Friday, January 22, 2016

‘बरफ कुण्ड’

माघ ९, २०७२- जोन क्राकाउरको कृतिमा आधारित ‘इन्टु द वाइल्ड’ चलचित्रको धेरै घटना र संवादले मलाई छोएको छ । कहिलेकाही एलेक्जेन्डर सुपरट्राम्पले जस्तै म पनि आफूभित्र एउटा यस्तो ऊर्जा भेट्छु, जुन यति ठूलो हुन्छ कि त्यसको निकास देख्न गाह्रो हुन्छ ।
यात्रा गर्न मन थियो, एक्लै कतै टाढा, प्रकृतिको मनोरम दृश्य नियाल्दै । सम्हालिँदा सम्हालिँदै पनि पाइलाहरू लालायित हुँदारहेछन् सपनाहरूप्रति ।
स्थिरताबाट दिक्क भएर चलायमान हुन खोज्दा मैले सम्झिएँ ‘अहिले गोसाइँकुण्ड पूरै जमेको होला !’ यत्ति एउटा सोच थियो बस् अनि ३ दिनको छुट्टी । प्रकृतिको आड लिएर गोसाइँकुण्डतर्फको यात्रामा म होमिएँ ।
धुन्चेको लोकल बस चढेर गोसाइँकुण्डतर्फ जानु यति सजिलो कहाँ थियो र ? माघे संक्रान्तिको दिन सबैलाई आफ्नो घर जानुपर्ने अनि गाडी थोरै । ढोकाकै छेउ एक नम्बरमा मेरो सिट थियो ।
अरू बेला आफ्नोभन्दा अरूलाई सुबिस्ता होस् भन्ने सोच्ने मान्छे पनि लामो यात्रामा हिँडेको बेला आफ्नैबारेमा सोच्दो रहेछ । यो प्रवृत्तिबाट म पनि अछूतो रहन सकिनँ ।
बालबच्चा बोकेका आमा दिदीलाई भावुक भएर सिट छाडिदिन सकिनँ । यद्यपि बालबालिकालाई काखमा लिने र रोए भने चकलेट दिएर फकाउने मेरो ६ घन्टाको यात्राको रमाइलो पक्ष थियो ।
२ बजे धुन्चे पुगेर १ बोतल पानी, ६ वटा दुनट, २ प्याकेट ग्लुकोज र दुइटा चाउचाउ झोलामा कोचेर म उकालो लागें । बाटोभर भेट भएकाहरूले केहीले सोधे, ‘कता हिँड्नुभएको ?’ ‘गोसाइँकुण्ड’ म हाँस्दै जवाफ फर्काउँथे ।
केहीको मुहारमा भने विस्मयाधिबोधक चिन्ह साफ झल्कन्थ्यो किनकि मान्छेहरू जाडोले माथि बस्न नसकेर तल झरेका थिए तर म भने गोसाइँकुण्डको बाटो लाग्दै थिए ।
अलिकति परसम्म त एक दुईजना मानिस देखिए तर अलि उकालो लागेपछि त चराचुरुङ्गी लङ्गुर, बाँदर, जरायो, मृगजस्ता जनावर नै मेरो यात्राका साक्षी बने ।
४ घन्टाको पैदलयात्रापश्चात् चन्दनबारी टेकेपछि बल्ल मान्छेको अनुहार देखियो । अहिले गोसाइँकुण्डको पदयात्रा शून्यजस्तै रहेछ । बाटोका सानातिना होटलहरू पनि सबै बन्द रहेछन् ।
त्यहाँबाट २ घन्टा पर चोलाङ्गपाटीमा गएर बस्यो भने भोलि बिहान गोसाइँकुण्ड छिट्टै पुग्न सकिन्थ्यो अनि छिट्टै फर्कन पनि ।
मैले टर्च लाइट बालेरै भए पनि चोलाङ्पाटी जाने विचार गरें तर होटलका दाइले भने, ‘भाइ अहिले चितुवा लाग्याछ पछिल्लो हप्तामै छवटा घोडालाई आक्रमण गरिसक्यो नजानुस्, डरलाग्दो छ, अहिले एक छिनमै चितुवा कराउन थाल्छ,’ यो सुनेपछि मलाई अलि डर लाग्यो ।
मोबाइलमा ५ बजेको अलार्म राखें र त्यो रात चन्दनबारीमै बसें । बिहान ट्वाइलेट जान भनेर बाल्टीमा रहेको पानी हेरें, पानी त होइन जमेर पूरै बरफ भएको रहेछ । पानी बरफ भएपछि ट्वाइलेट पेपर प्रयोग गर्नुको विकल्प थिएन ।
बिहान ५ बजे झिसमिसेमै टर्च लाइट बालेर म हानिएँ गोसाइँकुण्डतर्फ । यति बिहानै चितुवा त के आउला र भन्ने सोचले आफैंलाई सान्त्वना दिइरहें तर आउला कि भन्ने डर मनमै थियो ।
२ घन्टामा पुगिने चोलाङ्पाटी म एक घन्टामै पुगेछु सायद चितुवाको डरले म छिट्टै हिँडेछु । चोलाङ्पाटीमा होटलमा एक कप चिया र दुनट खाएर म फेरि उकालो लागें ।
बाटो बाटोमा हिउँ थियो तर हिँड्नै गाह्रो हुने गरी भने थिएन । सूर्योदय हुने बेलामा म लौरिबिनाको उकालो चढ्दै थिएँ । सूर्योदयसँगै हिमालका मनोरम दृश्यहरू केमरामा कैद गरें । भूकम्पले गर्दा लौरिबिनाका केही होटलहरू भत्केका रहेछन् ।
भूकम्पकै प्रभावले त्यसतर्फ जाने पदयात्रुमा निकै कमी आएको छ । होटल, लजहरूको व्यापार पनि घटेको होटलका दाइले भने । लौरिबिनाको बाटोमा दुईजना इटालियन भेट भएका थे, झगडा परेजस्ता सौताजस्ता जति बेला नि परपर ।
चार घन्टाको यात्रापछि गोसाइँकुण्ड पुगें, मन एकपलमा चङ्गासरी उड्न थाल्यो । र अर्को रमाइलो गोसाइँकुण्ड दूधजस्तो सेताम्मे थियो । गोसाइँकुण्ड त अहिले जमेर बरफ भएको रहेछ, बरफको कुण्ड । मलाई जमेको तालमाथि हिँड्ने रहर एक्कासि जागेर आयो । जमेको तालको एक चक्कर लगाएँ अनि बीचमा बसेर तातो पानी र दुनट खाएँ ।
मेरो यात्राको अर्को रमाइलो के भयो भने, त्रिशूल धारामा जल थाप्न गएँ, जल त सबै जमेर बरफ भएछ । ढुङ्गाले फोरेर बरफका डल्ला बोतलमा राखें । अनि गोसाइँकुण्डलाई बाईबाई गरेर ओरालो बाटो छिट्टै झरें ।
काठमाडौं जाने बस नपाउने कारणले गर्दा त्यो दिन धुन्चेमै बास बसेर अर्को दिन बिहान काठमाडौं जाने पहिलो बस समातेर ३ दिनको दिनपछि, अर्थात् ५७ घन्टामा म घर फर्किएँ ।
‘एक्लै यात्रा गर्नु आफ्नो अन्तरआत्मा प्रतिविम्बत गराउने अवसर हो,’ थोमस जेफरसनको यो भनाइ साँच्चै नै अर्थपूर्ण छ । जीवनको भोगाइहरूसँग भागेर पन्छिन खोज्दा तिनै भोगाइको महत्त्व थाहा हुँदो रहेछ । अलिकति एक्लोपन अनि अलिकति सुन्दरतासँगको निकटताबिना खुसीको परिभाषा दिन पनि त गाह्रो ।
एक्लै यात्रा गर्नु आफैंलाई बुझ्ने मौका हो । यदि गर्नुभएको छैन भने जिन्दगीमा एकचोटि एक्लै कतै टाढाको यात्रा गर्नुस् । विश्वास गर्नुस् रमाइलो हुन्छ । आफैंले आफैंलाई बुझ्ने मौका पाउनुहुन्छ ।

No comments:

Post a Comment