Wednesday, July 17, 2013

सुरुङ मार्ग



काठमाडौँबाट हेटौडा जान मुग्लिङ हुँदै जाँदा २२६ किलोमिटर यात्रा छिचोल्न सात-आठ घण्टा लाग्छ। त्रिभुवन राजपथको घुमाउरो बाटोमा जाने हो भने १३३ किलोमिटर लाग्छ। यो सुरुङ बाटो मात्र ५० किलोमिटरको हुनेछ। अझ द्रुत गतिको सवारी साधन चल्ने हुनाले हेटौडाबाट काठमाडौँ आइपुग्न समय पनि एक घण्टा मात्रै लाग्नेछ। धेरै समयदेखि त्यही भएर यो सुरुङ मार्ग चर्चामा छ।
नेपाल पूर्वाधार विकास कम्पनीले यो सुरुङ मार्ग बनाउने अनुमति सरकारबाट पाइसकेको छ। तर यसका लागि उसलाई आवश्यक झण्डै ३५ अर्ब रुपियाँको जोहो कसरी हुने हो ? 
रकम कै विषयलाई लिएर सरकारले सुरुमा कम्पनीलाई अनुमति दिन आनाकानी गरेको थियो। कम्पनीले विश्वास दिलाएपछि बल्ल सरकारले अनुमति दिएको थियो।
काठमाडौँ–कुलेखानी–हेटौंडा–सुरुङमार्ग परियोजना रु ३४ अर्ब ८७ करोडको लागतमा (अनुमानित) निर्माण हुनेछ। निर्माण प्रारम्भ गरिएको मितिले चार वर्षभित्र सम्पन्न गरी ३० वर्षसम्म सञ्चालन गर्ने जिम्मेवारी कम्पनीले पाएको छ। ३० वर्षसम्म त्यो बाटो प्रयोग गर्ने सवारी साधनबाट कम्पनीले निश्चित शुल्क उठाउन पाउनेछ। त्यसैबाट उसले लगानी उठाउनेछ।
तर त्यो ३५ अर्ब आउँछ कहाँबाट ? यो कम्पनीमा कम्पनीमा १७ गाविस, ८६ स्थानीय र ७६ उद्योगी व्यवसायीहरू संस्थापक शेयर सदस्य छन्। तर उनीहरुले मात्रै ३५ अर्ब जुटाउन संभव छैन।

एनआरएन भन्नुभएको ? हो, एनआरएनले पनि पैसा हाल्ने भएका छन्। तर झण्डै एक अर्बमात्र।
हालै कम्पनीका अध्यक्ष कुशकुमार जोशीले जर्मनी, स्विट्जरल्यान्ड, बेलायत तथा बेल्जियममा रहेका एनआरएनका सदस्यसँग अन्तर्क्रिया गरेका थिए। त्यतिबेला चार देशका एनआरएनबाट रु ९६ करोडबराबरको लगानी गर्ने प्रतिबद्धता प्राप्त भएको र सो रकम तत्कालै आउने प्रक्रियामा रहेको बताइएको छ।
अमेरिकाका एनआरएनहरुले नि ?
अमेरिकामा बसोवास गर्ने नेपालीको सङ्गठन एएनएको आयोजनामा हुने कार्यक्रममा विकास कम्पनीका तर्फबाट सहभागिता जनाएर लगानीका लागि आह्वान गर्ने रे। हेरौँ अम्रिकाने नेपालीहरुले कति लगानी गर्ने हुन्।
अझै अर्बौँ रकम जुटाउन बाँकी छ। कहाँबाट जुट्‌ला त यत्रो रकम ?
विभिन्न उपाय जारी छ। आज मात्रै विकास कम्पनी, प्रभु फाइनान्स कम्पनी तथा प्रभु ग्रुपबीच लगानी सम्झौता गरियो।
परियोजनामा प्रभु फाइनान्सले विकास कम्पनी लिमिटेडको संस्थापक सेयरमा लगानी गर्ने तथा कम्पनीको आर्थिक सङ्कलनमा समेत भूमिका निर्वाह गर्नेछ। फाइनान्सले परियोजनामा लगानी गर्न चाहने आफ्ना सम्पूर्ण ग्राहकलाई ऋणसमेत उपलब्ध गराउने जनाइएको छ।

No comments:

Post a Comment