबिएम उपयुक्त छनोट हुनसक्ने भएकोले टिबिएमको प्रयोगबारे सम्बन्धित पक्षले मनन र अध्ययन गर्नु लाभदायक हुन सक्छ। द्रूतमार्ग निर्माण, रेलमार्ग निर्माण, बहुप्रतिक्षित जलविद्युत् निर्माण आदिमा टिबिएमको प्रयोग वरदान सावित हुनसक्छ। टिबिएमको नेपालमा प्रवेश गराउनेबारे बेलैमा यथेष्ट बहस, अध्ययन र चिन्तन हुनु जरुरी छ। पङ्क्तिकारलाई लाग्दछ कि नेपालमा टिबिएम भित्र्याउन सरकार, ब्यापारी, ठेकेदार र हामी सबै अग्रसर हुनुपर्छ।
(थुप्रै नेपाली पत्रिकामा प्रकाशनको असफल प्रयासपछि न्यून पाठक हुने यो ब्लगमा भएपनि प्रकाशन गरेको हो। लेख नै तुकविहीन हो भने त केही छैन, नत्र यो हाम्रो दुरावस्था हो।)
No comments:
Post a Comment