Wednesday, June 26, 2013

ईन्जिनियरिङ विद्यार्थीले बनाए विद्युतीय रिक्सा



यहाँका एक  ईन्जिनियरिङ विद्यार्थीले वातावरणमैत्री विद्युतीय रिक्सा बनाएका छन् । मेकानिकल ईन्जिनियरिङ अध्ययनरत बेल्वा ७ का २८ वर्षीय रवि न्यौपानेले यस्तो रिक्सा बनाएर यस क्षेत्रमै नाम कमाएका छन् ।
तीन पांग्रे यो रिक्सा वीरगन्ज क्षेत्रमा लोकप्रिय भएको छ । धरानस्थित तीनकुने इन्जिनियरिङ कलेजमा डिप्लोमा गरी रहेका न्यौपानेले ६ महिना यता वीरगञ्जमा ग्रीन इनर्जी नेपाल नामक पसल चलाएर धमाधम रिक्सा बनाइरहेका छन् । मुलुकमै पहिलो पटक यस्तो खाले रिक्सा तयार पारिएको उनको दाबी छ ।
व्याट्री, मोटर, तीन चक्का, कन्ट्रोलर, फलाम लगायतका वस्तु प्रयोग गरी तयार पारिएको रिक्साले धूँवा नदिने र चालकले खुट्टा चलाएर मेहनत समेत गर्नु पर्दैन । प्रति घण्टा २५ देखि ३० किलोमिटर सम्म गुड्न सक्ने तीन चक्के रिक्सामा एक पटकमा आधा दर्जन सम्म यात्रु बस्न सक्छन् । ६ फिट लामो र करीब पाँच फिट अग्लो यो रिक्सा ब्याट्री बाहेक करिव एक क्विन्टल भारी छ । सामान्य रिक्सा चालकले पनि यो चलाउन सक्छन् ।
न्यौपानेले अर्डर दिए बमोजिम स्थानीय अधिकारी एग्रो इन्जिनियरिङ वर्क शपले रिक्सा बनाइरहेको छ । हाल सम्म यात्रु बोक्ने र मालबाहक समेत गरी आधा दर्जन रिक्सा उनले बिक्री गरी सकेका छन् । 'पहिले साधारण रिक्सामा परीक्षण गरी हेरेँ, सफल भएपछि आफैँले रिक्सा तयार पारेको हुँ,' न्यौपाने भन्छन्', रिक्सा चलाउन ६५ एम्पियर ४८ भोल्टको चार वटा व्याट्री रिक्साको सिट मुनी राखिएको छ, जसले यो रिक्सालाई एक दिनमा एक सय २० किलोमिटर सम्म तान्न सक्छ ।' हलुका र जोखिमरहित यो रिक्सा हालसम्म दुर्घट्नामा नपरेकाले सुरक्षित समेत रहेको उनी दाबी गर्छन् ।
यात्रुबाहक रिक्साको मूल्य १ लाख ५० हजार र मालबाहक रिक्साको मूल्य १ लाख १० हजार निर्धारण गरेका छन् । दिन भरी रिक्सा चलाएर राति व्याट्रीलाई चार्ज गर्न सकिने र यसमा तीन देखि चार युनिट बिजुली अर्थात अधिकतम ४० रुपैयाँ खर्च हुन्छ । तर एउटा रिक्साले एक दिनमा यात्रु बोकेर हाल एक हजार रुपैयाँ सम्म कमाइरहेको छ ।
आफूले बनाएका मध्ये एउटा रिक्सा न्यौपानेले परीक्षण र यसमा थप विकासका लागि स्थानीय रिक्सा चालक प्रेम लामालाई ठेक्कामा चलाउन दिएका छन् । लामाले न्यौपानेलाई दैनिक दुई सय रुपैया दिने गरेको र बाकी आफ्नो आम्दानी हुने गरेको बताए । यो रिक्सा हलुका र चलाउन पनि सहज रहेको लामा बताउछन् ।
परम्परागत शैलीको रिक्सा भन्दा यो रिक्सा चलाउन सहज, बढि कमाई र परिश्रम समेत नपर्ने भएकाले नेपालका सडकहरुमा यो अत्यन्त उपयोगी रहेको उनले बताए ।
वैज्ञानिक न्यौपानेको अर्डरमा रिक्सा बनाई रहेका अधिकारी एग्रो इन्जिनियरिङका व्यवस्थापक दिवाकर शर्मा रिक्सामा सबै चिनियाँ सामान प्रयोग गरिएको बताउँछन् । एउटा रिक्सा बनाउन चार मजदुरले पाँचदेखि छ दिन लगाउने र करीब आठ हजार रुपैयाँ मजदुर खर्च लाग्ने उनले बताए ।
आफूलाई न्यौपानेको परिकल्पना र आविष्कार अत्यन्त मौलिक लागेको र यसलाई अझ विकसित र परिष्कृत गर्न सके बहुउपयोगी हुन सक्ने उनले बताए ।
यता न्यौपाने भविष्यमा अपांगले चढने यस्तै खाले हि्वल चियर बनाउने आफ्नो लक्ष्य रहेको बताउँछन् ।

प्रकाशित मिति: २०७० असार १२ ०८:४२
source: ekantipur

No comments:

Post a Comment