Tuesday, June 11, 2013

एसएलसीको नतिजा कहाँ हेर्ने ? पत्रिका हैन अब डिजिटल सुविधा

२८ जेठ, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरे लगत्तै परीक्षार्थी, अभिभावक र शिक्षकको ध्यान कम्प्युटर र मोबाइलमा केन्दि्रत भएको छ । केही वर्षअघिसम्म परीक्षाफल थाहा पाउन गोरखापत्रको भर पर्नुपर्ने बाध्यता थियो । गोरखापत्र बाहेक अन्यत्रबाट परीक्षाफल थाहा पाउन नसकिने भएकाले कतिपय ठाउँमा त नतिजा सार्वजनिक भएको दुई तीन दिनपछि मात्र परिणाम थाहा हुन्थ्यो । नतिजा सार्वजनिक भएको रात र भोलिपल्ट दिनभर गोरखापत्र संस्थापनमा पत्रिका किन्नेको भीड लाग्थ्यो । भीड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज नै गर्नुपथ्र्यो ।
तर नयाँ प्रविधिसँगै यो बाध्यता हटेको छ । केही वर्षदेखि नै एसएलसीको नतिजा इन्टरनेट र एसएमएसबाट थाहा पाउन सकिने व्यवस्था शुरु भैसकेको छ । यसपाली त झन् परीक्षा नियन्त्रण कार्यालयले पत्रिकामा समेत नतिजा प्रकाशित नगर्ने भएको छ । कसैले सित्तैंमा छापेमा दिने, तर शुल्क तिरेर पत्रिकामा नतिजा नछाप्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
नतिजा यहाँबाट थाहा हुन्छ
परीक्षाको नतिजा अनलाइनखबर डटकममा हेर्न सक्नुहुनेछ भने परीक्षा नियन्त्रणा कार्यालयले पनि तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले अघिल्ला वर्षहरुजस्तै यसपाली पनि आफ्नो, नेपाल टेलिकमको र अरु बिभिन्न निजी संघसंस्थाको वेवसाइट मार्फत एसएलसीको नतिजा थाहा पाउन सकिने व्यवस्था मिलाएको छ । नतिजा सार्वजनिक भए लगत्तै शिक्षा मन्त्रालयको www.moe.gov.np , शिक्षा विभागको www.doe.gov.np , परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np , नेपाल टेलिकमको slc.ntc.net.np बाट हेर्न सकिनेछ ।
यस्तै नेपाल टेलिकमको १४००, बिभिन्न संघसंस्थाको ५००१, २७२२, ५५६६, २३३३, ४९४९ र ५२२५ मा एसएमस गरेर पनि नतिजा थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
नतिजा सजिलै थाहा पाउन सकिने वेवसाइट र एसएमस सेवा भएपनि विगतका वर्षहरुमा समयमै साइटमा नराख्ने र हृयांग हुने समस्या थियो ।

No comments:

Post a Comment