Thursday, January 28, 2016

भूकम्प प्रतिरोधी मौलिक घर बनाउने जापानी प्रविधि भित्रँदै

vukampa-pratirodhi-ghar

१४ माघ, काठमाडाैं । भूकम्पको नौ महिनापछि सरकारले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठन गरेर पुनःनिर्माण तथा नवनिर्माणको काम अगाडि बढाएको छ ।
सरकारले विभिन्न प्रकारका घरका नमुनासमेत सार्वजनिक गरिरहेको छ । तर, पुनःनिर्माणको काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको बेला नागरिक तहबाट पनि सरकारलाई सहयोग गर्ने ढङ्गले नै काम भइरहेको छ ।
जापानको इहमि विश्वविद्यालयबाट ‘विपद् व्यवस्थापन’ मा विद्यावारिधि गरेका र अष्ट्रेलियाको मेलर्वन विश्वविद्यालयमा भूकम्प प्रतिरोधी घरसम्बन्धी अनुसन्धान गरिरहनुभएका काभ्रेपलान्चोक देउपुरका शङ्कर ढकाल भूकम्पबाट क्षति भएका संरचनालाई कसरी भूकम्पप्रतिरोधी बनाउन सकिन्छ भन्ने ज्ञान बाँड्दै हिँडेका छन्  ।
काभ्रेपलान्चोकको देउपुरलाई नमुना गाउँका रुपमा विकास गर्न उनको सहकर्मी डा. हिङ हो तेस्याङ लिले हङकङमा सन् २००७ मा पत्ता लगाएका रबर तथा माटोको मिश्रण र नेपालमा प्रारम्भिक अवस्थामा विकास भइरहेको इन्टरलकिङ प्रविधिलाई नेपाली मौलिकतामा अगाडि बढाउने सोच अगाडि सारेका छन् ।
विभिन्न सवारी साधनमा प्रयोग हुने टायर र रातो माटोलाई मिश्रणलाई घर तथा आवासको जगमा राख्दा त्यसले भूकम्प प्रतिरोधी क्षमताको विकास गर्न सकिन्छ भन्ने ज्ञान तथा सीपलाई डा. ढकालले देउपुरमा प्रयोग गर्न लागेका छन् ।
युएनडिपी, सहरी विकास मन्त्रालय र इन्जिनियरिङ एसोसिएसन अफ नेपालले आयोजना गरेको भूकम्प प्रतिरोधी ग्रामीण संरचना विषयको प्रदर्शनीमा ढकालको समूहले घरको नमुना तथा प्रविधिलाई धेरैले मन पराएका थिए भने बेस्ट पब्लिक च्वाइस अवार्ड पनि पाएको थियो ।
नेपाली मौलिक घरलाई सामान्य रुपमा मात्रै सुधार गर्दा पनि भूकम्प प्रतिरोधी बनाउन सकिने डा ढकालले बताए । ‘रबर र माटोलाई जगमा राख्ने र सोही मिश्रणमाथि घर तथा आवासको जग राख्नुपर्छ, परीक्षणबाट के देखिएको छ भने रबर र रातो माटोको मिश्रणले भूकम्पको धक्कालाई ६० प्रतिशतभन्दा कम गर्न सकिन्छ’- डा ढकालले भने ।
उनले भित्र्याउन लागगेकाे  प्रविधिमा माटो र बालुवा सिमेन्टको इँट्टाको गारो लगाउँदा इन्टरलकिङ गरिनेछ । अथवा हाल बजारमा पाइनेभन्दा अलि ठूलो आकारको इँट्टा बनाउने प्रविधि पनि डा ढकालले प्रयोग गर्न लागएकाे छ ।
रातो माटो, बालुवा र थोरै सिमेन्टको मिश्रणबाट इँट्टा बनाउने र त्यसमा पनि काठ वा सुधारिएको बाँस प्रयोग गरेर स्थानीय प्रविधिलाई थप परिस्कृत गर्न सकिने उनको भनाइ छ ।
नेपाली मौलिकता र नेपाली प्रविधिलाई संरक्षण गर्ने, कम लागतमा नै आगामी ६० वर्षसम्म टिक्ने घर तथा आवास निर्माण गर्न सकिने उनले उल्लेख गरे ।
भूकम्पपीडितलाई सरकारले अनुदानबापत उपलब्ध गराउन लागेको दुई लाख रूपैयाँमै घर बनाउन सकिने दाबी उनले गरेका छन् ।
काभ्रेको देउपुर, रञ्जनाकोट, दोलखाको सुन्द्रावती, गोरखाको बारपाक, धादिङको लापामा आफ्नो प्रविधि र योजनालाई प्रारम्भिक रुपमा लागू गर्न लागेको ढकालले बताए ।
‘एक तले, दुई तले दुबै किसिमले निर्माण गर्न सकिन्छ । मात्रै परम्परागत तवरमा निर्माण गरिएको भन्दा सामान्य फरक मात्रै गर्दा हुन्छ’ उनले भने ।   रासस

No comments:

Post a Comment