Saturday, March 16, 2013

ट्रली बस


लामो समय राजधानीवासीलाई सेवा दिएको ट्रली बसलाई २०६६ सालको अन्त्यदेखि इतिहास बनाइएको छ। काठमाडौँबाट मध्यपुरठिमी र भक्तपुरको सूर्य विनायकसम्मको १३ किलोमिटर सडकमा गुडेका ३२ वटा ट्रली बसलाई कवाडीका रूपमा थन्क्याइएको छ। ३६ वर्षअघि २२ ट्रली बससहित चीन सरकारले स्थापना गरिदिएको ट्रली बस सेवामा २०५२ सालमा दाताले १० बस थपिदिएको थियो। बन्द हुने बेलासम्म ९ वटा मात्र चालु अवस्थामा थिए।
१५ पैसाबाट शुरु भएको भाडादर २०६६ मङ्सिरबाट बन्द हुनुभन्दा अघि रु.५ कायम भएको थियो। भक्तपुर र ठिमी नगरपालिकाले सञ्चालनबाट हात झिकेपछि त्रिपुरेश्वर-कोटेश्वरसम्म सीमित भएका तीन वटा ट्रली बस गुड्न छाडेपछि सडकबाट पोलहरू समेत उखेल्न थालियो। धुवाँरहित भएकाले पर्यावरणका लागि समेत उत्तम ट्रली बसलाई समयअनुसार व्यवस्थित नगरेर अन्ततः नामेट पारियो।
रु.२ करोड लगानीमा शुरु भएको ट्रली बसको त्रिपुरेश्वर, सूर्य विनायक र मीनभवनको ३२ रोपनी जग्गाको दुरुपयोग गरिएको छ। मीनभवनस्थित ट्रली बसको मुख्य कार्यालय लामो समयसम्म माओवादीको वाईसिएल कार्यकर्ताको गुँड बनेको थियो। शुरुमा यातायात मन्त्रालय अन्तर्गत स्वायत्त संस्थाको रूपमा सञ्चालन भए पनि राजनीतिक कार्यकर्ता भर्ती र भ्रष्टाचारले बर्बाद पारेको ट्रली बस बन्द हुने बेलामा काठमाडौँ महानगरपालिकाको मातहतमा आएको थियो। महानगरपालिकाले पाँच वर्षपछि सम्झौता पुनरावलोकन गर्ने गरी जिम्मा लिए पनि चलाउन नसकेर एक वर्षमै फिर्ता गर्न ताकेता थालेको थियो।

No comments:

Post a Comment