Wednesday, July 30, 2014

मनसुन सौराहा(फोटोफिचर सहित)

मनसुन सौराहा (फोटोफिचर सहित)

हरियो घाँसे मैदानमा गैंडा। हात्तीमा बसेर गैंडा खिचिरहेका पर्यटक! बर्खामा नदी किनारमा सजिलै देखिन्छन् जनावर। यति बेला गर्मीलाई जितेर सौराहा घुम्दै छन्, चिनियाँ। त्यो हुलमा अरू विदेशी र केही नेपाली पनि छन्।
मनसुनमा हात्ती सफारी, जंगल वाक, बोटिङ र सांस्कृतिक कार्यक्रम हुन्छ। संग्रहालय खुलै हुन्छन्। हात्ती प्रजनन् केन्द्रमा छावासहितका हात्ती हेर्दा समय कटेको पत्तै हुन्न। त्यसैले सौराहामा वर्षैभरि पर्यटक डुल्छन्।
sauraha
चितवन राष्ट्रिय निकुञ्जबाहिर राप्ती किनारको बस्ती सौराहा। उत्तर–दक्षिण फैलेको सौराहा बजारमा होटल, रिसोर्ट र रेस्टुराँ छन्। सयभन्दा बढी होटल। ‘मनसुनमा होटल अकुपेन्सी ४० प्रतिशत छ,' होटल संघ चितवनका अध्यक्ष नारायण भट्टराई भन्छन्, ‘राम्रै चहलपहल छ।' 
sauraha3
निकुञ्जमा ५ सय गैंडा छन्। जंगलमा जीवजन्तु, मृग, रतुवा, जरायो, नीलगाई, बाघ, गैंडा, चरा आदि। मनसुनमा केही चरा बच्चा कोरल्छन्। नदीमा गोही तैरिन्छन्। भट्टराईका अनुसार बाढी ठूलो आइनसकेकाले राप्तीमा डुंगा सञ्चालन भइरहेकै छ। काठे डुंगामा तलतल बग्दै जाँदा किनारतिर थरीथरीका चरा हेर्न पाइन्छ। सौराहाबाट साइक्लिङ गर्दै बीस हजारी ताल पो घुम्ने कि!
हात्तीमा चढेर नुहाउने सुविधा पनि छ। पर्यटनकर्मी सुमन घिमिरेका अनुसार गत वैशाखदेखि युनाइटेड हात्ती सञ्चालन सहकारी लिमिटेडले टिकट काटेर नुहाउने व्यवस्था मिलाएको हो। राप्तीमा हात्तीसँगै १५ मिनेट नुहाएको सय रुपैयाँ। ‘पुस–माघबाहेक वर्षैभरि हात्ती स्नान गर्न सकिन्छ', घिमिरे भन्छन्, ‘हात्तीमा स्नान गर्दा लाइफ ज्याकेट अनिवार्य लाउनुपर्छ।' बिहान जंगल सफारी सिद्धिएपछि हात्तीलाई राप्तीमा नुहाइन्छ। त्यही बेला पर्यटकलाई हात्तीसँगै स्नान गराइन्छ।
सौराहामा ऊँट चढ्ने सुविधा पनि छ। पर्यटनकर्मी केशव खनालले ६ वर्षअघि भारतको बिहारबाट ऊँट ल्याएर सफारी सुरु गरेका थिए। ऊँटको जुरोमा हौदा राखिन्छ। त्यसमाथि यात्रु बसाइन्छ। माहुतेले ऊँट डोर्यारउँछन्। ऊँट चढेर जंगल पस्ने होइन, बजार घुम्ने हो।
४० वर्ष नाघ्यो सौराहामा पर्यटन सुरु भएको। सरकारले ०३० सालमा चितवन राष्ट्रिय निकुञ्ज बनाएपछि पर्यटक आउन थाले। पर्यटक बढ्दै जाँदा होटल थपिँदै गए। आज होटलमा एसीयुक्त कोठा छन्। वाइफाई सुविधा छ। थारू चिँचरदेखि विदेशी परिकारसम्म पाक्ने रेस्टुराँ छन्।
sauraha6
होटलले प्याकेजमा घुमाउँछन्। एक र दुई राते प्याकेज हुन्छ। दुई रात सौराहा घुम्न ७ हजार रुपैयाँ। त्यति रकमले काठमाडौं–सौराहा बसभाडा, हात्ती सफारी, बोटिङ, सांस्कृतिक कार्यक्रम र खानालाई तिर्न पुग्छ। 
sauraha8
मनसुनमा जंगल पस्दा हरियो कपडा लगाउनु बेस। टिसर्ट, हाफ पाइन्ट, चप्पल, छाता, क्यामेरा, दुरबीन, टर्च, क्याप, रुमाल, टुथपेस्टसहित सामान बोक्नुपर्छ। फर्कंदा टिसर्ट, काठका गैंडा–हात्तीलगायत हस्तकला कोसेली ल्याउन बिर्सनुहुँदैन।
कसरी पुग्ने : काठमाडौं–सौराहा १६५ किमि। काठमाडौंको कान्तिपथबाट बिहान ७ बजे पर्यटक बस छुट्छन्। पर्यटक बसयात्रा आरामदायी हुन्छ। बसले ५ घन्टामा सौराहा पुर्या उँछन्।

No comments:

Post a Comment