Friday, March 29, 2013

कथा- दोस्रो अध्याय

 
मेरो सिरानीसँगै राखेको सामसुङ्गको एस ३ मोवाइलमा छोटो भाइब्रेशन आयो । छोटो भाइब्रेशनको मतलब म्यासेज थियो । मलाई अड्कल गर्न गाह्रो भएन । लोडसेडिङ्गले आक्रान्त पारेको काठमाण्डौँमा बत्ति आउने र नआउने सेडयुल नै हेर्न छाडिसकेको थिएँ । काठमाण्डौँका ४० ‌औं लाख मानिसलाई अँध्यारो अनि सानो बत्तिको बानी परेझै मलाई पनि सानो इन्भर्टरले बानी परिसकेको थियो । त्यो मसिनो उज्यालोमा मैले मोवाइलको स्कि्रनमा आँखा दौडाएँ । म्यासेज हैन रहेछ, फेसबुकमा नोटीफिकेशन आएको रहेछ । नोटीफिकेशन हेरेँ । ‘खुशी वान्टस् टु बि योर फ्रेन्ड’ भन्ने नोटीफिकेशन देखेँ ।

प्रायः यसरी फ्रेन्डशिप रिक्वेस्ट आउँदा म कमैमात्र एसेप्ट गर्दथेँ तर “खुशी” भन्ने नाम मन पर्‍यो या म साह्रै खुशी मुडमा थिएँ, मैले तुरुन्तै खुशीको रिक्वेस्ट एसेप्ट गरेँ । म कौतुहलमा भएँ । खुशीको बारेमा जान्न मन लाग्यो मलाई । उनको वालमा गएर हेरेँ । उनले आफू जन्मेको साल अपडेट गरेकी रहिछिन् । जन्मेको साल देखि औला भाँचेर उनको उमेर गनेँ । दुइचोटी औंला भाँच्दा पनि उनी १९ वर्षकी मात्र निक्लिन् । मैले आफनो उमेर सम्झेँ । उनी म भन्दा २५ वर्ष कान्छी थिइन् । उनको फोटो हेर्ने इच्छा भयो मलाई । मनमनै आफैलाई प्रश्न गरेँ । यदी १९ वर्षको तन्नेरी केटाले फ्रेन्डशिप रिक्वेस्ट गरेको भए मैले यति चाख दिन्थेँ होला ? यहाँ छेउ मलाई आफु ४४ वर्षको अधवैँसे भइसके पनि २४ वर्षको तन्नेरी झै लाग्यो अनि ति १९ वर्षे खुशीका फोटोहरु एक पछि अर्को गर्दै हेरेँ । उनका हरेक फोटाहरु सुन्दर थिए ।मैले यतिन्जेल मोवाइल थन्काएर ल्यापटप चलाउन थालिसकेको थिएँ । म उनले अपडेट गरेका स्टाटसका कमेन्टहरु हेर्दै थिएँ , स्कि्रनको दाहिने साइडबाट म्यासेज आयो ।आश्चर्य म्यासेज उनीलेनै गरेकी थिइन् । म्यासेज रोमनमा लेखिएको थियो ।

मेरो मित्रता स्विकार गर्नु भएकोमा धन्यवाद !

मैले हत्तपत्त रोमनमानै लेखेँ । ‘ठिकै छ, तर के म तपाईलाइ चिन्दछु ? ”

मैले उनको म्यासेजको लागि केहि बेर कुर्नु पर्‍यो । प्रतिक्षा सकियो, म्यासेज आयो, लेखिएको थियो ‘तपाइँ मलाई चिन्नु हुन्न तर म भने तपाइँलाई चिन्दछु’ ।

मेरो भाई उमेरमा ३२-३३ वर्षको विवाहित भए पनि उसका धेरै केटी साथीहरु छन् । एकमन लाग्यो उसैको साथी होली । मैले लेखिहालेँ ‘तपाई मेरो भाइको साथी हो ?’

उनको तुरुन्तै जवाफ आयो ” हैन त , म तपाईलाई मात्र चिन्दछु , तपाईको परिवारलाई चिन्दिन । ” उनको म्यासेजले मलाई झन कौतुहल बनायो । कोहि उट्फटयाङ्ग साथीले नक्कली आइडी बनाएर मलाई झुक्याउन खोजेको पो हो कि भन्ने शंकाले शशंकित हुँदै फेरी म्यासेज बक्समा लेखेँ “मलाई कसरी चिन्नु भयो तपाईले?”

उनले लेखिन् ‘कसैको जीवनका कथाहरुबाट ।’

मैले केहि लेख्नु अगाडी उता बाट अर्को म्यासेज आयो ‘अबेर भइसक्यो’ अब म सुत्छु तपाईसँग भोली कुरा गर्छु ।’मैले “हस्” भनेर लेखेँ । उनले ‘बाइ’ लेखिन् र कम्प्युटरको स्कि्रनबाट फुत्तै हराइन् ।

म पनि मनभरी कुरा खेलाउँदै निदाउने प्रयास गरेँ । उनी को हुन् ? अनि किन म संग नजिकिन खोजीन् भन्ने प्रश्न बारम्बार मनमा आइरह्यो । उनले मलाई कसैको जीवनका कथाहरु बाट चिनिन् रे , कसको जीवनको कथाबाट चिनिन् ? के उनले मलाई ढाँटेकी हुन् ?आफ्नो उमेर ढाँटेकी हुन् ? तर फोटोहरु त उनकै हुन् । मनमा थुप्रै प्रश्नहरु आइरहे पनि हरेक प्रश्नको उत्तर आफनो बुद्धिमता र तर्कशिलतामा खोज्दै गएँ ।

उनी संग अघिल्लो दिन कुरा भएकै समय भइसकेको थियो । उनलाई पर्खेर बसिरहेको थिएँ । म त्यति धेरै फेसबुक चलाउँदिनथेँ । मेरो फेसबुक एकाउण्ट पनि भाईले खोलिदिएको थियो । बारम्बार मेरो आँखा स्कि्रनको दाहिने कुनामा पुगिरहेको थियो । म ब्यग्रताका साथ उनको प्रतिक्षा गरिहेको थिएँ । ल्यापटपको दाहिने कुना बाट फ्याट्ट एउटा सानो म्यासेज बक्स बाहिर आयो । त्यसमा लेखिएको थियो । ‘नमस्कार खाना खानु भयो ?’

मैले छिट्टै गरेर लेखेँ ‘ अँ खाएँ, अनि तपाईले खानु भयो ?’

हामीले औपचारिक कुराकानी त्यसरी शुरु गर्‍यौं । अघिल्लो दिन सुल्झन नसकेको प्रश्न मेरो दिमागमा फ्याट्ट आयो त्यसैले मैले लेखेँ ‘तपाई को हो र म संग किन साथी बन्न खोज्नु भयो ?’

उनले जवाफ दिइन्, “हिजै चिनाइसकेँ त, म खुशी हुँ, तँपाइको पहिलो प्रश्नको उत्तर दिईहालेँ । दोस्रो प्रश्नको उत्तरको लागी तपाईले केहि समय प्रतिक्षा गर्नुपर्छ ।”

म अलि बढी फरासिलो हुन खोजेँ र लेखेँ ‘तपाईलाइ थाहा छ मेरो उमेर तपाईको भन्दा दोब्बर छ , फेरी म तपाईको साथी कसरी हुन सक्छु र ?” उनले छोटो उत्तर दिईन् ‘उमेर मिल्ने लाई मात्र साथी भन्दैनन् त । अनि मलाई तपाईको उमेर मात्र होईन तपाईको बारेमा पनि राम्रै थाहा छ ।’

मैले उनको उत्तरले उत्साहित हुँदै लेखेँ ‘तपाईको परिभाषामा साथी भनेको के हो ?’

उनले लेखिन्, ‘जो संग खुशी र दुःख बाड्न सकियोस्, कुनै पनि कुरा खुलेर गर्न सकियोस् , कुराहरु शेयर गर्दा सेकेण्ड थट नआओस् । कसैको साथले आफु एक्लो नभएको अनि कोहि अरु आफुसंगै भैरहेको महशुस होस् ।’



उनको परिभाषा भित्रै रहेर मैले लेखेँ ‘हामीमा यि सबै कुरा लागु हुन्छन् त ? ‘उनले लेखिन् ‘ हामी शुरुवात मै छौँ, सबै कुराको लागि समय लाग्छ ।’उनका हरेक उत्तर सटिक र सान्दर्भिक थिए । यसो भनौं उनका उत्तरका अगाडी आफ्ना प्रश्नहरु हल्का र फिक्का लाग्न थाल्यो । उनलाई सुहाउँदो केहि प्रश्ननै भएन , एकछिन टोलाएर बसिरहेँ । उताबाट म्यासेज आयो ‘अब तँपाईको पालो’ ।

मैले लेखेँ ‘के मेरो पालो ?

उनले लेखिन्, ‘तपाईले विवाह किन नगर्नु भएको ?’

उनको प्रश्नले मलाई रिस उठ्यो । यति ब्यक्तिगत प्रश्न सोध्ने आँट कसरी गरी यसले भन्ने लाग्यो । रिसको झोकमा ‘तिमी जस्ती सुन्दरी नभेट्टाएर नगरेको’ भनेर लेख्न मन लाग्यो । तर आफनो उमेर याद गरेँ । म त कहाँ उमेर ढल्किसकेको पुरुष, मेरो त जवानी पनि ओइलायो, कति खेर कोपिला भयो, कतिखेर फुल्यो अनि कतिखेर पत्र पत्र भएर झरयो ति सबै यादै छैन मलाई तर उनी भर्खर जवान हुँदै छिन्, आधा फूलेको कोपिला जस्तै सुन्दर उनको जवानी, के फूल्दै नफूली ओइलाउँदैन र मेरो लखाईले? सम्हालिएर आवेगहरु नियन्त्रण गर्दै सुस्तरी लेखेँ । ‘खै विवाह गर्न मन नै लागेन, अझ भनौं विवाह गर्ने उमेरमा मेरो लायक कोही पाउन सकिन या कसैको लायक हुनै सकिन ।’उनले धेरै बेर लेखिनन् । म उनको शब्दहरुको प्रतिक्षामा थिएँ । धेरैबेर कुरेपछि अब उनी हराइन भन्ने लाग्यो र मैले आफैले लेखेँ “तपाइ कहाँ?”

उनले लेखिन्,’एकछिन ल फोन.. ‘

मैले बुझेँ उनी फोनमा रहिछिन् । मलाई पनि उनको फोन नम्बर माग्न मन लाग्यो उनका शब्दहरुमात्रै ले पनि रमाईरहेको मन उनको आवाजको मिठासमा खुशीले पुलकित हुन्थ्यो होला तर झट्टै नम्बर मागिनँ । एकछिन पछि उनले लेखिन् ,’सरी, मेरो ममीको फोन थियो । तपाईलाई धेरै बेर कुराएँ ।’मैले केहि लेख्नु अगाडी नै उनले थपिन् ‘मलाई तपाईको बारेमा धेरै कुरा थाहा छ ।” लगातार आश्चर्य भैरहेको म उनको यो कुराले झनै आश्चर्य चकित भएँ र प्रश्न गरेँ ‘कसरी?’

उनले लेखिन्, ‘तपाईसंग म टाढा भएपनि नजिक छु, तपाईको जीवनका लगभग सबै कुराहरु मलाई थाहा छ । मलाई तँपाइको माया लाग्छ, तँपाईको एक्लो जीवन र निरस जीवनको माया लाग्छ । त्यो मायामा श्रद्धा मिसिएको छ । अझ भनौँ तपाई आदर्श ब्यक्तित्व हुनुहुन्छ । यसकारण म त भाग्यमानी भएँ तँपाइले म संग कुरा गर्नु भयो । यो बिद्युतिय उपकरणहरु बाटै भए पनि मैले तँपाईलाई नजिक भएको महशुस गर्न पाएँ ।’ उनले यति लामो बाक्यको अन्त्यमा थ्याङ्कयु लेखिन् ।

उनका लेखाईहरुले म झस्किएँ । मुटुको धड्कन बढेर बाहिर सम्म सुनिए झै लाग्यो । हातहरु कमजोर भएर काँपे झै लाग्यो । म आफुत माया गर्नै नजान्ने मान्छे , मैले केटीहरुलाई जवानीमा त प्रभाव पार्न सकिनँ, नजिककालाई चिन्न सकिनँ, नचिनेकालाई नजिक्याउन सकिनँ । तर यो आधा उमेर भोगिसकेको मान्छेलाई कोही आफु भन्दा आधा उमेर कान्छी केटीले “मलाई तपाईको माया लाग्छ” भन्नु अस्वभाविक र बनावटी लाग्ने नै भयो ।



म ४४ बर्षको पाको मान्छे , उनी १९ बर्षकी सानी केटी, तर उनका लेखाईहरु कति परिपक्व छन् । उनका शब्दहरु बनावटी जस्तो लाग्दैनन् । उनले मनका कुराहरुलाई प्रष्ट रुपमा लिपिबद्ध गरे जस्तो लाग्छ । उनका शब्दहरुका अर्थ के हुन् ? के उनी मेरो एक्लो र निरस जीवनलाई माया गर्छिन् भन्नुले उनी म संग मेरो बाँकि आधा जीवन सँगै बिताउन चाहन्छिन् भन्नु हो र ? कदापी हैन । म त यस्तो सोच्न पनि सक्दिनँ । एउटा कुरा भने सत्य हो उनी २ दिनको साथी भएपनि मलाई साह्रै नजिकको लाग्न थालेको थियो ।

‘कता हराउनु भयो सर?’ उनले लेखिन् ।

मलाई उनको सरको सम्बोधन मन परेन, म उनको नजिकको मान्छे पो हो त । सर को सम्बोधन ले किन टाढा बनाएको भन्ने लाग्यो । मैले लेखेँ ‘प्लिज मलाई सर नभन्नु’ ।

उनले लेखिन् । ‘के भनौँ त?’

मैले लेखें ‘जे भने पनि हुन्छ ।”

उनले लेखिन् ‘हा ! हा ! हा ! अब देखि ‘जे’ भन्छु , मिष्टर ‘जे’अब सुतौं । भोलि कुरा गरौँला ।”

मलाई उनी संग कुरा गरिरहन मन लाग्यो । अनगिन्ती प्रश्नहरु छन् उनलाई सोध्नु पर्ने, कसरी उनलाई सुत्ने स्विकृती दिउँ ? मैले सुत्ने कुरालाई पन्छाउँदै लेखेँ । “ममीले किन फोन गर्नुभएको र ममी कहाँ हुनुहुन्छ ?” प्रश्न लेखि सक्दा लाग्यो म संग केहि प्रश्न नै छैन खाली उनी संग कुरा गर्नुछ । उनले धेरै समय लेखिनन् । मैले अर्को प्रश्न लेखिहालेँ । ‘निदाउनु भयो की क्या हो ?’

उनले लेखिन् ‘जे पायो त्यहि (जे.पि.टि.) ,बाइ नभनी त कोही निदाउँदैन । म त नयाँ फोटोहरु अपलोड गदैथिएँ ।’

मैले लेखेँ ‘सुन्दर छन् तँपाइका फोटोहरु, तपाई राम्री हुनुहुन्छू लेखिसक्दा आफैलाई लाज लाग्यो । मुख थोरै बङ्गयाएर माथिल्लो दाँतले तल्लो ओठ दुख्ने गरी टोकेँ ।

उनले फेरी लेखिन् ‘जे पायो त्यहि, सुन्दरता त आँखामा हुन्छ , हेर्नेको आँखामा । म भन्दा मेरी ममी धेरै राम्री हुनुहुन्छ ।”

मैले जिस्कने अभिप्रायले लेखेँ ‘डयाडी पनि पक्कै राम्रो हुनुहुन्छ होला । नत्र तपाई कसरी यती राम्री हुनुहुन्थ्यो ।’

उनले लेखिन् ‘मेरो बुवा हुनुहुन्न सर, म र ममी मात्रै छौँ । हाम्रो परिवार दुई जनाको मात्र हो ।” उनको लेखाईले मेरो एकैछिन अगाडीको जिस्कने मुडमा ठुलै परिबर्तन आयो । मैले उनलाई ठेस नपुगोस् भन्ने सोच्दै बिस्तारै हातका औँला ल्यापटपको किबोर्डमा दौडाएँ र लेखेँ । “सरी ! तर उमेर त धेरै भएको थिएन होला त ?”

उनले लेखिन ‘वहाँ जीवितै हुनुहुन्छ । हामी संग हुनुहुन्न । मैले त वहाँलाई देख्ननै पाइन ।’उनले थपिन् ‘आज सुतौँ है, भोली कुरा गरौंला । ओहो भोली त बत्तीनै आउदैन, राती १० बजे मात्रै आउँछ । बत्ती नआए मेरो इन्टरनेटनै चल्दैन ।”

मैले तुरन्तै लेखेँ । ‘१० बजे नै कुरा गरौंला नि त’

उनले लेखिन् ‘म त चाँडै सुत्छु । निदाईन भने कुरा गरौंला, हैन भने अर्को दिन हुन्न ?’

उनले मेरो उत्तरको प्रतिक्षा गरिनन् बरु आफै ‘बाइ’ लेखिन् र फुत्तै हराईन् । मैले पनि ‘बाइ’ लेखेँ । र मेरो बाई उनी संग पुग्नु अगाडी नै उनी अफलाइन भइसकेकी थिइन् ।

उनी संगको दुई दिन मेरो जीवनका दुई रमाइला दिनहरु थिए । उनी संग अनलाइन कुरा गर्दा आफु ४४ बर्षको पाको मान्छे, बुढयौली लागिसकेको मान्छे भन्ने नै भुल्न थालीसकेको थिएँ । उनी म भन्दा आधा उमेर कान्छी केटी तर उनका शब्दहरुले मलाई काउकुती लगाउँथ्यो । मलाई २० साल अगाडी फर्काउँथ्यो अनि म २४ बर्षको अल्लारे ठिटो भइदिन्थेँ । आफनो उमेर भुसुक्कै बिर्सेर म उनलाई लगातार ल्यापटपको स्कि्रनमा खोज्दथेँ । फेसबुकका पन्नाहरुमा खोज्दथेँ । अझ प्रष्ट नै भनौँ ।आफनो आँखा अगाडी खोज्दथेँ । कोठाका भित्ताहरुमा खोज्दथेँ । मनको सिंहाशनमा बसाएछु क्या हो । त्यहि सिंहाशनमा खोज्दथेँ । उनीसंग कुरा गर्दा मुटुको धड्कन बढ्न थाल्थ्यो । देब्रे छाती गह्रुँगो भएर दुखे जस्तो, आँखाका नानीहरु छिटो छिटो दाँया बाँया, दाँया बाँया गर्दै उनलाई खोजेजस्तै, अधैर्य, अझ भनौँ बेचैन, मैले यस्तो अनुभव त २० बर्ष अगाडी मात्र गरेको थिएँ । म खुशी संग यसरी दिन दिनै नजिक हुनु योजनाबद्घ तरिका थिएनन्, संयोग मात्र थियो । अनि त्यो संयोग एउटा रमाइलो, रहरलाग्दो संयोग भैरहेको थियो ।

भोली पल्ट साबिककै समयमा नै खुशी अनलाइन देखिईनन् । म भने फेसबुक खोलेर खुशीको प्रतिक्षामा छट्पटाइरहेको थिएँ । उनी अनलाइन देखिन्छिन् र कुरा गर्नुपर्छ भन्ने सोच्दै अनि म चलमलाउनुले उनी अनलाइन आउँदिनन् कि भनेझै म सास पुरै रोकेर जोडले धड्किरहेको मुटुलाई सान्त्वना दिँदै प्रतिक्षा गरिरहेको थिएँ ।

“यु देयेररु”भन्ने म्यासेजले मेरो मुहार उज्यालो भयो । मैले “एस वेटिङ्ग यु वन्ली” भनेर लेखिदिएँ । अनि संगै अर्को प्रश्न जोडीहालेँ । “आज त धेरै समय कुराउनु भयो नीरु” ।

उनले लेखिन् ‘ममीले खाना बनाउन नहुने , खाना आफै बनाउन थाल्दा ढिला भयो” ।

मैले लेखेँ, “ठिकै छ म तपाईसंग कुरा नगरी नसुत्ने मनस्थीतिमानै थिएँ ।” वास्तवमा मेरो परिस्थीति पनि त्यस्तै भएको थियो तर परिस्थीति को कुरा भने खुलाइनँ । लगातार ३ दिन देखि मनभरी पालेर हुर्काईराखेको कौतुहलता चिर्ने अठोट गरिसकेको थिएँ । खुशीका शब्दहरुमा रमाएर किस्ताबन्दिमा कौतु हलता मेट्दै गएको म आज भने सम्पूर्ण कुरा जान्न चाहन्थेँ तसर्थ अति प्रष्ट बनेँ र लेखेँ ।

“तपाईले मलाई कसरी चिन्नु भयो रु कसको जीवनका कथाबाट चिन्नुभयो रु तँपाइले यी सब कुरा खुलस्त पारिदिई मलाइ सजिलो बनाइदिनु पर्छ खुशी आज ।”

धेरै बेर सम्म कुनै प्रतिकि्रया आएन, मलाइ अरु केहि लेख्ने जाँगर पनि चलेन, एकछिनपछि उनले लेखिन् ‘त्यसको लागी मैले तपाईलाइ भेट्नुपर्छ ।”

पानी परेर रोकीए पछिको उज्यालो प्रकृति झै भएँ म उनको लेखाईले । मैले झट्ट लेखेँ ँहुन्छ त बरु कहिले भेट्नेरु” तर लेख्दा लेख्दै धैर्यता गुमाएझै लाग्यो, आफ्नो उमेरलाई ख्याल गरेँ र संयमित भएर अघिका शब्दलाई डिलेट गर्दै वाक्य परिवर्तन गरेँ र लेखेँ ‘के च्याटबाटै बताए हुन्न?’

उताबाट रिप्लाइ आयो ‘तपाई भोली मलाइ भेट्न सक्नु हुन्छ?’

रमाएको मेरो मनले मस्तिष्कलाई औँला चलाउन लगायो ‘हुन्छ, तर कहाँ भेट्ने ?”

हामी मेरो अफिससंगैको क्याफेमा भेट्ने भयौँ । भोलीपल्ट दिनको १ बजे, मैले फेरी औँला भाँचे , ठयाक्कै १५ घण्टा बाँकी थियो उनलाइ भेट्न । त्यो दिन हामीले अरु लामो कुरा नै गरेनौँ । उनले आफु खुशी भएको जनाउने सिम्बोल टाइप गरिन् र बाइ भनेर बिदा भइन् ।

त्यसपछिका १५ घण्टा मेरो लागि १५ वर्ष जस्ता भए । राती निन्द्रा राम्रोसंग नपरेरै होला धेरै चोटी ब्युझिएँ । हरेक चोटी ब्यूँझिदा बिहानी भइसकेको भए पनि हुन्थ्यो भन्ने कामना गर्थेँ तर मेरो लागि समयले आˆनो रˆतार किन बढाउँथ्यो र ? तर कछुवा गतिमै भएपनि समय अगाडि बढ्यो । १ कहिले बज्छ भन्दै छट्पटिएको मन, आँखा र हातमा बाँधेको हाते घडी सबै १ बजेको जानकारीले खुशी भए । मेरो खुशी पनि आइपुगिन् । खुशीलाइ चिन्न मलाई गाह्रो भएन किनकी उनका फेसबुकका तस्विरहरु मैले सबै हेरिसकेको थिएँ र ति सब मेरा आँखाका नानीमा नाचिरहेका थिए । मैले मुख वङ्गाएर लजालु हाँसो हाँस्दै उनलाइ बस्नको लागि अनुरोध गरेँ अनि हाम्रो अगाडी उभिरहेको वेटरसंग ब्लाक कफी मगाएँ र उनको लागि उनकै इच्छा अनुसार मिल्क कफि मगाइदिएँ ।

मेरो मनभरिका कैतुहलतालाई पानी पोखे जस्तै गरी छताछुल्ल पारिदिएँ मैले मेरा पुरानै प्रश्नहरुले । कफिको स्वाद नमिठो भएझै मुख नमिठो बनाउँदै उनले बताउँदै गइन् । “हजुरलाई थाहा छ मान्छेले जस्तो कर्म गर्छ त्यस्तै फल पाउँछ । यो जन्ममा गरेको कर्मको फल यही जन्ममा नै पाइन्छ अर्को जन्म पर्खनु पर्दैन भन्ने भनाइ साह्रै नै सार्थक रहयो् म र मेरो ममीको लागि” उनले बडो अप्ठयारोसंग कुरा खोतलिन् । म उनलाई आँखा नझिम्काई हेरिरहेको थिएँ । मेरो एकाग्रताले उनलाई प्रेरित गराए झैँ उनी भन्दै गइन् – ‘सर मेरो ममी एण्टी डिप्रेसेन्ट औषधी खानु हुन्छ । उहाँलाइ डिप्रेसेनबाट बचाउन मलाइ हजुरको सहयोग चाहिएको छ । मेरो यो संसारमा ममी बाहेक कोहि पनि छैन । अनि ममीको पनि म बाहेक कोहि पनि छैन । यदि ममीलाइ केहि भइहाल्यो भने म टुहुरी हुन्छु, एक्ली हुन्छु र बाँकी जीवन निरर्थक भएको महशुस गर्नेछु । मेरा आँखाहरुमा सपना छ सर । उद्देश्य छ । तर त्यसको प्राप्तीको लागि मलाइ मेरो ममीको साथ चाहिन्छ । ममीको अनुपस्थितिमा प्राप्त हुने कुनै पनि सफलताले पुर्णता पाउन सक्दैन सर ।” उनले एकै सासमा बोलिसकिन् । उनी बोल्दा उनका आँखा रसाएका थिए । उनको कुराले म झनै अन्योलमा परेँ । उनी किन यि सबै कुरा मलाई बताउँदैछिन् । म आफै करिब करिब डिप्रेशनमा गइसकेको मान्छे । बाँच्ने चाहानाहरु नभएर भौतिक शरीरलाई समाप्त गर्न प्रयास गरिसकेको मान्छे ।म आफै जीवनदेखि थाकेर लुलो भइसकेको मान्छे । मैले कसरी उसको सहयोग गर्न सक्छु र ? मेरो मुखाकृतिमा अन्योल झल्क्यो कि क्या हो उसले हामी बिचको संवादलाइ सजिलो बनाउँदै भनी “सर हजुरले मेरो ममीलाइ चिन्नुहुन्छ, साह्रै नजिकबाट, याद गर्नुहोस् त सर २० वर्ष अगाडीको सदिक्षा लाई?” उसले बोली सकि । मैले बोल्नै सकिन । ठुलै सन्नाटा छायो हामी बिच । उ मौन, म मौन । हामी दुवै मौन ।

सदिक्षा…, तिमी सदिक्षाको छोरी…. म भक्भकाएँ । मेरो आँखा अगाडी अँध्यारो छायो । “हो सर म त्यहि सदिक्षाको छोरी जसले हजुरलाई बुझ्न सक्नुभएन, हजुरको प्रेमलाई चिन्न सक्नुभएन ,अनि भौतिक सुख र आˆनो उच्चमहत्वाकांक्षाको लागि तपाईको आत्मिक प्रेमलाई लत्याइदिनुभयो ।”

उसका आवाजहरु टाढा कतैबाट आएजस्तै मधुरो हुँदै गइरहेका थिए अनि म २० वर्ष अगाडी पुगिसकेको थिएँ । सदिक्षा र मेरो विवाह तय भएको थियो ।४ वर्षको प्रेमलाइ विवाहको रुप दिन पाउँदा हामी दुवै अत्यन्त खुशी थियौँ । उनी अलि चञ्चले स्वभाव कि थिईन् अनि म थोरै गम्भीर । हामीलाई एक अर्काको घरमा आवत जावत गर्न कसैको रोकतोक थिएन । उनी मेरो अनुपस्थितिमा पनि मेरो घरमा जान्थिन् । ममीलाई भान्छाको काममा सहयोग गर्थिन् । बुवाको साह्रै प्यारी भएकी थिइन् । विवाहनै नभइ मेरो घरकी बुहारी जस्ती भइसकेकी थिइन् । घरका हरेक सदस्यको मन उनले जितिसकेकी थिइन् । हाम्रो विवाहको कार्ड छपाउन हामी दुवै संगै गएका थियौँ । उनले मेरो घरको तर्फबाट बाड्ने कार्ड छानेकी थिइन् अनि मैले उनको घरको तर्फबाट बाड्ने कार्ड छानेको थिएँ । विवाहमा मेरो घरबाट उनलाई दिइने सम्पुर्ण गहना र कपडाहरुको फर्माइस उनकै थियो त्यति मात्र होइन मेरो ममी र दिदी बहिनीको लागि पनि उनले नै कपडा छानेकी थिइन् । मेरो बुवाले उनलाई माया गरेर दिक्षा मात्र भन्नुहुन्थ्यो । म पनि बुवाले जस्तै दिक्षा मात्र भन्ने गर्थेँ ।

विवाहको अघिल्लो दिन म पूजाको लागि तयारी गर्दै थिएँ । सदिक्षाको बुवा, काका र दाईलाई हाम्रो घरतिर आइरहेको देखेँ । विवाहको तयारी नगरेर किन आउनु भएको रहेछ भन्ने सोच्दै परैवाट नमस्कार गरेँ । बुवाले अप्ठयारो संग नमस्कार फर्काउनु भयो अनि मेरो बुवाको अगाडी आएर रुन थाल्नु भयो । काका र दाई पनि बुवाको पंक्तिमा उभिनुभएको थियो । बुवाले रुँदै सदिक्षा अघिल्लो रात नै अर्कै कोही केटा संग भागिसकेकोले माफ गरिदिन र विवाहको तयारी रोक्नलाई भन्दै हुनुहुन्थ्यो । संगसंगै सदिक्षाले उहाँहरुको र हाम्रो इज्जत फयालेकोले कहिले माफ गर्न नसक्ने भन्दै हुनुहुन्थ्यो । मैले घर घुमेको देखँ ,म नजिकको धर्ती घुमेको देखेँ अनि पृथ्वी घुमेको देखेँ । ४ वर्ष देखिको प्रेम प्राप्तीमा बदल्न नसकेर विक्षिप्त हुनुभन्दा पनि आफ्नै प्रेमिकाले छाडेर अरु संग भागेको सुन्दा मेरो आत्मस्वाभिमानमा ठूलै ठेस पुगेको थियो । जव प्रेम टुट्छ ,सपना टुट्छन् । जव सपना टुट्छन, वाँच्नुको अर्थहरु खोज्न थालिन्छ ।

मैले त्यस क्षणमा आफुलाइ सम्हाल्न गरेको प्रयास सम्झँदा मेरा आँखाहरु रसाए । म संगै क्याफेमा बसेकी खुशीले पनि म रोएको देखी , २० वर्ष पछी फेरि म एक चोटी सदिक्षाको कारणले रोएँ । आँशुको पातलो जालोले ढाकिएको आखाँले मैले खुशीलाई हेरेँ अनि सदिक्षाले भनेको सम्झेँ “हाम्रो छोरी भयो भने उसको नाम खुशी राख्ने हैरु” मैले जिस्किँदै भनेको पनि सम्झिएँ “अनि छोरो भयो भने, उसको नाम खुश राख्ने हो ?” फेरि क्याफेमा सन्नाटा छायो । खुशीले मौनतालाई चिरी र भन्दै गई “सर ,ममीले हजुरलाई छाडेर मेरो बुवा संग विवाह गरेपछि उहाँहरु वेलायत जानुभएछ । बुवा व्रिटिस आर्मीको माथिल्लै दर्जामा हुनुहुन्थ्यो रे, वेलायतमा राम्रो संग सेटल भइसक्नु भएको थियो रे । विवाह पछिको २ वर्ष जिनतिन वहाँहरु मिलेरै बस्नु भएछ अनि जब म ममीको गर्भमा आएँ त्यस पछि वहाँहरु बिच झगडा शुरु भएछ र अन्तमा मेरो ममी मलाई गर्भमानै बोकेर बुवासंग डिभोर्स गरि नेपाल र्फकनु भएछ । मेरो ममी नेपाल फर्केपछि संघर्षका दिनहरु शुरु भएछन् । गर्भमा रहेको वालकलाई श्रीमान्को अनुपस्थितिमा जन्म दिनु , एक्लै हुर्काउनु, पढाउनु र यो अवस्थामा ल्याईपुरयाउन मेरो ममीले गरेको संघर्षका कथाहरुले जो कोहिको पनि मन छुन्छ सर ।

अब त म पनि हुर्किएँ ममीका दुःख र संघर्षका दिनहरु पनि करिब सकिए । तर ममीलाई मैले पछिल्ला दिनहरुमा कहिल्यै खुशी देखिन सर । मेरा स्कुल र कलेजका साथीहरुले मेरो बुवाको बारेमा सोध्दा पनि मैले कहिले ममीलाइ बुवाको बारेमा सोधिनँ । यसरी सोध्दा ममीलाई आघात पुग्न सक्छ भन्ने कुराले म जहिले पनि संयमित भईरहेँ । तर ममीको एण्टी डिप्रेसेन्ट मेडिसिन को डोज बढ्दै गएकोले मैले एकदिन ममीलाई उहाँको जीवन कथाको बारेमा सोधेँ । उहाँकै शब्दहरुमा मैले उहाँको जीवन कथा सुनेँ जहाँ तपाई मुख्य पात्र हुनुहुन्थ्यो । तपाई जस्तो आदर्श प्रेमीलाई लत्याएर भौतिक सुख र आफ्नो स्वार्थको लागि मात्र गरिएको कोही अरु केटासंगको विवाहको निर्णयले मेरो ममी जलिरहनु भएको छ सर । उहाँलाइ ठुलो पाप गरेको महशुस भईरहेको छ । वहाँको सोचाइमा वहाँले पाउनुभएको दुख र कष्टहरु हजुर माथीको अन्यायको कारण हुन् । वहाँ हजुरसंग माफी माग्न चाहनुहुन्छ सर तर माफी माग्ने हिम्मत गर्न सक्नुहुन्न शायद वहाँ हजुरको माफीको लायक पनि हुनुहुन्न । मैले वहाँको छोरी हुनुको कर्तब्य निभाउन खोजेकी हुँ सर । मेरो ममीलाई माफ गरिदिनुस । हजुरले माफ गरिदिनु भए मेरो ममीको बोझ हलुका हुनेछ । वहाँ त्यो पापको बोझ बोकेर जीवन जीउन सक्नु हुन्न सर ।

उ रुँदै थिई ।उसको आँशुले पोल्यो मलाई अनि त्यो पोलाई तेजावको जस्तै असहृय पिडा दिने खालको थियो । उ आफ्नो आमाको तर्फबाट माफी मागिरहेकी थिई । सदिक्षा को दुःखका कथाहरुले मलाई जति दुःखी बनायो त्यो भन्दा दुःखी म खुशीको रुवाईले भएँ । आमाको तर्फबाट क्षमाको याचना गरिरहेकी खुशीका निश्चल आँखाहरुमा मैले आफ्नोपन मात्रै देखेँ । म त मायानै गर्न नजान्ने मान्छे, निरस अनि निस्सार तर खुशीसंगको परिचयमा मैले जीवनको सार अथ्र्याउन खोजेँकी सायद मलाई खुशीको अत्यन्त माया लागेर आयो । मैले सदिक्षालाई माफ गर्न सके या सकिनँ तर खुशीलाई चाँहि भनेँ, “खुशी म तिमिलाई भरे बेलुका अनलाइनमा भेटछु ल ! सदिक्षालाई पनि तिमी संगै राखेर म संग कुरा गर्नु है” भन्दै मैले कफीको अन्तिम चुस्की लिएँ । खुशीले मेरो यो भनाईप्रति आभार व्यक्त गर्न खोजेको उसको मुहारबाट प्रष्ट हुन्थ्यो ।
 by (सन्तोष खतिवडा)

No comments:

Post a Comment